मन्त्री बन्ने प्रस्तावदेखि राजदूतको अवसरसम्म अस्वीकार गरेका डा. भट्टाचार्यले जीवनभर चिकित्सा सेवालाई प्राथमिकता दिए। भोजपुरमा अस्पताल नभएको ठाउँमा अस्पताल सुरु गरे, विराटनगरमा काठमाडौं बाहिर सर्जरी सेवा विस्तार गरे, वीर अस्पताल र ट्रमा सेन्टरको विकासमा योगदान दिए।
काठमाडौं- नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन भएको छ। संघका अनुसार उनको २०८३ साल असोज २ गते बिहान निधन भएको हो।
उनको जन्म धनुषाको एकराही गाउँमा १९९२ साल भदौमा भएको थियो। प्रारम्भिक शिक्षा घरमै लिएपछि उनी अध्ययनका लागि भारतको दरभंगा पुगे। नर्थब्रुक स्कुलबाट म्याट्रिकुलेसन र रामकृष्ण मिसन विद्यापीठबाट इन्टरमिडिएट अध्ययन गरे।
चिकित्सा पेशामा लामो समय सक्रिय रहेका डा. भट्टाचार्य नेपाली चिकित्सा क्षेत्रका अग्रज सर्जनका रूपमा चिनिन्थे। चिकित्सकका रूपमा उनले दुर्गमदेखि राजधानीसम्म सेवा दिए। वीर अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), नेपाल मेडिकल काउन्सिल तथा ट्रमा सेन्टरको विकासमा उनको महत्वपूर्ण भूमिका थियो।
चिकित्सा सेवामा सक्रिय रहँदा उनले राजनीतिक तथा अन्य सार्वजनिक पदका अवसरसमेत पाए। तर, उनले आफूलाई सधैं चिकित्सा पेशामै केन्द्रित राखे।
बहुदल आएको केही वर्षपछि तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई डा. भट्टाचार्यको कुपोन्डोलस्थित घरमा चिया पिउन पुगेका थिए। त्यही क्रममा भट्टराईले उनलाई मन्त्री बन्न प्रस्ताव गरे।
‘डाक्टर भट्टाचार्य, तिमी अब मन्त्री हुनुपर्यो,’ भट्टराईले भनेका थिए।
तर, डा. भट्टाचार्यले प्रस्ताव अस्वीकार गर्दै भनेका थिए, ‘त्यो मेरो लाइन होइन। म चिकित्सा पेशामै रमाइरहेको छु।’
उनी सार्वजनिक पद र राजनीतिक शक्तिभन्दा चिकित्सा पेशालाई प्राथमिकता दिने चिकित्सकका रूपमा चिनिन्थे। तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनकी पत्नी नुपूर भट्टाचार्यलाई बंगलादेशको राजदूत बनाउने प्रस्ताव गर्दा पनि भट्टाचार्य दम्पतीले अन्ततः त्यसलाई अस्वीकार गरेका थिए।
‘दिने पेशा’ रोजेका चिकित्सक
डा. भट्टाचार्य आफूलाई ‘दिने पेशा’ मा रहेको बताउँथे। सरकारी अस्पतालमा कार्यरत रहँदासम्म उनले निजी चिकित्सकीय अभ्यास गरेनन्।
सेवा निवृत्त भएपछि पनि उनको सक्रियता रोकिएन। वीर अस्पताल, न्याम्स र राष्ट्रिय ट्रमा सेन्टरको विकासमा उनले निरन्तर समय दिए। अस्पतालको अध्यक्ष, सल्लाहकार तथा न्याम्सका प्राध्यापकका रूपमा उनले लामो समय काम गरे।
उनको जीवनको एउटा महत्वपूर्ण पक्ष चिकित्सा सेवामा रहेको इमानदारी थियो। निजी अस्पतालमा मेडिकल डाइरेक्टरका रूपमा केही समय काम गरे पनि बिरामीबाट उपचारबापत शुल्क लिन मनले नमानेपछि त्यो जिम्मेवारी छाडेको उनले बताएका थिए।
‘नेपाल काका’का सन्तान
डा. भट्टाचार्यको पारिवारिक इतिहास करिब पाँच सय वर्षअघिको नेपालसँग जोडिन्छ। उनका पुर्खा बंगाली मूलका गणेश भट्टाचार्यलाई सेन वंशले कुनै मल्ल राजाको उपचारका लागि नेपाल ल्याएको पारिवारिक इतिहास उनले सुनाउने गरेका थिए।
सुरुमा उनको रुचि इन्जिनियरिङमा थियो। तर, बायोलोजीसमेत अध्ययन गरेका कारण पछि चिकित्सा शिक्षातर्फ लागे।
२००९ सालतिर एमबीबीएस छात्रवृत्तिका लागि जनकपुरबाट काठमाडौं आउँदा उनलाई दुई दिनभित्र काठमाडौं पुग्नुपर्ने थियो। त्यतिबेला काठमाडौं आउनसमेत राहदानी आवश्यक पर्थ्यो। रेल र पैदल यात्राबाट जनकपुर–जयनगर–दरभंगा–रक्सौल–वीरगन्ज–अमलेखगन्ज–हेटौंडा हुँदै उनी काठमाडौं आइपुगे।
सिंहदरबारमा एमबीबीएस छात्रवृत्तिका लागि अन्तर्वार्ता दिन जाँदा धोती लगाएका कारण विभेदसमेत भोग्नुपरेको उनले स्मरण गरेका थिए। तर, पढाइमा उत्कृष्ट भएकै कारण छात्रवृत्तिमा छनोट भए।
लखनउबाट सर्जरी, भोजपुरमा ‘कागजी अस्पताल’
भारतको लखनउस्थित किङ जर्ज मेडिकल कलेजबाट उनले २०१४ सालमा एमबीबीएस गरे। अध्ययनकै क्रममा सर्जरीमा उनको रुचि बढ्यो र सर्जरीमा उत्कृष्ट विद्यार्थी बने।
नेपाल फर्किएपछि उनले वीर अस्पतालबाट सेवा सुरु गरे। त्यसबेला नेपालमा विशेषज्ञ सर्जनको संख्या निकै कम थियो।
सर्जरीमा थप विशेषज्ञता हासिल गर्न चाहेका उनलाई तत्कालीन स्वास्थ्य मन्त्रालयको प्रक्रियाका कारण अवसर पाउन ढिलाइ भयो। बरु २०१६ सालमा उनको दरबन्दी भोजपुर अस्पतालमा सिर्जना गरियो।
जब उनी भोजपुर पुगे, अस्पताल नै थिएन।
राजा महेन्द्रको भ्रमणका क्रममा स्थानीयले अस्पताल मागेपछि कागजमा अस्पतालको दरबन्दी र संरचना बनेको रहेछ। तर, व्यवहारमा अस्पताल थिएन। डा. भट्टाचार्यले काठमाडौंमा आकाशवाणी गरेर रकम मगाए, घर खोजे र त्यहीँबाट स्वास्थ्य सेवा सुरु गरे।
छ महिनाका लागि भोजपुर पठाइएका उनी सेवा व्यवस्थित नगरी फर्किन चाहेनन्। अन्ततः दुई वर्षभन्दा बढी समय उनले त्यहाँ बिताए।
‘मेरा लागि सबै मानिस हुन्’
भोजपुरमा रहँदा उनले जातीय विभेदको गहिरो अनुभव गरे।
एक दिन ‘कामी’ भनेर चिनिने एक व्यक्ति श्रीमती सुत्केरी भएर ज्यान जोखिममा परेको भन्दै उनलाई गुहार्न आए। साल निस्किन नसकेर ती महिला गम्भीर अवस्थामा थिइन्। स्वास्थ्य संस्थामा पर्याप्त स्रोतसाधन नभएपछि डा. भट्टाचार्य आफैं त्यहाँ पुगे र जोखिम मोलेर हातैले साल निकालेर ती महिलाको ज्यान बचाए।
त्यो घटनापछि गाउँमा ठूलो चर्चा भयो। जातीय कारण देखाउँदै कतिपयले उनलाई प्रश्नसमेत गरे।
उनको जवाफ थियो– ‘मेरा लागि सबै मानिस हुन्। म मानिसको ज्यान जोगाउन डाक्टर भएको हुँ।’
ती महिलाको ज्यान जोगाएको सम्मानस्वरूप परिवारले उनलाई खुकुरी र भैंसीको सिङको दाप बनाएर दिएको थियो। उनले त्यसलाई जीवनको सबैभन्दा ठूलो पुरस्कारका रूपमा सम्झने गरेका थिए।
बुटवलको जंगलमा अस्पताल, पछि बिरामीको चाप
भोजपुरपछि २०१९ सालमा उनी बुटवल अस्पताल पुगे। अस्पताल खस्यौलीको जंगलभित्र थियो र स्थानीयमा अस्पताल गए बिरामी मर्छ भन्ने धारणा थियो।
उनले पुरानो घरलाई मर्मत गरेर अस्पतालको स्वरूप दिए। स्रोतसाधन अभावका बीच पनि उपचार सेवा विस्तार गरे।
एक वृद्ध महिलाको पेटमा ठूलो ट्युमर थियो। उपचारका लागि अन्यत्र जान सक्ने अवस्था नभएपछि उनले जोखिम मोलेर शल्यक्रिया गरे। ड्रेसर बुद्धलाल श्रेष्ठको सहयोगमा आफैं एनेस्थेसिया दिएर करिब १० सेर बराबरको ट्युमर निकाले।
ती महिला सात दिनमै निको भएर घर फर्किइन्। त्यसपछि अस्पतालमा बिरामीको चाप बढ्दै गयो र भारतबाट समेत बिरामी उपचारका लागि आउन थाले।
डेढ वर्षमै एफआरसीएस
पछि उनले बेलायतको रोयल कलेज अफ सर्जन्सबाट एफआरसीएस गरे। सामान्यतः धेरै समय लाग्ने उक्त विशेषज्ञता उनले डेढ वर्षमै पूरा गरे।
बेलायतमा रहँदा नेपाली चिकित्सकमाझ उनको क्षमताको चर्चा भइसकेको थियो। उनी केही वर्ष त्यहाँ बसेर थप ज्ञान र अनुभव हासिल गर्न चाहन्थे। तर, विदेशमा विभेदको अनुभव गरेपछि नेपाल फर्किने इच्छा झन् बलियो भएको उनले बताएका थिए।
नेपाल फर्किएपछि केही समय वीर अस्पतालमा काम गरे। त्यसपछि उनी आफैं काठमाडौं बाहिर गएर सेवा गर्न तयार भए।
काठमाडौं बाहिर गएर सर्जरी सेवा विस्तार गर्ने अग्रणी सर्जन
२०२४ सालतिर उनी विराटनगर पुगे। त्यसबेला काठमाडौं बाहिर गएर सर्जरी सेवा दिने विशेषज्ञ चिकित्सक निकै कम थिए।
विराटनगरमा सर्जरी सेवा सुरु गर्दा पर्याप्त उपकरण थिएनन्। एनेस्थेसियाको जनशक्ति पनि पर्याप्त थिएन। उनले आवश्यक उपकरण जुटाएर सेवा सुरु गरे र करिब सात वर्ष विराटनगरमा काम गरे।
यस क्रममा उनले काठमाडौं बाहिर विशेषज्ञ स्वास्थ्य सेवा विस्तारको महत्वपूर्ण उदाहरण प्रस्तुत गरे।
राजनीतिक दबाबमा पनि अडिग
डा. भट्टाचार्य आफ्नो पेशागत स्वाभिमानका लागि पनि परिचित थिए। एकपटक तत्कालीन स्वास्थ्य मन्त्रीसँग पोस्टिङको विषयमा विवाद भएपछि उनले ट्वाइलेट पेपरमै राजीनामा लेखेर बुझाएको प्रसंग नेपाली चिकित्सा क्षेत्रको चर्चित घटनामध्ये एक हो।
त्यसपछि उनीमाथि कारबाही गर्ने चेतावनीसमेत आएको थियो। अन्ततः उक्त विवादले मन्त्रीकै पद धरापमा परेको उनको संस्मरणमा उल्लेख छ।
बहुदल आएपछि उनी वीर अस्पतालको निर्देशक बने। कांग्रेस र कम्युनिस्ट दुवै पक्षसँग संवाद राख्ने उनको शैलीका कारण उनले वीर अस्पतालमा डा. भरत प्रधानलाई उपनिर्देशक बनाएका थिए।
यस विषयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई प्रश्न गर्दा उनले प्रतिप्रश्न गरेका थिए, ‘बहुदल ल्याउँदा हजुरले किन सहकार्य गर्नुभयो?’
प्रधानमन्त्रीले देश र प्रजातन्त्र जोगाउन त्यसो गर्नुपरेको बताएपछि डा. भट्टाचार्यको जवाफ थियो– ‘मैले पनि वीर अस्पताल जोगाउन यसो गर्नुपर्यो।’
उनले करिब १९ महिना वीर अस्पतालको निर्देशकका रूपमा काम गरे।
डा. भट्टाचार्य नेपाल मेडिकल काउन्सिलको अध्यक्षसमेत भए। काउन्सिलको अधिकार सीमित रहेको समयमा उनले काउन्सिलको अधिकार पुनःस्थापनाका लागि पहल गरे।
उनकै सक्रियतामा काउन्सिललाई मेडिकल शिक्षा तथा चिकित्सकको योग्यता जाँचसम्बन्धी अधिकार दिलाउन पहल भएको थियो।
वीर अस्पतालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) निर्माण तथा राष्ट्रिय ट्रमा सेन्टरको स्थापनामा पनि उनको महत्वपूर्ण भूमिका थियो।
सरकारी सेवाबाट अवकाश पाएपछि पनि उनले यी संस्थासँग आफ्नो सम्बन्ध कायम राखे। न्याम्समा प्राध्यापक, वीर अस्पतालमा अध्यक्ष तथा सल्लाहकारका रूपमा समेत उनले काम गरे।
केही समय नेपाल मेडिकल कलेजमा प्राध्यापकका रूपमा पनि कार्यरत रहे।
चिकित्सा परिवारका अभिभावक
डा. भट्टाचार्यकी जीवनसाथी नुपूर भट्टाचार्य पनि लामो समय सामाजिक क्षेत्रमा सक्रिय रहिन्। रेडियो नेपालको बाल कार्यक्रम ‘हातेमालो’की सञ्चालिका रहेकी नुपूरले गायनमा समेत पहिचान बनाएकी थिइन्। पछि उनले युनिसेफ र सेभ द चिल्ड्रेनमा काम गरिन्।
उनीहरूका तीन सन्तान आनन्दिता, निलञ्जना र सत्यदीप भट्टाचार्य चिकित्सक छन्। ज्वाइँ र बुहारीसमेत चिकित्सक रहेको डा. भट्टाचार्यले बताउने गरेका थिए।
‘जीवनका सबै कथा सुनाए उपन्यास बन्छ’
२०२१ सालतिर स्वास्थ्यखबरसँग आफ्नो जीवनका अनुभव सुनाउँदा डा. भट्टाचार्यले भनेका थिए, ‘मैले देखे–भोगेका सबै कथा सुनाउने हो भने एउटा उपन्यास बन्न सक्छ।’
उनको जीवनमा चिकित्सा मात्रै थिएन। नेपाली समाज, राजनीति, स्वास्थ्य प्रणाली र देशका विभिन्न भूगोलसँग जोडिएका असंख्य अनुभव थिए।
भोजपुरमा अस्पताल नभएको ठाउँमा अस्पताल सुरु गर्नेदेखि विराटनगरमा विशेषज्ञ शल्य चिकित्सा सेवा विस्तार गर्नेसम्म, वीर अस्पतालको नेतृत्वदेखि राष्ट्रिय ट्रमा सेन्टर र न्याम्सको विकाससम्म उनले आफ्नो लामो चिकित्सकीय जीवनमा महत्वपूर्ण छाप छाडे।
उनी चिकित्सा क्षेत्रका लागि सेवा, इमानदारी र पेशागत स्वाभिमानको उदाहरण बनेर बसेका छन्।
नेपाल चिकित्सक संघले पनि डा. भट्टाचार्यको निधनले नेपाली चिकित्सा क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ। संघले स्वास्थ्य क्षेत्रमा लामो समय सक्रिय रही जीवन समर्पित गरेका अग्रज चिकित्सकको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।