काठमाडौं- नेपाली औषधि उत्पादक कम्पनी मारुती फर्मा प्रालिले प्रतिष्ठित ‘ग्लोबल ब्रान्ड अवार्ड्स २०२६’ प्राप्त गरेको छ। आइतबार श्रीलंकाको कोलम्बोस्थित 'टेम्पल ट्रिज'मा आयोजना गरिएको एक विशेष समारोहका बिच कम्पनीका जनरल म्यानेजर दिनेश खालिङले उक्त अवार्ड ग्रहण गरेका हुन्।
अन्येल्प ग्रुप्सद्वारा आयोजित सो कार्यक्रममा श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेनाले जनरल म्यानेजर खालिङलाई अवार्ड तथा कदर-पत्र प्रदान गरेका थिए। मारुती फर्मालाई औषधि निर्माणको क्षेत्रमा गरेको नवप्रवर्तन (इनोभेसन), गुणस्तरीय स्वास्थ्य सेवा र मानव कल्याणमा पुर्याएको योगदानको कदर गर्दै उक्त विधामा सम्मानित गरिएको हो।
विश्वभरका कम्पनीहरूले आवेदन दिन सक्ने पारदर्शी प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी भई मारुती फर्माले नेपालको प्रतिनिधित्व गर्दै यो उपलब्धि हासिल गरेको हो।
अवार्ड समारोहमा विश्वका विभिन्न ३५ देशका प्रतिनिधिहरूसँगै श्रीलंकाका लागि नेपाली राजदूत तथा अन्य विभिन्न मुलुकका राजदूतहरूको समेत उपस्थिति रहेको थियो।
कम्पनीका अनुसार मारुती फर्माले व्यावसायिक सफलताका साथै सामाजिक उत्तरदायित्व निर्वाहमा पनि अग्रणी भूमिका खेल्दै आएको छ।