लैङ्गिक हिंसा भन्ने शब्द मात्र सुन्दा पनि मन सिरिङ्ग हुन्छ। अझ यसको प्रत्यक्ष पीडा भोग्नुपर्दा कस्तो हुँदो हो? कल्पना मात्रले पनि मन विचलित हुन्छ। सामान्य अर्थमा, लैङ्गिक हिंसा भनेको लिङ्गका आधारमा गरिने विभेद, दुर्व्यवहार, शोषण वा हिंसा हो। यसको प्रत्यक्ष तथा अप्रत्यक्ष असर विशेषगरी महिला र बालिकाले विभिन्न रूपमा भोगिरहेका छन्।
लैङ्गिक हिंसाको जालो यति गहिरो र व्यापक छ कि यसको जरा पहिचान गर्नसमेत कठिन हुन्छ। सामान्यतया गरिबी, अशिक्षा र बेरोजगारीलाई यसको प्रमुख कारण मानिन्छ। तर के यिनै कारण मात्र लैङ्गिक हिंसाका लागि जिम्मेवार छन्? यदि त्यसो हो भने शिक्षित, आर्थिक रूपमा सम्पन्न र रोजगारीमा संलग्न महिलाहरू किन हिंसाबाट मुक्त हुन सकेका छैनन्?
वास्तवमा, लैङ्गिक हिंसा केवल आर्थिक अवस्था र शिक्षासँग जोडिएको विषय होइन। यो हाम्रो सामाजिक सोच, पितृसत्तात्मक संरचना, शक्ति र नियन्त्रणको मानसिकता तथा महिलाप्रतिको दृष्टिकोणसँग पनि गहिरोसँग गाँसिएको छ।
दुःखद पक्ष के छ भने सामाजिक प्रतिष्ठा, पारिवारिक इज्जत र सम्बन्ध जोगाउने नाममा धेरै हिंसा घरभित्रै लुकाइन्छ। शिक्षित तथा रोजगारीमा संलग्न महिलाहरूले पनि विभिन्न प्रकारका हिंसा सहेर बस्नुपरेका अनुभव मैले नजिकबाट सुनेकी छु। बाहिरबाट आत्मनिर्भर, शिक्षित र सक्षम देखिने महिलाको जीवनभित्र कति गहिरा पीडा लुकेका हुन्छन् भन्ने कुरा उनीहरूका अनुभव सुनेपछि मात्र थाहा हुन्छ।
हिंसा हुन सधैँ ठूलो घटना नै हुनुपर्छ भन्ने छैन। घरायसी कामको बाँडफाँट, आर्थिक निर्णयमा महिलाको सहभागिता, व्यक्तिगत स्वतन्त्रता, पारिवारिक जिम्मेवारी वा श्रीमान्–श्रीमतीबीचको सामान्य मतभेदसमेत कतिपय अवस्थामा नियन्त्रण, अपमान, धम्की र दुर्व्यवहारको माध्यम बन्न सक्छन्। सम्बन्धमा समानता र सम्मानको सट्टा डर, दबाब र नियन्त्रण हावी हुँदा हिंसाले ठाउँ पाउँछ।
राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्ने क्रममा पछिल्लो एक वर्षमा लैङ्गिक हिंसाबाट प्रभावित ९९ जना बिरामीको अवस्था नजिकबाट बुझ्ने अवसर पाएँ। तीमध्ये धेरै घटनामा बेरोजगारी, मदिरा तथा लागूपदार्थको सेवन र पारिवारिक कलहजस्ता पक्ष जोडिएका थिए। मेरो अनुभवमा, यस्ता परिस्थितिले हिंसाको स्वरूपलाई अझ जटिल र गम्भीर बनाउँछन्।
ती ९९ घटनामध्ये दुई महिलाका पीडादायी अनुभवले मलाई विशेष रूपमा सोच्न बाध्य बनायो।
पहिलो महिलाले विगत ११ वर्षदेखि निरन्तर हिंसा सहँदै आउनुभएको रहेछ। यति लामो समयसम्म हिंसा भोग्दा पनि उहाँ श्रीमान्सँगको सम्बन्धबाट बाहिरिन सक्नुभएको थिएन। उहाँको जीवनमा हिंसा शारीरिक चोटमा मात्र सीमित थिएन; वर्षौँदेखि सञ्चित मानसिक पीडा, डर, असुरक्षा र सामाजिक बाध्यता पनि त्यससँग गाँसिएका थिए।
अर्की महिलाको अवस्था भने फरक थियो। उहाँले एकैपटक भोग्नुपरेको हिंसाले उहाँको ज्यान नै जोखिममा पारेको थियो। एउटा घटनाले उहाँलाई जीवन र मृत्युबीचको अवस्थामा पुर्याएको थियो।
यी दुई फरक अनुभवले लैङ्गिक हिंसाका दुई गम्भीर पक्ष उजागर गर्छन्। एकातिर, हिंसा वर्षौँसम्म निरन्तर चल्न सक्छ र महिलाको आत्मविश्वास, मानसिक स्वास्थ्य तथा जीवनलाई बिस्तारै क्षय गर्दै लैजान्छ। अर्कातिर, एउटा घटनाले नै महिलाको ज्यान जोखिममा पार्न सक्छ।
यसले हामीलाई एउटा महत्त्वपूर्ण प्रश्न सोध्न बाध्य बनाउँछ : हामी हिंसालाई शारीरिक चोट लागेपछि मात्र हिंसा भनेर चिन्ने हो, कि त्यसअघि नै सुरु भइसकेका अपमान, धम्की, नियन्त्रण, डर र मानसिक यातनालाई पनि हिंसाका रूपमा पहिचान गर्ने हो?
हिंसाबाट प्रभावित महिलालाई “सम्बन्ध किन नछोडेको?”, “पहिले नै उजुरी किन नगरेको?” वा “किन सहेर बसेको?” भनेर प्रश्न गर्न सजिलो छ। तर उनीहरूको अवस्था बुझ्ने प्रयास गर्नु अझ महत्त्वपूर्ण छ। आर्थिक निर्भरता, बालबालिकाको भविष्य, सामाजिक दबाब, पारिवारिक प्रतिष्ठा, असुरक्षा, भावनात्मक सम्बन्ध र हिंसा झन् बढ्ने डरले धेरै महिलालाई हिंसात्मक सम्बन्धबाट बाहिरिन कठिन बनाउँछ।
त्यसैले लैङ्गिक हिंसा अन्त्य गर्न पीडित महिलालाई मात्र सचेत गराएर पुग्दैन। परिवार, समाज, स्वास्थ्य संस्था, सुरक्षा निकाय र राज्यका सबै संयन्त्र जिम्मेवार हुनुपर्छ। महिलाले हिंसा सहनु हुँदैन भन्नुअघि उनीहरू हिंसामुक्त भएर बाँच्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नुपर्छ।
हिंसाबाट प्रभावित महिलालाई दोष होइन, विश्वास चाहिन्छ। उपदेश होइन, सुरक्षित आश्रय चाहिन्छ। सहानुभूति मात्र होइन, आवश्यकताअनुसार स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श, कानुनी सहायता तथा आर्थिक र सामाजिक पुनर्स्थापनाको अवसर चाहिन्छ।
अन्ततः, लैङ्गिक हिंसा कुनै एक महिलाको व्यक्तिगत समस्या मात्र होइन; यो परिवार, समाज र समग्र राष्ट्रको साझा चुनौती हो। हिंसाको अन्त्य गर्न महिलालाई मात्र बलियो बन्न सिकाउने होइन, हिंसा गराउने सोच र संरचना पनि बदल्न आवश्यक छ।
किनकि महिलाको मौनतालाई सहमति ठान्ने समाज कहिल्यै हिंसामुक्त हुन सक्दैन। हिंसा सहन बाध्य महिलालाई दोषी ठहराएर न्यायपूर्ण समाज निर्माण हुन सक्दैन।