काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शना डा. गोविन्द केसीको पक्षमा उभिएकी छन्। आफ्नै नेतृत्वको सरकारलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा धारणा राख्दै उनले डा. केसीका माग सम्बोधन गर्न यसअघि सहमति गरिएको भए अहिले त्यसबाट पछि हट्न नमिल्ने बताएकी छन्।
दर्शनाले डा. केसीका माग सम्बोधन गर्ने सहमति गर्न नसकिने अवस्था थियो भने अघिल्लो पटक किन सहमति गरिएको थियो भन्दै सरकारलाई प्रश्न गरेकी छन्।
उनले सरकारमा आफ्नो दल भए पनि नभए पनि डा. केसीका अडान चिकित्सा शिक्षा क्षेत्रको सुधार र आम नागरिकको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा केन्द्रित रहेको उल्लेख गरेकी छन्।
‘डा. केसी न विवेकशीलका हुन्, न रास्वपाका, न कांग्रेस–एमाले–माओवादी वा अन्य कुनै दलका। उहाँ कसैका हुनुहुन्न, तर सबैका हुनुहुन्छ,’ दर्शनाले लेखेकी छन्, ‘अझ भन्नुपर्दा, उहाँ दिनदुःखी र निम्न तथा मध्यम वर्गका नागरिकको अलि बढी हुनुहुन्छ।’
सांसद दर्शनाले सरकारले सबैभन्दा पहिले डा. केसीको जीवनरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छन्। उनका माग जायज नभए तथ्य र तर्कका आधारमा अस्वीकार गर्न सकिने भए पनि सहमति गरिसकेपछि त्यसबाट पछि हट्नु उचित नहुने उनको भनाइ छ।
एउटा वृद्ध शरीरलाई पटक–पटक जीवन नै जोखिममा पर्ने गरी दुःख दिनु सरकारको जिम्मेवारी र व्यवहार दुवैका दृष्टिले उचित नभएको उनले टिप्पणी गरेकी छन्।
दर्शनाका अनुसार डा. केसी र उनको सत्याग्रह समस्या होइनन्, बरु पटक–पटक सत्याग्रह गर्नुपर्ने अवस्था सिर्जना हुनु वास्तविक समस्या हो। सत्य र न्यायका लागि नागरिकले बारम्बार आफ्नो जीवन नै दाउमा राख्नुपर्ने परिस्थिति अन्त्य हुनुपर्ने उनको धारणा छ।
आफ्नो अभिव्यक्तिले पार्टीका साथीहरूलाई चित्त बुझ्न वा नबुझ्न सक्ने उल्लेख गर्दै उनले सत्य र न्यायप्रतिको अडान राजनीतिक सत्ता, दल वा प्रतिपक्षको सुविधाअनुसार परिवर्तन हुन नहुने स्पष्ट पारेकी छन्।
‘सत्यको आग्रह कुनै दल, सत्ता वा प्रतिपक्षको सुविधाअनुसार बदलिँदैन। त्यसप्रतिको अडान निरन्तर रहिरहन्छ,’ उनले लेखेकी छन्।