कहिलेकाहीँ जीवनले हामीलाई यस्तो मोडमा पुर्याउँछ, जसको हामीले कल्पनासमेत गरेका हुँदैनौँ। मेरो जीवनमा पनि एउटा सामान्यजस्तो देखिने घटनाले यस्तै नयाँ मोड ल्यायो।
रेडक्रसको रक्तदान कार्यक्रममा कुनै बिरामीका लागि रक्तदान गर्न पुगेको थिएँ। रक्तदान गर्ने क्रममा मलाई एक्कासि रिँगटा लाग्यो। त्यसपछि मेरो स्वास्थ्य परीक्षणका क्रममा सीबीसी (CBC) जाँच गर्दा हेमोग्लोबिन (Hb) कम देखियो। रक्तदानकै कारण यस्तो भएको होला भन्ने लागे पनि पछि पनि हेमोग्लोबिन अपेक्षाअनुसार सुधार नभएपछि यसको कारण खोज्न थालियो।
सामान्यजस्तो लाग्ने यही एउटा घटनाले मलाई मेरो जीवनको एउटा ठूलो सत्यसँग भेट गरायो। थप परीक्षण र चिकित्सकीय जाँच गर्दै जाँदा अन्ततः मलाई पेटको क्यान्सर भएको पुष्टि भयो। त्यो क्षण मेरा लागि सहज थिएन। अरू बिरामीहरूको परीक्षण गर्ने, रिपोर्ट तयार गर्ने र अस्पतालको वातावरणमा आफ्नो पेसागत जिम्मेवारी पूरा गर्ने म स्वयं एक दिन बिरामीको भूमिकामा उभिनुपर्यो।
‘क्यान्सर’ भन्ने शब्द सुन्नासाथ मनमा अनेकौँ प्रश्न आए- अब क्या हुन्छ? उपचार कस्तो होला? परिवारलाई कसरी भन्ने? काममा के असर पर्ला? के म फेरि सामान्य जीवनमा फर्कन सकुँला? यी प्रश्नहरूले केही समय मेरा लागि मन निकै कमजोर बनायो। तर, त्यसबेला मैले एउटा कुरा बुझें- क्यान्सरको निदान जीवनको अन्त्य होइन। यो जीवनलाई अझ गहिरोसँग बुझ्ने एउटा कठिन चरण पनि हुन सक्छ।
तीन वर्षअघि मेरो शल्यक्रिया भयो। उपचारको त्यो समय शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि चुनौतीपूर्ण थियो। शल्यक्रियापछिको स्वास्थ्यलाभ, नियमित स्वास्थ्य परीक्षण, औषधि सेवन र उपचारका विभिन्न चरणहरू पार गर्दै म अगाडि बढिरहेँ। आज पनि मेरो उपचार पूर्ण रूपमा समाप्त भएको छैन। चिकित्सकको सल्लाहअनुसार म अझै मुखबाट सेवन गर्ने किमोथेरापी औषधि प्रयोग गरिरहेको छु। उपचारको यो निरन्तर यात्राले मलाई धैर्य, अनुशासन र आफ्नो स्वास्थ्यप्रति जिम्मेवार हुन सिकाएको छ।
मेरो जीवनको अर्को विशेष पक्ष के हो भने म भक्तपुर क्यान्सर अस्पतालमा प्रयोगशालाकर्मीका रूपमा काम गर्छु। हिजोसम्म अरू बिरामीका परीक्षण गर्ने र उपचार प्रक्रियामा आफ्नो पेसागत जिम्मेवारी निर्वाह गर्ने म स्वयं उपचारको यात्रामा रहेको व्यक्ति बनेँ। अस्पतालको एउटै वातावरणमा कर्मचारी र बिरामी दुवैको भूमिका अनुभव गर्नु मेरो जीवनको अत्यन्त गहिरो अनुभूति हो।
अस्पतालमा बिरामीहरूलाई देख्दा कहिलेकाहीँ म आफ्नै विगत सम्झन्छु। उनीहरूको आँखामा देखिने डर, मनमा उठ्ने प्रश्न र भविष्यप्रतिको अनिश्चितता मैले पनि अनुभव गरेको छु। त्यसैले, आज म उनीहरूलाई केवल स्वास्थ्यकर्मीका रूपमा मात्र होइन, क्यान्सरको उपचारको यात्रा अघि बढाइरहेको एक व्यक्तिका रूपमा पनि बुझ्न सक्छु।
मेरो अनुभवले मलाई एउटा महत्वपूर्ण कुरा सिकाएको छ- बिरामी हुँदा शरीरसँगै मनको हेरचाह पनि उत्तिकै आवश्यक हुन्छ। उपचारका क्रममा डर लाग्नु स्वाभाविक हो, कहिलेकाहीँ निराशा आउनु पनि स्वाभाविक हो। यस्तो अवस्थामा आफ्नो मनमा लागेका कुरा परिवार, चिकित्सक र स्वास्थ्यकर्मीसँग साझा गर्नु महत्वपूर्ण हुन्छ।
म क्यान्सरलाई सजिलो रोग हो भनेर भन्न चाहन्नँ। यो एउटा कठिन यात्रा हो। यस यात्रामा पीडा, थकान, डर र मानसिक तनाव हुन सक्छ। तर कठिन हुनु र असम्भव हुनु एउटै कुरा होइन।
मेरो उपचारको यात्रामा परिवार, चिकित्सक, सहकर्मी र अस्पतालको वातावरणबाट प्राप्त साथ र सहयोग महत्वपूर्ण बनेको छ। उपचारसँगै आफ्नो काम र दैनिक जीवनमा फर्कन पाउनu मेरो आत्मविश्वासका लागि पनि ठूलो आधार बन्यो। काममा फर्किएपछि मैले महसुस गरेँ- हामी बिरामी भएर मात्र हाम्रो पहिचान सीमित हुँदैन। हामीसँग अझै क्षमता छ, जिम्मेवारी छ र परिवार तथा समाजका लागि योगदान गर्ने अवसर छ।
आज तीन वर्षपछि पछाडि फर्केर हेर्दा मैले पार गरेको बाटो सम्झन्छु। म अझै उपचारमै छु, तर जीवन पनि बाँचिरहेको छु। मेरो यात्रा अझै पूरा भएको छैन, तर अहिले म हरेक दिनलाई पहिलेभन्दा फरक रूपमा हेर्छु। स्वास्थ्यको मूल्य, परिवारको साथ, सहकर्मीको सहयोग र सामान्य देखिने दैनिक जीवनका साना खुसीहरू कति महत्वपूर्ण रहेछन् भन्ने मैले सिकेको छु।
मेरो यो अनुभव स्वास्थ्यखबर पत्रिकामार्फत अरू बिरामीसँग बाँड्न चाहन्छु। मेरा जस्तै अवस्थामा रहेका धेरै मानिसहरू अहिले डराइरहेका हुन सक्छन्। उनीहरूलाई म केवल यति भन्न चाहन्छु- निदान सुनेर आफ्नो आशा नछोड्नुहोस्।
उपचारको बाटो कठिन हुन सक्छ, तर तपाईं एक्लो हुनुहुन्न। आफ्ना चिकित्सक र स्वास्थ्यकर्मीमाथि विश्वास गर्नुहोस्। उपचारका बारेमा बुझ्नुहोस्, मनमा लागेको कुरा परिवार र स्वास्थ्यकर्मीसँग साझा गर्नुहोस्। आफूलाई समय दिनुहोस्, शरीर कमजोर भएको दिनमा आफूलाई दोष नदिनुहोस्। आराम गर्नु पनि उपचार यात्राको महत्वपूर्ण हिस्सा हो।
क्यान्सरले मेरो जीवनमा धेरै कुरा परिवर्तन गर्यो, तर यसले मलाई जीवनको अर्थ पनि नयाँ ढङ्गले बुझायो। आज म आफूलाई केवल ‘क्यान्सरको बिरामी’ भनेर हेर्दिनँ। म उपचारसँगै आफ्नो काम गरिरहेको, आफ्नो परिवारसँग समय बिताइरहेको र हरेक नयाँ दिनलाई स्वीकार गर्दै अघि बढिरहेको एउटा सामान्य मानिस हुँ।
मेरो कथा कुनै असाधारण विजयको कथा होइन। यो डर, उपचार, धैर्य, परिवारको साथ र निरन्तर अगाडि बढ्ने प्रयासको कथा हो।
र अन्त्यमा, क्यान्सरसँग उपचारको यात्रा गरिरहनु भएका सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई मेरो एउटा सानो सन्देश-
आज कठिन दिन हुन सक्छ, तर आजको कठिनाइले भोलिको सम्भावना समाप्त गर्दैन। उपचारमा विश्वास राख्नुहोस्, आफूलाई समय दिनुहोस् र आशालाई जीवित राख्नुहोस्। हरेक दिन एउटा नयाँ अवसर हो।
म पनि अझै यात्रामै छु- उपचार जारी छ, आशा जीवित छ र म अगाडि बढिरहेको छु।
लेखक: अविनाश कर्ण, ल्याब टेक्नोलोजिस्ट, भक्तपुर क्यान्सर अस्पताल