काठमाडौं- मेडिकल विषयमा स्नातक तहको तेस्रो वर्षमा अध्ययनरत २२ वर्षीय युवा प्रमेश कँडेलले आफ्नो पहिलो साहित्यिक कृति अंग्रेजी कविता संग्रह ‘सोलफुल साइलेन्स’ प्रकाशित गरेका छन्।
बागलुङको काठेखोला गाउँपालिका–२ का कँडेल सानैदेखि साहित्य पढ्न र लेख्न रुचि राख्थे। चिकित्सा शिक्षाको व्यस्त अध्ययनसँगै साहित्य सिर्जनालाई पनि निरन्तरता दिँदै आएका उनले आफ्नो सिर्जनात्मक यात्राको पहिलो उपलब्धिका रूपमा कविता संग्रह सार्वजनिक गरेका हुन्।
‘सोलफुल साइलेन्स’ मा प्रेम, प्रकृति, जीवन, दर्शन, अध्यात्म, आत्मशान्ति तथा मानवीय संवेदनासँग सम्बन्धित भावनाहरूलाई कवितामार्फत अभिव्यक्त गरिएको छ।
उनले बागलुङस्थित विद्यामन्दिर पुस्तकालयमा देवकोटा जयन्ती तथा लक्ष्मीपूजाको विशेष अवसर पारेर पुस्तक विमोचन गरेका थिए।
चिकित्सा अध्ययन र साहित्य सिर्जनालाई सँगसँगै अघि बढाइरहेका कँडेलको पहिलो कृतिले युवा पुस्तामा पठन संस्कृति र साहित्यिक सिर्जनाप्रतिको रुचि अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।