आउँदो नोभेम्बरमा प्रदर्शनमा आउने तयारीमा रहेको भारतीय चलचित्र ‘सूर्या’को ट्रेलर सार्वजनिक भएपछि चिकित्सा विज्ञानलाई आत्मसात् गरी यस क्षेत्रमा समर्पित चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा विभिन्न जिज्ञासा र चासो उत्पन्न हुनु स्वाभाविक हो। तर, ट्रेलर हेर्दा दर्शकलाई नयाँ स्वाद दिनुभन्दा पनि पुरानै बलिउड शैलीमा चिकित्सकीय पेसालाई नकारात्मक रूपमा चित्रण गर्न खोजिएको अनुभूति हुन्छ। चलचित्रको प्रचारप्रसारका लागि अतिरञ्जित दृश्य, अस्वाभाविक संवाद र प्रभावशाली पृष्ठभूमि सङ्गीत प्रयोग गरिएको देखिन्छ।
चलचित्रले परम्परागत शैलीमा प्रतिशोध, शक्तिप्रदर्शन, नायकको अतिरञ्जित वीरता र अनुमानित घटनाक्रमलाई मुख्य आधार बनाएको देखिन्छ। यसले गर्दा कथावस्तुमा प्रस्तुत गरिएका घटनाहरूको वास्तविकता र विश्वसनीयताबारे प्रश्न उठ्नु स्वाभाविक हो। दर्शकले कथाले दिन खोजेको सन्देशलाई आलोचनात्मक रूपमा विश्लेषण गरी सही र गलत पक्ष छुट्याउन नसकेको अवस्थामा यस्ता प्रस्तुतिले स्वास्थ्य सेवा र चिकित्सकीय अभ्यासप्रति नकारात्मक धारणा विकास गराउन सक्छन्।
त्यस्तै, चलचित्रको ट्रेलरमा एक्सन र दृश्यात्मक प्रभावलाई अत्यधिक प्राथमिकता दिइएको देखिन्छ। प्रस्तुत संवादमध्ये चिकित्सकहरूले औषधिको प्रेस्क्रिप्सन लेख्दा कमिसनका लागि लेख्छन् भन्ने सन्देशले सम्पूर्ण चिकित्सकीय पेसालाई एउटै दृष्टिकोणबाट हेर्ने गलत धारणा स्थापित गर्न सक्छ। यस्ता संवादले चिकित्सा सेवाको वास्तविक जटिलता, चिकित्सकको व्यावसायिक जिम्मेवारी र बिरामीप्रतिको समर्पणलाई ओझेलमा पार्न सक्छन्।
चलचित्रको प्रचारका लागि केही सेकेन्डका रोमाञ्चक दृश्यहरू आकर्षक हुन सक्छन्। तर, आफ्नो जीवनको ठूलो हिस्सा बिरामीको सेवामा समर्पित गर्ने चिकित्सक तथा उनीहरूका परिवारका लागि यस्ता दृश्य र संवादले गहिरो नकारात्मक प्रभाव पार्न सक्छन्। संवेदनशील विषयमा आधारित चलचित्रले दर्शकलाई क्षणिक उत्साह र मनोरञ्जन त दिन सक्ला, तर त्यसले समाजमा सिर्जना गर्न सक्ने दीर्घकालीन गलत धारणा र अविश्वास वास्तविक चुनौती हुन्।
‘सूर्या’को ट्रेलर सार्वजनिक भएपछि भारतका विभिन्न चिकित्सा क्षेत्रका पेसाकर्मीहरूले सामाजिक सञ्जालहरूको माध्यमबाट यसप्रति विरोध र असन्तुष्टि व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा पनि चलचित्रमा प्रस्तुत गरिएका कथित रूपमा कपोलकल्पित दृश्य र संवादप्रति असन्तुष्टि देखिएको छ। नेपाली दर्शकहरूमा समेत भारतीय चलचित्रप्रति उल्लेखनीय आकर्षण रहेको सन्दर्भमा यस्ता प्रस्तुतिले नेपाली दर्शक, चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा समेत नकारात्मक असर पार्न सक्ने सम्भावनालाई बेवास्ता गर्न मिल्दैन।
यद्यपि, ट्रेलरका आधारमा मात्रै सम्पूर्ण चलचित्रलाई सही वा गलत ठहर गर्नु न्यायोचित हुँदैन। चलचित्रका निर्देशकको वास्तविक दृष्टिकोण, कलाकारहरूको पूर्ण अभिनय र कथाको समग्र सन्देश चलचित्र प्रदर्शन भएपछि मात्रै स्पष्ट हुनेछ। तथापि, ट्रेलरको एउटा सानो अंशले समेत चिकित्सक तथा अस्पतालहरूले सामना गरिरहेका दुर्व्यवहार, अविश्वास र तोडफोडजस्ता समस्यालाई थप प्रोत्साहन गर्न सक्ने जोखिमप्रति सचेत रहन आवश्यक छ।
भारतीय चलचित्रको इतिहास हेर्दा चलचित्रले समाजमा सकारात्मक सोच, प्रेरणा र परिवर्तनको सन्देश प्रवाह गर्न सक्छ भन्ने प्रमाणित गर्ने थुप्रै उदाहरण छन्। चलचित्रको सफलता नायकले कति शक्तिशाली देखिन्छ, उसले कति हिंसात्मक दृश्यमा विजय प्राप्त गर्छ वा कति अतिरञ्जित संवाद बोल्छ भन्ने कुरामा मात्र निर्भर हुँदैन। वास्तविक जीवनका सङ्घर्ष, सामाजिक विकृति, मानवीय संवेदना र सकारात्मक परिवर्तनलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नु पनि चलचित्रको महत्त्वपूर्ण जिम्मेवारी हो। यस सन्दर्भमा चलचित्र ‘दंगल’, ‘१२थ फेल’, ‘साँड की आँख’ ले कथावस्तुका वास्तविक अनुहार को हुन् भन्ने यथार्थलाई पनि प्रष्ट खुलाएको देखिन्छ।
यी चलचित्रका उदाहरणले एउटा महत्त्वपूर्ण कुरा स्पष्ट पार्छन्- चलचित्रमा नाटकीयता र मनोरञ्जन आवश्यक हुन सक्छन्, तर तिनको प्रयोगले समाजमा सकारात्मक सोच विकास गर्ने सम्भावनालाई कमजोर बनाउनु हुँदैन। विशेषतः चिकित्सा जस्तो प्रत्यक्ष रूपमा मानव जीवन, स्वास्थ्य र सुरक्षासँग जोडिएको पेसालाई चित्रण गर्दा यो जिम्मेवारी अझ गम्भीर हुन्छ। चिकित्सा क्षेत्रमा कमीकमजोरी, अनियमितता वा स्वार्थको सम्भावना हुन सक्छ; तिनलाई उजागर गर्नु चलचित्र निर्माताको अधिकार हो। कोही व्यक्तिले गलत कार्य गरेको छ भने तोकिएको व्यक्ति वा संस्था मात्रले दोष खेप्नुपर्ने हो, तर यो ट्रेलर हेर्दा देखिएको त्रुटिलाई सम्पूर्ण चिकित्सक समुदायको चरित्रका रूपमा प्रस्तुत गर्नु न्यायोचित हुँदैन।
त्यसैले ‘सूर्या’का निर्माताले पनि नायकको वीरता र नाटकीयतालाई मात्र प्राथमिकता दिनुभन्दा चिकित्सा पेसाको वास्तविकता, चिकित्सकको व्यावसायिक जिम्मेवारी र बिरामीको हितबीचको सम्बन्धलाई सन्तुलित रूपमा प्रस्तुत गर्न सके चलचित्र अझ अर्थपूर्ण बन्न सक्छ। ‘दंगल’, ‘१२थ फेल’ र ‘साँड की आँख’ जस्ता चलचित्रबाट सिक्न सकिने मुख्य पाठ यही हो- दर्शकको मन जित्ने सबैभन्दा प्रभावकारी बाटो अतिरञ्जित वीरता मात्र होइन, विश्वसनीय कथा, मानवीय संवेदना, प्रमाणित यथार्थ र समाजलाई सकारात्मक दिशा दिने सन्देश पनि हो।
नेपालमा पनि स्वास्थ्यकर्मीमाथि हुने दुर्व्यवहार र स्वास्थ्य संस्थामाथिको आक्रमण गम्भीर चिन्ताका विषय हुन्। यस्तो अवस्थामा चिकित्सकीय पेसालाई सामान्यीकरण गरेर दोषारोपण गर्ने वा स्वास्थ्य सेवाप्रति अविश्वास बढाउने किसिमका प्रस्तुतिको सम्भावित प्रभावबारे सम्बन्धित निकायले गम्भीरतापूर्वक विचार गर्नुपर्छ। चलचित्रको पूर्ण विषयवस्तु र त्यसले दिने सन्देशको मूल्याङ्कन गरी आवश्यक परे प्रचलित कानुन तथा मापदण्डअनुसार उपयुक्त निर्णय लिन सकिन्छ। चलचित्रको तथ्यगत पुष्टि, सम्पूर्ण सामग्री, अभिव्यक्ति स्वतन्त्रता र सार्वजनिक हितलाई मध्यनजर गर्दै आवश्यक परेको खण्डमा भने प्रचलित कानुन र प्रमाणका आधारमा यस चलचित्रको प्रदर्शनमा प्रतिबन्ध लगाउने निर्णय लिनु आवश्यक हुन्छ।
अन्ततः, ‘सूर्या’ जस्तो चलचित्रले दर्शकको मन जित्न ठूलो बजेट, आकर्षक एक्सन र अतिरञ्जित संवाद तथा दृश्यमा मात्र निर्भर नभई सामाजिक यथार्थ, सशक्त अभिनय र अर्थपूर्ण प्रस्तुतिमा ध्यान दिनुपर्छ। चलचित्र मनोरञ्जनको माध्यम मात्र होइन; यसले समाजको सोच, धारणा र व्यवहारमा समेत प्रभाव पार्न सक्छ। त्यसैले विशेषतः चिकित्सा जस्तो संवेदनशील र जनजीवनसँग प्रत्यक्ष जोडिएको पेसालाई चित्रण गर्दा तथ्यगत विश्वसनीयता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिनुपर्छ।
आजका दर्शकले पुराना फर्मुलाको पुनरावृत्तिभन्दा पनि नवीन सोच, विश्वसनीय कथा र कलात्मक इमानदारी खोजिरहेका छन्। चिकित्सक र स्वास्थ्यकर्मीको योगदानलाई सम्मान गर्दै चिकित्सा क्षेत्रका वास्तविक विकृति र चुनौतीलाई जिम्मेवार ढङ्गले प्रस्तुत गर्न सकिएमा चलचित्रले मनोरञ्जनसँगै सकारात्मक सामाजिक बहससमेत सिर्जना गर्न सक्छ। ‘सूर्या’लाई नेपालमा प्रदर्शनको अनुमति दिने विषयमा पनि चलचित्रको पूर्ण मूल्याङ्कन, प्रचलित कानुनी व्यवस्था र सामाजिक उत्तरदायित्वलाई आधार बनाइनु उपयुक्त हुनेछ।