काठमाडौं- डोटीको के.आई. सिंह गाउँपालिकाको वायलमा गेटा आँखा अस्पतालको २९औँ आँखा उपचार केन्द्र स्थापना गरी औपचारिक रूपमा उद्घाटन गरिएको छ। असोज १५ गते आयोजित एक कार्यक्रमबीच उक्त आँखा उपचार केन्द्रको उद्घाटन गरिएको हो।
के.आई. सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न सरोकारवाला तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो।
गेटा आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक नरेन्द्रराज बिष्टका अनुसार नयाँ आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि के.आई. सिंह गाउँपालिकाका साथै बोगटान फुड्सिल गाउँपालिकाका स्थानीय बासिन्दाले समेत स्थानीय स्तरमै गुणस्तरीय आँखा उपचार सेवा प्राप्त गर्न सक्नेछन्। यस केन्द्रबाट आँखामा देखिने सामान्य तथा विभिन्न किसिमका समस्याको प्रारम्भिक परीक्षण, उपचार तथा आवश्यक परामर्श उपलब्ध गराइनेछ।
त्यसैगरी, जटिल प्रकृतिका आँखा समस्या भएका बिरामीलाई टेलिमेडिसिन प्रविधिमार्फत गेटा आँखा अस्पतालका नेत्ररोग विशेषज्ञसँग प्रत्यक्ष परामर्श गराई आवश्यक उपचार तथा व्यवस्थापनका लागि सहजीकरण गरिनेछ। आवश्यकता अनुसार थप परीक्षण तथा शल्यक्रियाका लागि बिरामीलाई गेटा आँखा अस्पतालमा रेफर गर्ने व्यवस्था समेत रहनेछ।
स्थानीय तहमा आँखा उपचार सेवा विस्तारसँगै यस केन्द्रले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई समयमै आँखा परीक्षण तथा उपचारको पहुँचमा ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नयाँ केन्द्रको सञ्चालनले आँखा सम्बन्धी समस्या लिएर टाढा जानुपर्ने बाध्यता कम गर्नुका साथै समयमै उपचार, विशेषज्ञ परामर्श र आवश्यक रेफरल सेवामा स्थानीय नागरिकको पहुँच बढाउने विश्वास गरिएको छ।
गेटा आँखा अस्पतालले आफ्नो आँखा उपचार सेवाको पहुँचलाई ग्रामीण तथा दुर्गम क्षेत्रसम्म विस्तार गर्ने क्रममा सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका विभिन्न स्थानमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ। वायलमा स्थापना गरिएको २९औँ आँखा उपचार केन्द्र पनि यही सेवा विस्तार अभियानको महत्त्वपूर्ण कडीका रूपमा रहेको छ।