१५० वर्षअघि मानिसको शरीरको औसत तापक्रम अहिलेको भन्दा बढी हुने गरेको देखिएको छ। पछिल्ला अनुसन्धानले मानिसको शरीरको औसत तापक्रम समयसँगै घट्दै गएको देखाएका छन्। यसको ठ्याक्कै कारणबारे भने वैज्ञानिकहरू अझै अध्ययन गरिरहेका छन्।
सन् १८६० को दशकमा जर्मन चिकित्सक कार्ल वन्डरलिच एउटा महत्त्वपूर्ण प्रश्नको जवाफ खोजिरहेका थिए– ज्वरो आफैँमा एउटा रोग हो वा शरीरमा रहेको अर्को रोगको लक्षण मात्र?
त्यतिबेला शरीरको तापक्रम मापन गर्न थर्मोमिटरको नियमित प्रयोग हुँदैनथ्यो। यस्तो अवस्थामा वन्डरलिचले शरीरको सामान्य तापक्रम पत्ता लगाउने अभियान सुरु गरे। उनले १५ वर्ष लगाएर २५ हजार बिरामीको शरीरको तापक्रम मापन गरे। ती बिरामीमा सबै उमेर समूहका महिला र पुरुष थिए। यस क्रममा उनले १० लाखभन्दा बढी तापक्रम रेकर्ड संकलन गरे।
यति ठूलो तथ्यांकको विश्लेषणपछि उनले स्वस्थ वयस्क मानिसको शरीरको औसत तापक्रम ३७ डिग्री सेल्सियस (९८.६ डिग्री फरेनहाइट) रहेको निष्कर्ष निकाले। त्यसयता यही तापक्रमलाई मानिसको सामान्य शारीरिक तापक्रमको मानकका रूपमा प्रयोग गर्न थालियो। शरीरको तापक्रम ३८ डिग्री सेल्सियस (१००.४ डिग्री फरेनहाइट) भन्दा माथि पुगेमा ज्वरो आएको मानिने उनले उल्लेख गरेका थिए।
अन्य केही अनुसन्धानकर्ताले पनि यसअघि यस्तै निष्कर्ष निकालेका थिए। तर वन्डरलिचले संकलन गरेको ठूलो तथ्यांकका कारण उनको निष्कर्षले चिकित्सा क्षेत्रमा विशेष स्थान पायो। अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डका चिकित्सा इतिहासविद् तथा संक्रामक रोग विशेषज्ञ फिलिप म्याक्विओवाकका अनुसार ३७ डिग्री सेल्सियसलाई विश्वव्यापी निदानको मानकका रूपमा स्थापित गर्न वन्डरलिचको तथ्यांकले महत्त्वपूर्ण भूमिका खेलेको थियो।
तर पछिल्ला अनुसन्धानले विगत डेढ सय वर्षमा मानिसको शरीरको औसत तापक्रम नै परिवर्तन भएको देखाएका छन्। के सुरुदेखि नै ३७ डिग्रीलाई सामान्य तापक्रम मान्नु गलत थियो? वा बदलिँदो वातावरण र जीवनशैलीले मानिसको शरीरको जैविक प्रक्रियामै परिवर्तन ल्याएको हो?
शरीरको औसत तापक्रम घट्दै
स्ट्यानफोर्ड विश्वविद्यालयकी संक्रामक रोग विशेषज्ञ जुली पार्सोनेटका अनुसार शरीरको तापक्रममा हुने विविधताबारे अहिले हामीले थाहा पाएका धेरै कुरा वन्डरलिचकै अनुसन्धानबाट स्थापित भएका हुन्।
वन्डरलिचले आफू कार्यरत जर्मनीको लाइपजिग अस्पतालमा मुख्यतः श्रमिक वर्गका बिरामीको तापक्रम मापन गरेका थिए। उनको अनुसन्धानले शरीरको तापक्रम सबै मानिसमा समान नहुने देखाएको थियो।
उनले महिलाको शरीरको तापक्रम पुरुषको भन्दा बढी हुने, उमेर बढ्दै जाँदा तापक्रम घट्ने र दिनको समयअनुसार पनि तापक्रममा परिवर्तन आउने पत्ता लगाएका थिए।
तर अहिलेको औसत मानिसको शरीरको तापक्रम १५० वर्षअघिको मानिसको तुलनामा कम रहेको अनुसन्धानले देखाएको छ। सन् १९ औँ शताब्दीको सुरुवाततिरका अमेरिकी पुरुषको तुलनामा अहिलेका पुरुषको औसत तापक्रम करिब ०.५९ डिग्री सेल्सियस कम छ।
एक दशकअघि पार्सोनेटको टोलीले अमेरिकाका झन्डै एक लाख ९० हजार मानिसको तापक्रमसम्बन्धी तीनवटा ठूलो तथ्यांकको विश्लेषण गरेको थियो। सन् १८६२ देखि २०१७ सम्म संकलन गरिएका ती तथ्यांकमा एउटै व्यक्तिको पटकपटक मापन गरिएको तापक्रमसमेत समावेश थियो।
त्यसको विश्लेषणपछि वयस्क मानिसको शरीरको नयाँ औसत तापक्रम ९७.५ डिग्री फरेनहाइट अर्थात् ३६.३९ डिग्री सेल्सियसको आसपास रहेको निष्कर्ष निकालिएको पार्सोनेट बताउँछिन्।
यसअघि र त्यसपछिका विभिन्न अध्ययनले पनि शरीरको औसत तापक्रम घट्दै गएको निष्कर्षलाई समर्थन गरेका छन्।
यो परिवर्तन विकसित देशमा मात्र सीमित छैन। स्विट्जरल्यान्डको युनिभर्सिटी अफ ज्युरिखका जैविक मानवशास्त्री एड्रियन जेग्गीका अनुसार अमेजनको वर्षावनमा बसोबास गर्ने अर्धघुमन्ते आदिवासी समुदाय त्सिमानेका मानिसको औसत शरीरको तापक्रम सन् २००० को सुरुवाततिर ३७ डिग्री सेल्सियसको आसपास थियो। तर दुई दशकको तीव्र सामाजिक तथा आर्थिक परिवर्तनपछि सन् २०१८ मा उनीहरूको औसत तापक्रम घटेर ३६.५ डिग्री सेल्सियस (९७.७ डिग्री फरेनहाइट) पुगेको थियो।
किन घटिरहेको छ मानिसको शरीरको औसत तापक्रम?
आज मानिसको शरीरको औसत तापक्रम घट्नुका पछाडि विभिन्न कारण हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ।
पार्सोनेटका अनुसार यसको एउटा प्रमुख कारण मानिसको समग्र स्वास्थ्य अवस्थामा आएको सुधार हो।
वन्डरलिचको समयमा मानिसको औसत आयु ३८ वर्ष थियो। अहिले औसत आयु त्यसको झन्डै दोब्बर पुगेको छ।
त्यतिबेला क्षयरोग, दाँतसम्बन्धी गम्भीर समस्या, आउँ, बाथजस्ता रोग र हड्डीमा हुने संक्रमणबाट मानिसहरू पीडित हुन्थे। अहिलेको तुलनामा सरसफाइ र स्वास्थ्य उपचारको अवस्था पनि कमजोर थियो।
पार्सोनेटका अनुसार शरीरको प्रतिरक्षा प्रणालीले विभिन्न रोगसँग लड्दा धेरै ऊर्जा खर्च गर्छ। ऊर्जा खर्च हुँदा शरीरमा ताप पनि उत्पादन हुन्छ। त्यसैले विगतमा मानिसहरू धेरै रोगबाट पीडित हुने गरेकाले उनीहरूको शरीरको औसत तापक्रम बढी भएको हुन सक्छ।
त्सिमाने समुदायमा पनि खोप र सरसफाइको सुविधामा भएको सुधारले स्वास्थ्य अवस्था राम्रो बनाएको जेग्गी बताउँछन्। अहिले त्यहाँ शौचालयको प्रयोग र जुत्ता लगाउने चलन पनि बढेको छ। यसले दूषित माटोमा खाली खुट्टा हिँड्दा सर्ने जुका संक्रमण घटाउन मद्दत गरेको छ।
शरीरको तापक्रम घट्नुको अर्को कारण आधुनिक जीवनशैली पनि हुन सक्छ।
अहिले घर, कार्यालय र सार्वजनिक स्थानमा तापक्रम नियन्त्रण गर्ने सुविधा बढेको छ। अमेरिकाका कम्तीमा ८८ प्रतिशत घरमा एयर कन्डिसनको सुविधा छ। बेलायतका पनि त्यस्तै अनुपातका घरमा केन्द्रीय ताप प्रणाली (सेन्ट्रल हिटिङ) उपलब्ध छ।
पार्सोनेटका अनुसार अहिले मानिसले आफ्नो जीवनको धेरै समय शरीरका लागि अनुकूल तापक्रम भएको वातावरणमा बिताउँछन्। यस्तो अवस्थालाई वैज्ञानिक भाषामा 'थर्मल न्युट्रल जोन' भनिन्छ।
यस्तो वातावरणमा शरीरले आफ्नो तापक्रम कायम राख्न धेरै ऊर्जा खर्च गर्नुपर्दैन। ऊर्जा खर्च कम हुँदा शरीरमा ताप उत्पादन पनि कम हुन्छ।
के वन्डरलिचको तापक्रम मापन नै गलत थियो?
तर म्याक्विओवाक भने शरीरको औसत तापक्रम घट्नुको कारण अर्कै हुन सक्ने बताउँछन्।
उनले एकपटक वन्डरलिचले प्रयोग गरेको पुरानो सिसाको थर्मोमिटर प्रत्यक्ष हेर्ने अवसर पाएका थिए। त्यस क्रममा उक्त थर्मोमिटरको मापन प्रणाली आधुनिक थर्मोमिटरको तुलनामा करिब २ डिग्री सेल्सियस बढी देखिने गरी मिलाइएको पाएको उनको भनाइ छ।
यदि यस्तो हो भने त्यसबाट मापन गरिएका तापक्रम आधुनिक थर्मोमिटरले मापन गर्दा आउने तापक्रमभन्दा बढी देखिन सक्थे।
त्यतिबेला तापक्रम मापन गर्ने प्रक्रिया पनि निकै झन्झटिलो थियो। पारा राखिएको सिसाको थर्मोमिटर करिब एक फिट लामो हुन्थ्यो। त्यसलाई प्रयोग गर्नुअघि उम्लिरहेको पानी र जमिरहेको बरफजस्ता निश्चित तापक्रम भएका वस्तुको आधारमा मिलाउनुपर्थ्यो।
त्यसपछि बिरामीलाई १५ देखि २० मिनेटसम्म स्थिर अवस्थामा राखेर तापक्रम मापन गरिन्थ्यो। म्याक्विओवाकका अनुसार त्यस्ता थर्मोमिटरले तापक्रम देखाउन लामो समय लगाउँथे।
त्यसैले वन्डरलिचले निकालेको औसत तापक्रम सुरुदेखि नै त्रुटिपूर्ण हुन सक्ने उनको तर्क छ।
अर्को महत्त्वपूर्ण पक्ष के हो भने वन्डरलिचले काखीमा थर्मोमिटर राखेर तापक्रम मापन गरेका थिए। अहिले भने मुखबाट तापक्रम मापन गर्ने विधि बढी प्रचलित छ। यी दुई विधिबाट प्राप्त तापक्रमलाई सीधै तुलना गर्न कठिन हुन्छ।
तर पार्सोनेट भने वन्डरलिचले प्रयोग गरेको थर्मोमिटरको मापन प्रणालीमा भएको त्रुटि नै तापक्रम घट्नुको मुख्य कारण हो भन्ने मान्न तयार छैनन्।
उनको टोलीले सन् १८६२ देखि १९३० सम्म अमेरिकी गृहयुद्धमा सहभागी सैनिकहरूको तापक्रमसम्बन्धी तथ्यांक अध्ययन गरेको थियो। त्यसमा पहिले जन्मिएका मानिसको औसत तापक्रम पछि जन्मिएका मानिसको भन्दा बढी रहेको पाइएको थियो।
एउटै समयमा फरक वर्षमा जन्मिएका मानिसको तापक्रम तुलना गर्नुका साथै एउटै वर्ष जन्मिएका मानिसको फरक समयमा मापन गरिएको तापक्रमसमेत तुलना गरिएको थियो। यसरी थर्मोमिटरको प्रभाव, उमेर र जन्मवर्षको प्रभावलाई छुट्याउन सकिएको पार्सोनेट बताउँछिन्।
त्यसपछि सन् १९७१ देखि २०१७ सम्मका थप दुईवटा आधुनिक तथ्यांकको विश्लेषण गर्दा पनि शरीरको औसत तापक्रम घटेको देखियो। ती तथ्यांकमा प्रयोग गरिएका थर्मोमिटरको मापन प्रणाली पनि तुलनात्मक रूपमा समान थियो।
शरीरको सामान्य तापक्रम निर्धारण गर्ने चार आधार
शरीरको तापक्रम सबै मानिसमा एउटै हुँदैन। उमेर, लिङ्ग, दिनको समय र शरीरको बनावटले यसमा प्रभाव पार्छन्।
१. उमेर : उमेर बढ्दै जाँदा तापक्रम घट्छ
उमेर बढ्दै जाँदा शरीरको चयापचय (मेटाबोलिजम) प्रक्रिया सुस्त हुन्छ। शारीरिक सक्रियता पनि कम हुने भएकाले शरीरले कम ऊर्जा खर्च गर्छ। यसले शरीरको तापक्रम घटाउन सक्छ। वेस्ट भर्जिनिया विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ वालीद जावेदका अनुसार वृद्ध मानिसको शरीरको तापक्रम तुलनात्मक रूपमा कम हुन्छ।
२. लिङ्ग : महिलाको तापक्रम पुरुषको भन्दा बढी
महिलाको शरीरको तापक्रम पुरुषको भन्दा बढी हुने गरेको छ। महिनावारी चक्रका कारण हुने तापक्रमको परिवर्तनबाहेक वृद्ध महिलामा समेत पुरुषको तुलनामा तापक्रम बढी देखिने पार्सोनेट बताउँछिन्। यसको ठ्याक्कै कारणबारे भने वैज्ञानिकहरू अझै स्पष्ट छैनन्।
३. दिनको समय : बिहान कम, साँझ बढी
शरीरको तापक्रममा जैविक घडी (सर्काडियन रिदम) को प्रभाव हुन्छ। बोस्टन चिल्ड्रेन्स अस्पताल तथा म्यासाचुसेट्स जनरल अस्पतालका बाथरोग विशेषज्ञ जोनाथन हाउसम्यानको हालैको अध्ययनअनुसार बिहान ३ देखि ५ बजेसम्म शरीरको तापक्रम सबैभन्दा कम हुन्छ भने दिउँसो ४ देखि साँझ ६ बजेसम्म सबैभन्दा बढी हुन्छ। दिनभरको शारीरिक सक्रियताले यसमा भूमिका खेलेको हुन सक्ने उनको भनाइ छ।
४. उचाइ र तौल : उचाइले घटाउँछ, तौलले बढाउँछ
शरीरको उचाइ बढी भएका मानिसको तापक्रम तुलनात्मक रूपमा कम हुन सक्छ। शरीरको सतह क्षेत्रफल बढी हुँदा ताप बाहिर निस्कने मात्रा पनि बढी हुन्छ। अर्कोतर्फ, शरीरको तौल बढी हुँदा तापक्रम केही बढ्न सक्छ।
अब सामान्य तापक्रमको मानक बदल्नुपर्ने हो?
यी सबै अनुसन्धानले मानिसको शरीरको औसत तापक्रम ३७ डिग्री सेल्सियस नै हो भन्ने मान्यतामाथि प्रश्न उठाएका छन्।
चिकित्सा क्षेत्रमा प्रयोग हुने दुई महत्त्वपूर्ण सन्दर्भ स्रोत 'ह्यारिसन्स प्रिन्सिपल्स अफ इन्टरनल मेडिसिन' र अनलाइन मेडिकल डेटाबेस 'अपटुडेट' ले पनि सामान्य तापक्रमको मानकबारे पुनर्विचार गरेका छन्।
यद्यपि चिकित्सकहरू शरीरको तापक्रमको एउटा निश्चित अंकलाई मात्र आधार मानेर स्वास्थ्य अवस्था मूल्यांकन नगर्न सुझाव दिन्छन्।
स्विट्जरल्यान्डको युनिभर्सिटी अफ ज्युरिखका जेग्गीका अनुसार शरीरको तापक्रमका सीमालाई कठोर रूपमा लिनु हुँदैन। ३६.९९ डिग्री सेल्सियस र ३७.०१ डिग्री सेल्सियसबीच स्वास्थ्यका हिसाबले कुनै ठूलो भिन्नता हुँदैन।
तर वयस्क मानिसको शरीरको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा तल झर्नु वा ४० डिग्री सेल्सियसभन्दा माथि पुग्नु भने गम्भीर अवस्थाको संकेत हुन सक्छ।
त्यसैले शरीरको तापक्रम मापन गर्दा एउटा निश्चित अंकलाई मात्र आधार बनाउनुभन्दा व्यक्तिको उमेर, लिङ्ग, मापन गरिएको समय, मापन गर्ने विधि र अन्य लक्षणलाई समेत ध्यान दिनु आवश्यक हुन्छ।
निष्कर्षमा, ३७ डिग्री सेल्सियस मानिसको शरीरको सामान्य तापक्रमको स्थापित मानक भए पनि सबै स्वस्थ मानिसको तापक्रम यही हुन्छ भन्ने छैन। बदलिँदो स्वास्थ्य अवस्था, जीवनशैली र वातावरणले मानिसको शरीरको औसत तापक्रममा समेत परिवर्तन ल्याइरहेको हुन सक्ने वैज्ञानिकहरूको निष्कर्ष छ।
(-बीबीसी फ्युचरबाट अनुदित)