यात्रा केवल एउटा स्थानबाट अर्को स्थानसम्मको भौतिक दूरी पार गर्नु मात्र होइन रहेछ। कतिपय यात्राहरूले मानिसलाई जीवन र जगत्को त्यस्तो गहिरो दर्शन गराउँछन्, जसले सोच, भावना र आत्मिक चेतनालाई नै सदाका लागि रूपान्तरण गरिदिन्छ। हालै जनैपूर्णिमाको पावन अवसरमा गोसाइँकुण्डको तीर्थमेलामा स्वास्थ्य शिविर सञ्चालन गर्न अल नेपाल अस्पतालका तर्फबाट टोली नेताका रूपमा गएको म र मेरो टोलीको अनुभव पनि त्यस्तै एउटा अभूतपूर्व र स्तब्धकारी अध्याय बन्यो।
क्षणभरमै बदलिएको भूगोल र दृश्य
स्वास्थ्य शिविर सञ्चालन हुनुभन्दा ठीक दुई दिनअघि हामी हाँस्दै, रमाउँदै त्यही पैदल मार्ग भएर उकालो लागेका थियौँ। बाटोका रमणीय दृश्यहरू, यात्रीहरूको उत्साह र सानो बजारको आत्मीयताले यात्रालाई बिर्सन नसकिने बनाएको थियो। हामीले जहाँ बसेर थकाइ मेटाउँदै खाना खाएका थियौँ, त्यहाँको रौनक अझै आँखामा ताजै थियो।
तर, प्रकृतिले कुन क्षण कस्तो रूप लिन्छ, कसैले भन्न नसक्ने रहेछ। दुई दिनपछि जब भीषण बाढी र पहिरोले त्यो सिङ्गो बस्तीलाई नै निल्यो, हामी स्तब्ध भयौँ। दुई दिनअघि हामी मुस्कुराउँदै खाना खाइरहेको त्यो ठाउँ, त्यो होटेल र त्यहाँका मानिसहरू एकाएक बगेर गायब भइसकेका थिए। कैयौँ निर्दोष आत्माहरूले अकालमा ज्यान गुमाए, थुप्रै बेपत्ता भए। केवल दुई दिनको फरक! यदि हामीले शिविरको तयारी र औषधि उपकरणहरूको व्यवस्थापनका लागि दुई दिनअघि यात्रा तय नगरेको भए र हाम्रो यात्रा १० गतेका लागि मात्र तय भएको भए, सायद आज हाम्रा नामहरू पनि बेपत्ताको सूचीमा कोरिएका हुन्थे होला। यो सोचाइले मात्रै पनि शरीरमा अझै सिरिङ्ग काँढा उमार्छ।
एकाएक बदलिएको भूमिका, जागृत भएको करुणा
हामी तीर्थालु र स्थानीयको स्वास्थ्य परीक्षण गर्न, उनीहरूलाई पर्न सक्ने उचाइको समस्या लेक लाग्ने (High Altitude Sickness) बाट बचाउन र औषधि/उपकरण बोकेर समुन्द्री सतहबाट ४,३८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड पुगेका थियौँ।
तर, परिस्थितिले अर्कै मोड लियो। जनैपूर्णिमाको अघिल्लो दिन सिङ्गो समाज आफ्ना आफन्त गुमाएको शोकमा डुबेको थियो। एकातिर चाडपर्वको धार्मिक वातावरण, अर्कोतिर परिवारमा छाएको त्यो भयावह बिजोग! मानिसहरू आफ्ना प्रियजनको खोजीमा भौँतारिइरहेका थिए, कसैको आँखामा आँसु सुकेको थिएन।
न्यून अक्सिजन, अत्याधिक चिसो, अचानक बदलिने मौसम र लेक लाग्ने जोखिमका बीच आफू स्वयं शारीरिक र मानसिक रूपमा बलियो रहँदै, घन्टौँ हिँडेर आएका गम्भीर र थकित यात्रुहरूलाई तत्काल जीवनरक्षक सेवा दिनु हाम्रा लागि हरेक पल एउटा नयाँ परीक्षा जस्तै थियो।
त्यस कठिन घडीमा हाम्रो टोलीले स्वास्थ्य शिविरको परम्परागत दायराभन्दा माथि उठेर काम गर्नुपर्यो। अब हाम्रो भूमिका केवल ब्लड प्रेसर जाँच्ने वा औषधि बाँड्नेमा मात्र सीमित रहेन; शोकमा डुबेका मानिसहरूलाई ढाडस दिने, उद्धारमा सघाउने र उनीहरूको घाउमा मलम लगाउने नयाँ जिम्मेवारी हाम्रो काँधमा आयो।

त्यो कहालीलाग्दो दृश्य सम्झँदा अझै पनि मुटु काँप्छ। दावा दाइ- जसले आफ्नै बहिनी गुमेको वज्रपातपूर्ण खबर पाइसकेका थिए, तर आफ्नो आँसु लुकाउँदै, टाउकोमा हात राखेर निरन्तर बहिनीलाई सम्पर्क गर्न खोजिरहेका थिए र टेलिफोनमा अन्य बेपत्ताहरूको खोजीमा जुटिरहेका थिए। त्यो सिङ्गो समाजले एकैसाथ थुप्रै आफ्ना मान्छेहरू गुमायो।
हामीले त्यहाँ आँखाभरि आँसु र मनभरि भारी पीडा बोकेर निरन्तर सेवामा खटिरह्यौँ। आफ्ना मान्छेहरू गुमाएको असीम शोकमा पनि स्थानीय दाजुभाइ-दिदीबहिनीहरूले हजारौँ तीर्थयात्रीहरूका लागि निरन्तर खाना र आवासको प्रबन्ध गरिरहेका थिए। उहाँहरूको त्यो धैर्य, समर्पण र अद्भूत मानवीयता देखेर हामी निशब्द भयौँ।
हामीले त्यो कहालीलाग्दो परिस्थितिमा उहाँहरूको घाउमा कति मलमपट्टि लगाउन सक्यौँ या सकेनौँ, त्यो त थाहा छैन; तर हामीले आफ्ना सम्पूर्ण दुःख, थकान र त्रासलाई भुलेर पीडितहरूकै साथमा उभिने हरसम्भव प्रयास गर्यौँ। दुःखको त्यो महासागरभित्र पनि नआत्तिई, एउटा मानवले अर्को मानवका लागि देखाएको यो निस्वार्थ सेवा र आत्मबलले हामीलाई जीवनको नयाँ अर्थ सिकाएको छ।
ईश्वरीय योजना र आत्मिक अनुभूति
विपत्तिका कहालीलाग्दा क्षणहरू पार गर्दै, ईश्वरको कृपा, सम्पूर्ण परिवारजन, साथीभाइ र शुभचिन्तकहरूको प्रार्थना र शुभेच्छाकै कारण हाम्रो टोली सकुशल काठमाडौँ अवतरण गरेको छ। तर, मन भने अझै त्यहीँ रोकिएको छ- जहाँ राष्ट्रिय विपत्तिका बीच जीवन र मृत्युको भयानक युद्ध चलिरहेको थियो।
त्यो विचलित पार्ने दृश्य देख्दा आँखाहरू स्वतः रसाएर आए। तर, त्यही अश्रुधाराभित्र मनको अन्तरकुन्तरबाट एउटा गहिरो आत्मिक अनुभूति भयो- भगवान्ले हामीलाई यहाँ त्यसै पठाउनुभएको रहेनछ। विपत्तिका बेला सहाराहीन बनेका ती मानिसहरूको दुःखको सहारा बन्न, उनीहरूको छटपटीमा अलिकति भए पनि राहतको मलम लगाउन नै ईश्वरले हामीलाई माध्यम बनाउनुभएको रहेछ।
अध्यात्ममा भनिन्छ- हामी जीवनमा जे गर्छौँ, ती सब पूर्व-निर्धारित ईश्वरीय कार्यका निमित्त मात्र हौँ। 'खै किन भगवान्ले यस्तो कठिन र संवेदनशील भूमिका सधैँ मलाई नै दिनुहुन्छ होला?' भन्ने प्रश्न मनमा नउठेको होइन। तर, त्यो प्रश्नको उत्तर पनि मनभित्रै भेटियो- ईश्वरले कठिन परीक्षा वा ठूलो सेवाको अवसर तिनैलाई सुम्पनुहुन्छ, जसको हृदयमा अरूको दुःख देखेर पग्लिने करुणा हुन्छ।
विपत्तिका कहालीलाग्दा क्षणहरूमा आँखाभरि आँसु र मनमा असीम शोक बोकेर पनि अरूको जीवन रक्षामा जुट्न पाउनुले मलाई शिवतत्त्व- अर्थात् अरूको दुःख र पीडालाई आत्मसात् गरेर निस्वार्थ सेवा गर्ने शक्तिको वास्तविक बोध गराएको छ। मेरा पुर्खाको आशिर्वाद, सहकर्मीहरूको अदम्य साहस र स्थानीय समाजको अभूतपूर्व धैर्यले मलाई जीवनभरका लागि एउटा नयाँ दृष्टिकोण, नम्रता र आत्मबल प्रदान गरेको छ।
यो अकल्पनीय प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। बेपत्ता हुनुभएकाहरूको सर्वपक्षीय र तीव्र खोजी कार्यका लागि अपिल गर्दछु। साथै, आफ्नो प्राणभन्दा प्यारा आफन्त गुमाएर शोकमा डुब्नुभएका पीडित परिवारजनमा यो असीम पीडा सहन सक्ने धैर्यधारणको शक्ति भगवान्ले प्रदान गरून्।
गोसाइँकुण्डको यो यात्रा र अनुभव मेरो सम्पूर्ण जीवनकालको सर्वोच्च र अविस्मरणीय पाठ बनेको छ। यसले मलाई जीवनको क्षणभंगुरता, कर्मको मर्म र ईश्वरीय कृपाको गहिरो बोध गराएको छ। हजारौँ श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रमा पुगेर सेवा गर्न पाउनु मेरो जीवनकै अमूल्य र पवित्र सम्पत्ति हो। ईश्वरप्रति कृतज्ञ रहँदै, आफ्ना मान्छे गुमाएका ती शोकाकुल हृदयहरूलाई सेवा र सहानुभूति दिन पाउनु नै मेरो जीवनको सबैभन्दा ठूलो आध्यात्मिक उपलब्धि बन्यो। ईश्वरले हामीलाई बचाउनुभयो र अरूको सेवामा समर्पित हुने जुन अवसर दिनुभयो, त्यसले मेरो पेसा र जीवनको वास्तविक उद्देश्यलाई सधैँ मार्गनिर्देश गरिरहनेछ।
(लेखक सुमन पौडेल अल नेपाल अस्पतालका व्यवस्थापक हुन्। उनले जनस्वास्थ्य विषयमा स्नातकोत्तर पनि गरेका छन्।)