काठमाडौं- वीरगञ्जस्थित नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा अध्ययनरत आवासीय चिकित्सकहरू आफ्ना ७ बुँदे मागसहित न्यायको खोजीमा काठमाडौं आइपुगेका छन्। कलेज प्रशासनले लामो समयदेखि आफ्ना जायज मागहरूप्रति बेवास्ता गरेको र बारम्बार गरिएका अनुरोधहरूको सुनुवाइ नगरेको भन्दै वीरगञ्जमा विरोध प्रदर्शन गरेका उनीहरू कलेजस्तरबाट समस्या समाधान नभएपछि काठमाडौं आएका हुन्।
काठमाडौं आइपुगेका आवासीय चिकित्सकहरूले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका डिनलाई भेटेर आफ्ना समस्या र मागहरूबारे ध्यानाकर्षण गराएका छन्। यसका साथै उनीहरूले नियमनकारी निकाय चिकित्सा शिक्षा आयोग र चिकित्सकहरूको छाता संस्था नेपाल चिकित्सक संघमा पनि आफ्ना ७ बुँदे मागपत्र बुझाउँदै समस्या समाधान र न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन्।
आवासीय चिकित्सकहरूले प्रथम वर्षका ७ जना चिकित्सकविरुद्ध दायर गरिएको मुद्दा तत्काल फिर्ता लिनुपर्ने, प्रसूति तथा स्त्रीरोग विभागका ३ जना चिकित्सकमाथिको कारबाही खारेज गरी रोकिएको तलब फिर्ता गर्नुपर्ने तथा नेपाल सरकारसँगको सम्झौता अनुसार आठौँ तहको तलब समयमै भुक्तानी हुनुपर्ने माग राखेका छन्।
त्यसैगरी त्रिवि र चिकित्सा शास्त्र अध्ययन संस्थानको सिफारिस अनुसार २४ घण्टे ड्युटी हप्तामा बढीमा २ पटकमा सीमित गरी ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था गर्नुपर्ने, हाजिरी तथा बिदाका नाममा हचुवाका भरमा भत्ता र तलब काट्ने गैरकानुनी प्रक्रिया बन्द गरिनुपर्ने उनीहरूको माग छ। आन्दोलनमा सहभागी भएकै आधारमा कुनै पनि चिकित्सकमाथि प्रतिशोधपूर्ण कारबाही वा तलब कटौती नगर्न चेतावनी दिँदै उनीहरूले आफूहरू बिरामीको स्याहार र पेसाप्रति सधैँ प्रतिबद्ध रहे पनि कलेजको उदासीनताका कारण आन्दोलित हुनुपरेको स्पष्ट पारेका छन्।
माग सम्बोधन नभए कडा कदम चाल्ने चिकित्सक संघको चेतावनी
यसैबिच, नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकहरूले उठाएका जायज मागहरू अविलम्ब सम्बोधन गर्न कलेज प्रशासनसँग जोडदार माग गरेको छ।
संघका अध्यक्ष डा. बद्रि रिजाल र महासचिव डा. विश्व राज दवाडीद्वारा जारी विज्ञप्तिमा गत भदौ ३१ गतेदेखि चिकित्सकहरू आन्दोलित हुँदा समेत कलेज व्यवस्थापनले कुनै सुनुवाइ नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। ड्युटी आवर, तलब भत्ता तथा सुविधामा एकरूपता नहुनु, वैज्ञानिक व्यवस्थापन नगरिनु र चिकित्सकहरूमाथि अन्यायपूर्ण रूपमा अनावश्यक कारबाही गरिनु ठुलो अन्याय भएको संघको ठहर छ। संघले चिकित्सकहरूका माग अविलम्ब सम्बोधन नभए कडा कदम अपनाउन बाध्य हुने चेतावनी समेत दिएको छ।
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकका ७ बुँदे मागहरू:
१. सहनवाज अन्सारीद्वारा ७ जना प्रथम वर्षका आवासीय चिकित्सकहरूविरुद्ध दायर गरिएको मुद्दा तत्काल फिर्ता लिइयोस्।
२. प्रसूति तथा स्त्री रोग (OB/GYN) विभागका ३ जना आवासीय चिकित्सकहरूमाथि लगाइएको अन्यायपूर्ण कारबाही खारेज गरी, रोकिएको तलब सम्मानका साथ फिर्ता दिइयोस्।
३. त्रिभुवन विश्वविद्यालय (TU) र चिकित्सा विज्ञान अध्ययन संस्थान (IOM) ले सिफारिस गरेबमोजिम २४ घण्टे ड्युटी हप्तामा बढीमा २ पटकमा मात्र सीमित गरियोस्, र २४ घण्टे ड्युटीपछि अनिवार्य विश्राम दिइयोस्।
४. नेपाल सरकारसँग भएको सम्झौताबमोजिम आवासीय चिकित्सकहरूलाई ८ औँ तहको तलब समयमै भुक्तानी गरियोस्।
५. शुक्रबार वा आइतबार बिदा लिँदा एचआर (HR) विभागले जबर्जस्ती अनुपस्थित देखाई शनिबारको भत्ता काट्ने प्रचलन तुरुन्त खारेज गरियोस्। साथै, यस अन्यायपूर्ण प्रक्रियाका कारण हालसम्म कटौती गरिएको भत्ता समेत सम्बन्धित आवासीय चिकित्सकहरूलाई फिर्ता दिइयोस्।
६. यस आन्दोलनमा सहभागी हुने कुनै पनि आवासीय चिकित्सकमाथि तलब कटौती वा भेदभावपूर्ण कारबाही नगरियोस्। आन्दोलन गर्ने हाम्रो संवैधानिक अधिकार प्रयोग गर्दा कुनै पनि किसिमको प्रतिशोधको सामना गर्नुपर्ने अवस्था हुनु हुँदैन।
७. सम्बन्धित विभागका प्रमुख (HOD) ले सो दिन सम्बन्धित आवासीय चिकित्सक उपस्थित रहेको पुष्टि गरेको खण्डमा हाजिरी स्वीकार गरियोस्। व्यस्त कार्यतालिकाका कारण मात्र छुट्न पुगेको हाजिरीलाई जबर्जस्ती अनुपस्थित देखाई तलब कटौती जस्ता कारबाहीबाट दण्डित नगरियोस्। बायोमेट्रिक हाजिरी गर्न छुटेको अवस्थामा विभागीय प्रमुख (HOD) को हस्ताक्षर मात्रै आवासीय चिकित्सकको उपस्थिति पुष्टि गर्नका लागि पर्याप्त मानिनुपर्छ, र यसका लागि विभिन्न व्यक्तिहरूबाट छुट्टाछुट्टै हस्ताक्षर संकलन गर्दै आवासीय चिकित्सकले आफ्नो सम्पूर्ण दिन खर्च गर्नुपर्ने बाध्यता हुनु हुँदैन।