काठमाडौं - सामान्यतया अस्पताल भन्नेबित्तिकै बिरामी, चिकित्सक, औषधि, उपचार र स्वास्थ्य परीक्षणको तस्वीर मनमा आइहाल्छ।अस्पताललाई रोग लागेपछि उपचार गर्ने स्थानका रुपमा बुझिन्छ। तर, भक्तपुरको लोकन्थली मनोहरा फाँटस्थित बीपीआई फाउन्डेसनले सञ्चालन गरेको बाल आँखा, नाक, कान, घाँटी तथा पुनर्स्थापना केन्द्रले अस्पतालको यही परम्परागत अवधारणाभन्दा केही फरक अभ्यास गरिरहेको छ।
यहाँ उपचारसँगै व्यक्तिलाई स्वस्थ राख्ने र उपचारपछि स्वास्थ्यलाई सामान्य अवस्थामा फर्काउन सहयोग गर्ने उद्देश्यले जिमसहितको वेलनेस सेन्टर सञ्चालनमा छ।
वेलनेस सेन्टरको अवधारणा रोग लागेपछि उपचार गर्नेभन्दा एक कदम अगाडि बढेर सञ्चालनमा ल्याइएको बताउँछन् बीपी आई फाउन्डेसनका संस्थापक डा मदन उपाध्याय। रोग लाग्न नदिने, शरीरमा लुकेर रहेका स्वास्थ्य समस्यालाई समयमै पहिचान गर्ने र स्वस्थ जीवनशैलीका लागि मानिसलाई नियमित अभ्यासमा जोड्ने उद्देश्यले जीमसहितको वेलनेस सेन्टर बनाइएको उनले जानकारी दिए।
केन्द्रको वेलनेस सेन्टर अन्तर्गत एउटै छानामुनि शारीरिक व्यायाम, योग, मानसिक स्वास्थ्यसँग सम्बन्धित अभ्यास तथा नियमित स्वास्थ्य स्क्रिनिङको व्यवस्था गरिएको छ।
केन्द्रका संस्थापक डा. मदन उपाध्यायका अनुसार पछिल्लो समय दीर्घरोगको समस्या बढिरहेको छ। तर समस्या के छ भने धेरै मानिसलाई आफूभित्र रोग पलाइरहेको जानकारी नै हुँदैन।
'अहिले उच्च रक्तचाप, मुटु, मधुमेह, क्यान्सर जस्ता नसर्ने दीर्घरोगको समस्या बढी छ, जुन बिरामीलाई सुरुमा थाहा नै हुँदैन। मानिसलाई आफूभित्र रोग पलिरहेको छ भन्ने थाहा नभएपछि उनीहरू अस्पताल जाँदैनन्,' डा. उपाध्याय भन्छन्, 'यही अवस्थालाई ध्यानमा राखेर वेलनेस सेन्टर सञ्चालन गरिएको हो।'
केन्द्रमा आउने मानिसमध्ये ठूलो संख्यामा मोटोपन, उच्च रक्तचाप र मधुमेहजस्ता समस्याको जोखिम देखिने गरेको केन्द्रको वेलनेस सेन्टरको तथ्यांकले पनि देखाएको छ।
आर्थिक वर्ष २०८१/८२ मा मात्रै केन्द्रबाट ७१ हजार ३८९ जनाले वेलनेस सेन्टरको सेवा लिएका छन्। उक्त अवधिमा वेलनेस सेन्टरबाट सेवा लिएका व्यक्तिमध्ये ११ हजार ७३० जनामा मोटोपन, ८ हजार ७८५ जनामा उच्च रक्तचाप, ५ हजार ६२९ जनामा आँखाको प्रेसर र १ हजार ५४४ जनामा मधुमेहको समस्या देखिएको थियो।

वेलनेस सेन्टरमा विशेषगरी ४० वर्ष उमेर नाघेका व्यक्तिलाई नियमित स्वास्थ्य स्क्रिनिङमा जोड दिइएको छ। यहाँ आउने व्यक्तिको रक्तचाप, ब्लड सुगर, उचाइ र तौलका आधारमा बडी मास इन्डेक्स (बीएमआई) तथा आँखाको प्रेसर जाँच गरिन्छ। आँखाको प्रेसरको परीक्षणबाट जलविन्दु (ग्लुकोमा) जस्ता समस्या समयमै पहिचान गर्न सहयोग पुग्छ।
वेलनेस सेन्टरको अर्को विशेषता हो- जीम सेन्टर। केन्द्रमा स्वास्थ्य परीक्षण गरेर मात्र पठाइँदैन, स्वस्थ जीवनशैलीका लागि अभ्यास गर्ने ठाउँ पनि उपलब्ध गराइन्छ। जिम सेन्टरमा दैनिक सेवाग्राही आउने गरेका छन् भने योगका लागि पनि उस्तै चाप रहने गरेको केन्द्रले जनाएको छ। जीम सेन्टर भने बिहान र साँझ मात्र खुल्ने गरेको छ।

त्यस्तै, शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै प्राथमिकता दिइएको छ। त्यसका लागि योग तथा ध्यानसम्बन्धी अभ्यास गराइन्छ। जीवन विज्ञानका गुरुहरूमार्फत दैनिक अभ्यास गराउने व्यवस्था गरिएको केन्द्रले जनाएको छ।
डा. उपाध्यायका अनुसार मानिसलाई ‘व्यायाम गर्नुहोस्’ भनेर मात्र भन्नु पर्याप्त हुँदैन।
'प्रायः बिरामी तथा आफ्ना कर्मचारीहरूलाई ‘व्यायाम गर्नुहोस्’ मात्र भन्दा उनीहरू कहाँ जाने, कसरी गर्ने भनेर अन्योलमा पर्छन्,' उनी भन्छन्, 'त्यसैले शारीरिक व्यायाम, मानसिक स्वास्थ्य र नियमित स्वास्थ्य परीक्षणको सुविधा एउटै ठाउँमा उपलब्ध गराउने अवधारणा अघि सारिएको हो।'
वेलनेस सेन्टर मार्फत केन्द्रले खानपान र जीवनशैली परिवर्तनका लागि सुझाव दिनुका साथै आवश्यकताअनुसार अन्य स्वास्थ्य सेवा लिन पनि परामर्श दिने गरेको छ।
बीपी आई फाउन्डेसनले आफ्नो कामलाई सात वटा प्रमुख ‘पिल्लर’मा विभाजन गरेको छ। त्यसमध्ये वेलनेस सेन्टरलाई पहिलो र प्रमुख पिल्लरका रूपमा राखिएको छ।
'आजको स्वास्थ्य प्रणाली उपचारमुखी मात्र भएर पुग्दैन। मानिसलाई स्वस्थ रहन सिकाउने, जोखिम पहिचान गर्ने र रोगको सुरुवाती अवस्थामै हस्तक्षेप गर्ने प्रणाली पनि आवश्यक हुन्छ। बीपीआई फाउन्डेसनको वेलनेस सेन्टर यही अवधारणालाई व्यवहारमा उतार्ने एउटा प्रयास हो,' डा उपाध्यायले भने।