श्रीमद्भगवद्गीतामा स्पष्ट उल्लेख छ कि मानिसको हातमा कर्म अथवा प्रयास मात्र छ, परिणाम छैन। चिकित्सकले पनि प्रयास मात्र गर्न सक्छ; परिणाम उसको हातमा हुँदैन। चिकित्सा सेवामा एउटा प्रसिद्ध कथ्य छ—“I treat, he cures”। अर्थात्, “म उपचार गर्छु, परमात्माले निको पार्छ।” चिकित्सकको चाहना रहन्छ कि बिरामीलाई कुनै किसिमको जटिलता नहोस्। तर पनि जसलाई हुनुपर्ने हुन्छ, हुन्छ। बिरामीमा देखिने जटिलता र मृत्युका अनेकौँ कारण हुन्छन्, जुन चिकित्सकको नियन्त्रणमा हुँदैनन्। यस्ता जटिलता, जसको कारण चिकित्सक हुँदैन, त्यसलाई उसको लापरवाही भन्न मिल्दैन।
उपचारमा लापरवाही नहुने होइन। प्रचलित मापदण्डअनुसार जाँच र उपचारमा हेलचेक्र्याइँ भयो भने त्यसलाई लापरवाही मानिन्छ। लापरवाही भएको आशंका छ भने त्यसका लागि छानबिन र कारबाहीको कानुनी प्रक्रिया छ। लापरवाहीको कारण के हो र को जिम्मेवार हो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। विश्व स्वास्थ्य संगठनका अध्ययनहरूले उपचारका क्रममा हुने हेलचेक्र्याइँका पछाडि कमजोर र अव्यवस्थित उपचार व्यवस्था तथा प्रणाली पनि एउटा प्रमुख कारण हुन सक्ने देखाएका छन्। कामको वातावरणमा सुधार नगरी कुनै खास स्वास्थ्यकर्मी अथवा चिकित्सकमाथि मात्र दोष थुपारेर र कारबाहीको डर–त्रास देखाएर अपेक्षित तथा वास्तविक सुधार हुँदैन।
नेपालमा अहिले पनि धेरै अस्पताल यस्ता छन्, जहाँ उपलब्ध स्रोतसाधन र प्रणाली अपर्याप्त तथा अव्यवस्थित छन्, तर उपचार गर्नैपर्ने बाध्यता छ। यस्तो अवस्थामा यथासम्भव प्रयास गर्दागर्दै पनि बिरामीको मृत्यु भयो भने त्यसलाई चिकित्सकको लापरवाही भन्नु उपयुक्त होइन। चिकित्सकको वास्तविक लापरवाही नहुँदा पनि चिकित्सककै लापरवाही भनेर पर्याप्त तथ्य र जानकारीविनै मिडियाबाजी हुने, बिचौलियाको घुसपैठले व्यापारीकरण र राजनीतिकरण हुने तथा जनतामा भ्रम फैलाउने र उक्साउनेजस्ता बढ्दो गलत प्रवृत्तिले समग्र चिकित्सा क्षेत्रलाई गम्भीर जटिलता र दुर्घटनातर्फ धकेल्दै गएको छ। त्यसैले तथाकथित लापरवाहीको गहिराइमा गएर विश्लेषण हुनुपर्ने आवश्यकता छ र आजको लेख यसै सन्दर्भमा केन्द्रित छ। पाठकवर्गलाई के अनुरोध छ भने भाषाको शुद्धतामा समस्या रहेकाले सन्दर्भमा केन्द्रित हुनुहोला।
उपचार र परिणाम के कुरामा निर्भर गर्छ?
आम मानिसलाई लाग्छ कि चिकित्सकले चाहेको भए अथवा अझै राम्ररी उपचार गरेको भए जस्तोसुकै बिरामी पनि बचाउन सकिन्थ्यो। तर उनीहरूको बुझाइ र वास्तविकतामा धेरै फरक छ। चिकित्सकले गर्न सक्ने उपचार र प्रयासको पनि एउटा सीमा हुन्छ। यस सन्दर्भमा चिकित्सा विज्ञान र प्रणालीको सम्बन्धमा केही महत्त्वपूर्ण तथ्य प्रस्तुत गर्न चाहन्छु।
उपचार र परिणाम धेरै कुरामा निर्भर गर्छन्। जस्तै—चिकित्सकको ज्ञान र अनुभव, बिरामीको शारीरिक क्षमता र रोगको प्रकृति, डायग्नोसिस, उपचारमा प्रयोग हुने औषधि तथा प्रविधिको उपलब्धता र गुणस्तर एवं प्रकृतिको नियति।
चिकित्सकको ज्ञान र अनुभव
सामान्य मानिसलाई लाग्ला कि स्वास्थ्यकर्मी अथवा चिकित्सकले औषधि लेख्दा रोग थाहा पाएरै लेखेको होला। तर यथार्थ फरक छ। वरिष्ठ चिकित्सकले पनि सामान्यजस्तो लाग्ने धेरैजसो रोगको प्रारम्भिक उपचार आशंका र सामान्य जाँचका आधारमा गर्छन्। सुधार भएन भने वैकल्पिक रोगका सम्भावना र उपचारका बारेमा विचार गर्छन्। यसका कारणहरू छन्।
मानिसका दुःख र रोगहरू अथाह छन्, तर चिकित्सा विज्ञानसँगको ज्ञान सीमित छ। यो ज्ञान एउटा मानिसको मस्तिष्कमा अटाउन सम्भव छैन, किनभने चिकित्सक पनि एउटा सामान्य मानिस हो र मानव मस्तिष्कको सीमा हुन्छ। त्यसैले गहिरो ज्ञानका लागि यसलाई विशेषज्ञहरूमा थोरै–थोरै गरेर बाँडिएको छ। एउटा विशेषज्ञलाई अरू रोगका बारेमा ज्ञान नहोला। सामान्य चिकित्सकलाई सतही ज्ञान मात्र हुन्छ। विशेषज्ञलाई पनि आफ्नो क्षेत्रको पूरा ज्ञान हुँदैन, किनभने चिकित्सा विज्ञानसँग अपुरो ज्ञान मात्र छ। यो सीमित ज्ञान पनि चिकित्साशिक्षाको गुणस्तर र चिकित्सकको क्षमतामा निर्भर गर्छ। यसबाट हामी अनुमान लगाउन सक्छौँ कि चिकित्सकको ज्ञान कति हुन्छ होला। यो त भयो शिक्षामा आधारित ज्ञानको स्तरको कुरा।
अझ बढी महत्त्वपूर्ण छ अनुभवजन्य ज्ञान, र यसको यात्रा लामो हुन्छ। जति धेरै अनुभवी चिकित्सकको कुरा गर्छौं, संख्या र उपलब्धता त्यति नै कम हुन्छ। अब विचार गरौँ, के सबै ठाउँमा जहिले पनि अनुभवी र सबै विशेषज्ञहरू उपलब्ध हुन सक्छन्? उपलब्ध रहेको सामान्य चिकित्सकमा सबै विशेषज्ञता नहुनु र सोअनुरूप निर्णय लिन नसक्नु के उसको गल्ती र लापरवाही हो?
एउटा मानिसको रोग उसको आफ्नै समस्या हो। चिकित्सकको प्रयास उपचारमा सहायक मात्र हुन्छ। ऊ भगवान् होइन। चिकित्सक भन्दैमा उसलाई बिरामीको सबै कुरा किन थाहा भएन र सबै कुरा ठीक किन गर्न सकेन भन्ने अपेक्षा गर्नु अति होइन र?
बिरामीको शारीरिक क्षमता र रोगको प्रकृति
कुनै पनि रोग र उपचारमा बिरामीको शारीरिक अवस्थाले धेरै फरक पार्छ। कहिलेकाहीँ सामान्य रोगले पनि गम्भीर रूप लिन सक्छ। यसलाई उदाहरणबाट बुझौँ।
एकजनामा संक्रमण (infection) भएको छ र सामान्य औषधिले अथवा आफैँ निको हुन्छ। अर्को मानिसमा यस्तै सामान्य संक्रमण गम्भीर रूप लिन्छ। यो फरक किन? किनभने पहिलो बिरामीको रोगप्रतिरोधक क्षमता (immunity) बलियो थियो, तर दोस्रो बिरामीको रोगप्रतिरोधक क्षमता कमजोर थियो। रोगप्रतिरोधक क्षमता कमजोर छ भने धेरै समस्याहरू हुन्छन्। एचआईभी संक्रमण (HIV infection) ले आफैँ ज्यान लिँदैन। यसले शरीरको रोगप्रतिरोधक क्षमतालाई नै कमजोर पारिदिन्छ, अनि थरीथरीका संक्रमण र अरू रोग लागेर बिरामीको ज्यान जान्छ। परिणामका लागि शारीरिक क्षमता बढी महत्त्वपूर्ण हुन्छ; चिकित्सकले चलाउने औषधि सहायक मात्र हुन्छ।
नयाँ कीटाणुहरू, कीटाणुका नयाँ स्ट्रेनहरू र नयाँ–नयाँ रोग पत्ता लाग्ने क्रम जारी छ। यसको उपचार तत्काल उपलब्ध नहुन सक्छ। उदाहरणका लागि कोरोना महामारीको सुरुवाती समयलाई लिन सकिन्छ। यस्तो अवस्थामा चिकित्सकले पनि धेरै गर्न नसक्ला।
त्यस्तै, अपरेसनमा पनि घाउ कति छिटो निको हुन्छ भन्ने कुरा मुख्यतः बिरामीको आन्तरिक हिलिङ क्षमतामा निर्भर गर्छ। घाउ निको हुने क्षमता कमजोर छ भने अपरेसन र औषधि जति राम्रो भए पनि घाउ निको पार्न कठिन हुन्छ। यस्तो अवस्थामा राम्रो अपरेसन पनि असफल हुन सक्छ। यति मात्र होइन, रोग र अपरेसन जटिल प्रकृतिको छ भने जटिलता र मृत्युको जोखिम उच्च हुन्छ। यो रोगले थपेको जटिलता हो।
तर मृत्युको मुखमा पुगेको बिरामीका अभिभावकले कुरा लाउँछन्, “अस्पताल ल्याउँदासम्म त बोल्थ्यो पनि, अस्पतालमा आइसकेपछि झन् बोल्न छोड्यो, निको हुनुको साटो झन् बिग्रियो। उपचारमा लापरवाही भयो।”
यसलाई लापरवाही अथवा कमजोरी नै भन्ने हो भने त्यो कसको हो—चिकित्सकको अथवा बिरामीको?
डायग्नोसिसको लिमिटेसन
बिरामीलाई के रोग लागेको हो भन्ने कुराको पहिचान डायग्नोसिस (निदान) हो। डायग्नोसिस सुनिश्चित छ भने उपचारसम्बन्धी निर्णय लिन सजिलो हुन्छ। तर व्यवहारमा यो कुरा सधैँ सम्भव हुँदैन। किनभने डायग्नोसिस धेरै कुरामा निर्भर गर्छ।
पहिलो कुरा हो, चिकित्सकलाई लागेको आशंका, जसलाई प्रारम्भिक डायग्नोसिस (provisional diagnosis) भनिन्छ। यो रोगको लक्षण र चिकित्सकको ज्ञान तथा अनुभवमा भर पर्छ। फरक–फरक रोगका मिल्दोजुल्दा लक्षण, एउटै रोगका फरक–फरक लक्षण, बिरामीको फरक–फरक भनाइ, ठाउँ र समयअनुसार चिकित्सकको फरक–फरक ज्ञान तथा अनुभव आदिका कारण चिकित्सा विज्ञानमा एउटै बिरामीमा चिकित्सक–चिकित्सकबीच प्रारम्भिक डायग्नोसिस फरक पर्न सक्छ।
भीडभाडमा बिरामीले आफ्नो कुरा स्पष्ट रूपमा राख्न पाएन अथवा तनावमा रहेका चिकित्सकको ध्यान डाइभर्ट भयो भने डायग्नोसिसमा त्रुटिको सम्भावना अझ बढ्छ। राम्रो डायग्नोसिस र उपचारको निर्णय मस्तिष्कको गहिरो कसरत हो। यसका लागि चिकित्सकलाई पर्याप्त समय र शान्त वातावरण आवश्यक हुन्छ। यसका लागि एउटा चिकित्सकले हेर्ने बिरामीको संख्या सीमित हुनुपर्छ र भीड नियन्त्रण हुनुपर्छ।
डायग्नोसिसको अर्को आधार हो—प्रयोगशाला र रेडियोलोजी जाँच। आम मानिसको विश्वास र निर्भरता चिकित्सकको भन्दा जाँचको रिपोर्टप्रति बढ्दो छ। कानुनी समस्या आएमा पनि जाँचकै रिपोर्टलाई बढी मान्यता दिइन्छ। तर त्रुटि यहाँ पनि हुन सक्छ।
प्रयोगशाला जाँच प्रविधियुक्त कुरा हो। यसको रिपोर्ट प्रविधि र केमिकलको गुणस्तर तथा टेक्निसियनको ज्ञान र अनुभवमा भर पर्छ। हाम्रो परिप्रेक्ष्यमा प्रयोगशाला जाँचको रिपोर्टमा त्रुटि हुने गरेको सबैलाई थाहा छ। त्यस्तै, रेडियोलोजी जाँचको रिपोर्ट पनि जाँचको गुणस्तर र रेडियोलोजिस्टको ज्ञान, सीप तथा अनुभवमा निर्भर गर्छ र यसमा पनि पूरै भर पर्ने अवस्था छैन।
कसलाई के–कति चेकजाँच गराउनुपर्ने हो, त्यो कुरा रोगको आशंका, उपचारमा सघाउने सम्भावना र बिरामीको आर्थिक अवस्था हेरेर गर्नुपर्ने हुन्छ। मानिसको शरीरमा लक्षण नदेखिएका र थाहा नभएका अरू कमजोरीहरू पनि होलान्, जसले उपचारलाई प्रभावित पार्न सक्छन्। तर सबैमा सबै जाँच गर्न व्यावहारिक हुँदैन। रोग ठ्याक्कै थाहा हुनैपर्ने र जाँचबाट भइहाल्छ भन्ने भ्रमका कारण आवश्यकता भन्दा बढी जाँच हुने गरेको र आर्थिक भार थपिने गरेको छ। बिनाकारण गरिने बढी जाँचले उपचारमा सघाउँछ भन्ने कुरा भ्रम हो।
त्यसैले प्रयोगशाला र रेडियोलोजी जाँचको रिपोर्टले पनि शतप्रतिशत डायग्नोसिसको ग्यारेन्टी गर्दैन। यस्तो त्रुटि मानव मस्तिष्क, चिकित्सा विज्ञान र प्रविधिको सीमितता (limitation) का कारण हुन्छ र यसलाई स्वाभाविक रूपमा लिइन्छ। रोग थाहा नभए पनि बिरामीलाई समस्या भइराखेको छ भने कुनै न कुनै किसिमको उपचार सुरु गर्नैपर्ने हुन्छ। यसरी उपचार गर्दा उपचार फरक पर्न सक्छ, तर यस्तो नियतवश नभएर परिस्थितिवश हुने भएकाले यसलाई चिकित्सकको गल्ती भन्नु उपयुक्त होइन।
उपचारमा प्रयोग हुने औषधि र प्रविधिको उपलब्धता र गुणस्तर
औषधि र प्रविधिको गुणस्तर कस्तो छ, त्यसले उपचारको परिणाममा ठूलो प्रभाव पार्छ। कहिलेकाहीँ यस्तो हुन्छ कि डायग्नोसिस ठीक छ र सल्लाह दिइएको औषधि पनि ठीक छ, तर रोग निको हुँदैन। हाम्रो बजारमा पाइने औषधिहरूको गुणस्तर फरक–फरक छ। चिकित्सकलाई औषधिको गुणस्तरका बारेमा थाहा हुँदैन। औषधिको गुणस्तर नियन्त्रण गर्ने निकाय अर्कै हुन्छ।
बिरामी संक्रमणसँग लडिरहेको हुन्छ। चिकित्सकले लेखेको औषधि ठीक भए पनि कम गुणस्तरका कारणले काम नगर्न सक्छ। बिरामीमा सुधार भइरहेको हुँदैन, चिकित्सक र बिरामी अन्योलमा पर्छन्, महँगा इन्जेक्सनहरू लेखिन्छन्, बिरामीले पैसा बगाएको बगायै हुन्छ, तैपनि निको भइरहेको हुँदैन। अविश्वासको वातावरण बन्छ, बिरामी अन्तै जान्छ, रेफर हुन्छ अथवा मृत्यु हुन्छ र विवाद उत्पन्न हुन्छ। अनि बिरामी र अभिभावकले चिकित्सकमाथि थरीथरीका लाञ्छना लगाउँछन्। के यो चिकित्सककै कमजोरी हो त?
यति मात्र होइन, Antimicrobial agent को sub-standard dose ले निम्त्याउने अर्को भयावह समस्या हो—drug resistance, जुन अहिलेसम्मका सबै महामारीभन्दा कहालीलाग्दो समस्याको रूप लिन सक्छ। यस्तो अवस्थामा औषधिको गुणस्तर राम्रो भए पनि काम गर्दैन। यो कसको कमजोरी अथवा गल्ती हो?
हरेक औषधिको आफ्नै side effect हुन्छ। यो जसलाई पनि हुन सक्छ र कहिलेकाहीँ गम्भीर प्रकृतिको हुन सक्छ। बिरामीले भन्लान्, “औषधि चलाएपछि यो समस्या देखियो।” यसको लागि पनि चिकित्सकलाई नै जवाफदेही बनाइनु र क्षतिपूर्तिको अपेक्षा राखिनु जायज हो त?
अपरेसनमा पनि धेरै यस्ता कुराहरू हुन्छन्, जसले अपरेसनलाई प्रभावित पार्न सक्छन्। यसमा विभिन्न प्रकारका प्रविधिको प्रयोग भएको हुन्छ। प्राविधिक समस्या जहिले पनि आउन सक्छ। मानिसले जति सतर्कतापूर्वक काम गरे पनि त्रुटि हुन सक्ने सम्भावना रहन्छ। जसले काम गर्छ, उसबाट गल्ती हुन सक्छ। मानवीय त्रुटि कम गर्न सकिन्छ, तर पूर्णरूपमा निर्मूल गर्न सकिँदैन। यसलाई न्यूनीकरण गर्न आर्टिफिसियल इन्टेलिजेन्स (AI) र रोबोटिक सर्जरीजस्ता प्रविधिको विकास भएको छ, जसबाट हामी नेपाली अहिले धेरै टाढा छौँ।
प्रकृतिको नियति
हामीले शारीरिक अवस्थाको कुरा गर्यौँ। मानसिक स्थितिको पनि महत्त्वपूर्ण भूमिका हुन्छ। बिरामीको दृढ र सकारात्मक विश्वास तथा इच्छाशक्तिले गम्भीर प्रकृतिको रोग पनि धेरै हदसम्म टार्न सक्छ। तर नकारात्मक मानसिकताले नभएको रोग पनि बटुल्छ। भनिन्छ, उपचारमा विश्वास छैन भने उपचार ठीक भए पनि निको नहुन सक्छ।
सत्य यतिमा मात्र सीमित छैन। जीवनका घटनालाई गहिराइमा बुझ्न आध्यात्मिक पक्ष पनि धेरै महत्त्वपूर्ण हुन्छ। हाम्रा ऋषि र सन्तका अनुसार मानिसको आयु पहिल्यै तय हुन्छ र लगभग यसैअनुरूप हुन्छ पनि। यसलाई हामी नियति अथवा भाग्य भन्छौँ। मानिसको भाग्य उसको आफ्नै कर्मले निर्धारण गर्छ। यसरी दुःख र सुखको कारण मानिस आफैँ हो।
कहिलेकाहीँ बिना कारण कम उमेरमै ठूलो रोग लाग्छ। यसको दोषी को? रोगै नलागी अकारण अल्पायुमै मृत्यु हुन्छ? किन यस्तो भयो? अपरेसन राम्रो भए पनि अमेरिका जस्तो ठाउँमा पनि युवकको मृत्यु हुन्छ र यसको कारण थाहा हुँदैन। यसलाई के भन्ने?
जन्म, मृत्यु र जीवनको सत्यसँग सम्बन्धित यस्ता कैयौँ प्रश्न छन्, जसको उत्तर भौतिक र चिकित्सा विज्ञानसँग छैन।
उपचार र परिणामको जिम्मेवारी कसको?
पुरानो समयमा, जुन बेला आजजस्तो चेकजाँचको सुविधा थिएन, चिकित्सकले आफ्नै सुझबुझका आधारमा रोगको आशंका गर्थे र आफैँ औषधि तयार पारेर बिरामीलाई खुवाउँथे। त्यस बेला पनि चिकित्सकले भन्थे, “म उपचार मात्र गर्छु, निको पार्ने परमात्मा हो।” बिरामीले चिकित्सकलाई ईश्वरतुल्य विश्वास गर्थे र सम्मान दिन्थे; मृत्यु भए पनि चिकित्सकको सम्मानमा आँच आउँदैनथ्यो।
आजभोलि आएर चिकित्सा विज्ञान र प्रविधिको विकाससँगै उपचारको गुणस्तरको नियन्त्रण धेरै हदसम्म चिकित्सकको हातभन्दा सरकार, चिकित्सा प्रणाली र चिकित्सा व्यवस्थामा निहित छ। चिकित्सक यस प्रणालीको एउटा अंग मात्र हो।
चिकित्सकको सीमित ज्ञानका कारण डायग्नोसिसका लागि प्रयोगशाला र रेडियोलोजी जाँचमा भर पर्नुपर्छ। यसको रिपोर्टमा हुने गल्ती अथवा त्रुटिको कारण उपचार गर्ने चिकित्सक होइन। औषधिको गुणस्तर चिकित्सकको नियन्त्रणमा छैन। चिकित्सकको आफ्नो फार्मेसी पनि हुँदैन। चिकित्सकले आफूले विश्वास गरेको औषधिको ब्रान्ड लेखे पनि बिरामीले त्यही पाउँछ भन्ने अवस्था छैन।
यसको अर्थ के हो भने बिरामीले सेवन गर्ने औषधिको डोझ र गुणस्तर चिकित्सकले दिएको सल्लाहबमोजिम नै हो भन्ने कुराको सुनिश्चितता चिकित्सकको हातमा कमै छ। औषधिको साइड इफेक्ट कसलाई हुन्छ भन्ने कुरा चिकित्सकलाई थाहा हुँदैन र त्यसका लागि चिकित्सक कसरी जिम्मेवार हुन सक्छ? रोगको प्रकृति, बिरामीको शारीरिक र मानसिक अवस्था तथा प्रकृतिको नियति प्रतिकूल छ भने चिकित्सकको पनि केही लाग्दैन।
विश्व स्वास्थ्य संगठनको सर्वेक्षणले के देखाएको छ भने असुरक्षित उपचारका कारण उत्पन्न हुने जटिलतामध्ये अधिकांश निम्न र मध्यम आय भएका देशमा हुन्छन्। उपचारका कारण हुने जटिलतामध्ये हरेक छ जनामा एक जनामा रोक्न सकिने खालको हुन्छ।
सुरक्षित उपचारका लागि चिकित्सक, स्वास्थ्य संस्था, स्थानीय सरकार, समाज, जनता, राजनीतिकर्मी, मिडिया, नियामक निकाय, अनुगमनकर्ता, औषधि विभाग, स्वास्थ्य शिक्षा, सरकारी नीति तथा संयन्त्र र सरकार सबैको आ–आफ्नै महत्त्वपूर्ण भूमिका हुन्छ र सबै पक्ष उत्तिकै जिम्मेवार हुन्छन्। यसमा सुधार नगरी चिकित्सकलाई मात्र अङ्कुश लगाएर अपेक्षित उपलब्धि हासिल हुँदैन।
एउटा चिकित्सकको थाप्लोमा थेग्नै नसक्ने बिरामीको भीड लगाइदिने, दिएको समयमै र आजै सबै भीड सल्टाउनैपर्ने, फेरि सबैलाई पर्याप्त समय पनि दिनैपर्ने, बिरामीले चिकित्सकको टाउकोमै टेकेजस्तो गर्न खोज्ने, गल्ती पनि हुनुनपर्ने? अदालतका न्यायाधीशलाई मुद्दा सल्टाउन यस्तो प्रेसर दिन नमिल्ने, तर चिकित्सकलाई मात्र यस्तो विडम्बनापूर्ण सास्ती किन?
के चिकित्सकले सबै प्रमाण जुटाउनु पर्ने र विश्लेषण गर्नुपर्ने हुँदैन? सबै छलफल गर्न र लिखित रेकर्ड राख्न समय चाहिँदैन? यति हुँदा पनि अदालती न्यायमा जनता पर्दा अदालत र न्यायाधीशलाई केही गर्न नमिल्ने, तर चिकित्सकले गल्ती नगर्दा पनि उसलाई हत्यारा भनेर भनिन्छ? कानुनी न्याय र जीवनको न्यायमा यति विडम्बनापूर्ण भेदभाव किन?
बिरामीसँग सम्बन्धित दुर्घटनालाई व्यापारीकरण र राजनीतिकरण गर्ने, आफ्नो स्वार्थ र फाइदाका लागि यथार्थलाई आफूअनुकूल व्याख्या गर्ने र भ्रामक मोड दिने प्रवृत्ति बढ्दो छ। फाइदा लिन अर्को पक्षलाई कमजोर साबित गर्न संस्था भन्दा व्यक्तिलाई निशाना बनाउन सजिलो हुने भएकाले frontline मा रहेको चिकित्सकमाथि दोष थुपार्ने प्रवृत्ति बढ्दो छ।
सरकार र प्रशासन पनि सजिलो बाटोका रूपमा जनतालाई रिझाउन चिकित्सक र संस्थाको कमजोरी देखाएर आफ्नो जिम्मेवारीबाट पन्छिने गरेको देखिन्छ।
त्यसैले रोग र उपचार एउटा जटिल प्रक्रिया हो। जटिलताको सम्भावनालाई शून्य पार्न सम्भव छैन। बिरामीले जटिलताको सम्भावनालाई स्वीकार गरेरै उपचार अगाडि बढाइएको हुन्छ।
चिकित्सकको भूमिका अहिले आएर बिरामी र उपचार प्रणालीको बीचमा एउटा विज्ञ इन्टरफेसका रूपमा सीमित हुँदै गएको छ। यसको तात्पर्य चिकित्सकको जिम्मेवारी कम भएको छ भन्ने होइन; जिम्मेवारी गहन हुन्छ, तर गुणस्तरमाथिको नियन्त्रण सीमित छ।
उपचारमा लापरवाही अथवा कमी–कमजोरी हुने गरेको छ भने यसको जिम्मेवार माथि उल्लेख गरिएका सबै सरोकारवाला, समग्र स्वास्थ्य व्यवस्था, प्रणाली, प्रणालीगत निकाय र बिरामी स्वयं हुन्।
मानवीय संकट
मानवीय उपचारका लागि चिकित्सक र बिरामीबीच आपसी विश्वास र सम्मानको सम्बन्ध र वातावरण अत्यावश्यक हुन्छ। चिकित्सकलाई शपथ गराइएको हुन्छ कि जस्तोसुकै अवस्थामा, कुनै किसिमको डर, त्रास र लोभलालचमा नपरी बिरामीको स्वास्थ्यलाई सर्वोपरि महत्त्व दिई मानवीय सेवा–उपचार दिनु चिकित्सकको परम कर्तव्य हो।
एउटा चिकित्सक आफ्नो क्षमताभन्दा माथि उठेर निको पार्ने र बचाउने कोसिस गरेको हुन्छ। तर उसँग हुने गरेको अमानवीय र शत्रुतापूर्ण व्यवहारले गर्दा चिकित्सक र बिरामीबीचको पवित्र सम्बन्ध चिसिँदै गएको छ। जब अविश्वास, आशंका र दुर्व्यवहारले गर्दा यस पेशाको पवित्रता र गरिमामा आँच आउँछ, तब मेडिकल इथिक्समा ह्रास आउँछ र जाँचपड्ताल तथा उपचार नराम्ररी प्रभावित हुन्छ। यसरी मानवता धरापमा पर्दै गएको छ।
अविश्वास र असुरक्षाका कारण गम्भीर प्रकृतिका बिरामीको उपचारबाट पन्छिने र रेफर गर्ने प्रवृत्ति बढ्दो छ। बिरामीसँग हुने गरेको संवाद र परामर्शको निष्पक्षतामा ह्रास आउँदैछ। तुरुन्तै उपचार गर्नुपर्ने गम्भीर रोगको उपचारमा ढिलाइ हुने गरेको छ। उपचार प्रक्रिया सौदाबाजी, दलाली र ठगीमा परिणत हुँदै गएको छ। हजारौँ गरिब बिरामी झन्झटिलो उपचार, अनावश्यक खर्च र जटिलताको भुमरीमा पर्ने गरेका छन्। धेरै दक्ष चिकित्सकहरू विदेश पलायन हुन्छन्।
गुणस्तरीय र भरपर्दो स्वास्थ्य उपचारका लागि राज्यको तयारी र लगानी जुन स्तरको हुनुपर्ने हो, त्यसबाट हामी धेरै टाढा छौँ। मानवीय त्रुटि कम गर्न आधुनिक सुविधा र प्रणालीको विकासमा हामी धेरै पछाडि छौँ। वैज्ञानिक आधार कमजोर भएपछि व्यवहारिक वातावरण महत्त्वपूर्ण हुन्छ। हाम्रो जस्तो सीमित स्रोतसाधनमा भरपर्दो र सन्तोषजनक उपचारका लागि चिकित्सक र बिरामीबीच राम्रो सम्बन्धको ठूलो र गहिरो महत्त्व छ। तर हामी त्यसमा पनि चुकेका छौँ।
आम जनता, राजनीतिकर्मी र सरकारी सोच तथा व्यवहार हेर्दा थरीथरीका नियम–कानुनमा स्वास्थ्यकर्मीलाई बाँधेर पेलेरै लैजानेजस्तो देखिन्छ।
चिकित्सक पनि एउटा सामान्य मानिस हो। बिरामी र अभिभावक आफ्नो स्वास्थ्य र रोगप्रति समयमा गम्भीर नबन्ने, सरकार, स्वास्थ्य संस्था र सरोकारवालाहरू व्यवस्था र प्रणालीको सुधारप्रति उदासीन भइदिने, अनि सबै बेथितिको अपयश एउटा निरीह चिकित्सकमाथि खन्याउने—यो हदसम्मको विडम्बना होइन र?
चिकित्सकलाई यसरी परिबन्धमा पारिनु स्वास्थ्य सेवा र मानवतालाई परिबन्धमा पारिनु हो। यसको भयावह परिणामप्रति जनता, मिडिया र राज्य संयन्त्र गम्भीर बन्न नसक्नु देशकै लागि दुर्भाग्यपूर्ण कुरा हो।
अन्त्यमा, आरोप–प्रत्यारोपको खेल त्यागेर सबै सरोकारवालाहरूले निःस्वार्थ भावले नियत र नीतिमा गम्भीरतापूर्वक विचारविमर्श गर्नु जरुरी छ। दण्डको नीति मात्र समस्याको समाधान होइन। कार्यशैली विश्वसनीय र भरपर्दो हुनुपर्छ।
यसका लागि ठाउँ र समय सुहाउँदो, चिकित्सा शिक्षादेखि लिएर काम गर्ने वातावरणमा सुधारका लागि हाम्रो सोचकै धरातलमा परिवर्तनको खाँचो देखिन्छ। सुरक्षित उपचारका लागि स्रोतसाधन, सेवासुविधा र प्रणालीगत वातावरण व्यवस्थित र वैज्ञानिक हुन आवश्यक छ। चिकित्सकमा आफ्नो स्वाभिमानको रक्षा गर्न पाउने र भौतिक सुरक्षाको प्रत्याभूति हुने वातावरण आवश्यक छ।
(डा पण्डित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाममा सर्जरी विभागका विभागीय प्रमुख हुन्)