बिहानको ओपीडी (वीर अस्पताल) सकिएपछि म वार्डमा किड्नी बायोप्सीका लागि आवश्यक फारामहरू भरिरहेको थिएँ।
त्यही क्रममा मैले हस्ताक्षर गरिदिनुपर्ने एकजना ३३ वर्षीया महिला बिरामी आफ्नी १२ वर्षकी छोरीसँग आउनुभएको थियो। उहाँका कागजपत्रहरू इन्चार्ज सिस्टरले मिलाउँदै हुनुहुन्थ्यो।
फाराम भरिरहँदा श्रीमान्को नाम लेख्नुपर्ने ठाउँ आयो।
सिस्टरले सोध्नुभयो, 'श्रीमान्को नाम के हो?'
बिरामी केही बोल्नुभएन।
'श्रीमान् हुनुहुन्छ नि, होइन र?' सिस्टरले फेरि सोध्नुभयो।
उहाँले बिस्तारै भन्नुभयो, 'हुनुहुन्छ, तर उहाँको नाम यहाँ लेख्न मिल्दैन।'
'किन नि?'
'उहाँसँग डिभोर्स भएको छ।'
हामी अलि अचम्ममा पर्यौँ। किनकि उहाँ किड्नीको समस्या लिएर पटक–पटक अस्पताल भर्ना भइरहनुहुने बिरामी हुनुहुन्थ्यो। त्यसैले उहाँको घरपरिवारबारे पनि हामीलाई केही जानकारी थियो।
सिस्टरले सोध्नुभयो, 'अनि बेला–बेला सँगै आउनुहुन्छ त?'
उहाँले भन्नुभयो, 'आउनुहुन्छ नि। डिभोर्स भएको दुई वर्ष भयो, तर हामी अहिले पनि सँगै बस्छौँ।'
त्यसपछि उहाँले आफ्नो जीवनको कथा सुनाउन थाल्नुभयो।
'हाम्रो बिहे भएको १५ वर्ष भयो। बिहे हुनुभन्दा अगाडि नै, म १५–१६ वर्षकी हुँदा मलाई सुगर देखिएको थियो। बिहे भयो, परिवार बन्यो। अहिले हाम्रो ठूलो छोरा १३ वर्षको छ। ऊ ठूलोबुवाको घरमा बस्छ। यो छोरीचाहिँ हामीसँगै छौँ। हामी तीनजना सँगै बस्छौँ।'
रोग देखिनुभन्दा पहिले मैले न्युरोड गेटनजिकैको गुडपाक पसलमा काम गर्थें।
'डिभोर्स भएपछि उहाँ भारत जानुभयो। त्यसको छ महिनापछि, आजभन्दा डेढ वर्षअघि, मेरो किड्नी फेल भयो।'
यति भन्दै उहाँ केहीबेर रोकिएर फेरि बोल्नुभयो।
'भारतमा रहनुभएका उहाँलाई मैले नै फोन गरेर मेरो किड्नी फेल भएको कुरा सुनाएँ। त्यो सुनेर उहाँ रुनुभयो। अनि भन्नुभयो, 'यस्तो अवस्थामा म तिमीलाई एक्लै छोड्न सक्दिनँ। म काठमाडौं फर्किन्छु। सानोतिनो काम गरौँला, तर तिमीलाई एक्लै छोड्दिनँ।'
त्यसपछि उहाँले फोन राख्नुभयो।
फोन गरेको पर्सिपल्ट नै उहाँका श्रीमान् नेपाल फर्किनुभयो। अहिले उहाँहरू फेरि सँगै बस्नुहुन्छ।
उहाँले थप्नुभयो, 'अब फेरि मिलापत्र गरेर कागज मिलाउन मात्रै बाँकी छ। कागजमा हामी छुट्टिएका छौँ, तर भावनाले अझै सँगै छौँ। उहाँले मलाई धेरै माया गर्नुहुन्छ। हो कि होइन, सिस्टर, तपाईंलाई पनि थाहा छ नि!'
उहाँले अर्की सिस्टरतिर हेर्दै सोध्नुभयो।
इन्चार्ज सिस्टर हाँस्दै भन्नुभयो, 'त्यही भएर त हामी झुक्कियौँ नि!'
त्यसपछि सिस्टरले उहाँकी छोरीलाई जिस्क्याउँदै भन्नुभयो, 'अब मम्मी–बाबाको फेरि बिहे गराइदेऊ है!'
छोरीले पनि मुस्कुराउँदै जवाफ दिइन्, 'अब गराइदिने हो।'
त्यो सानो संवादले वार्डको वातावरण केहीबेर हलुका बनायो।
किड्नी वार्डमा गम्भीर रोग लागेपछि बिरामीलाई अलपत्र छोडेर हिँड्नेहरू पनि हामीले देखेका छौँ। उपचारको खर्च, डायलाइसिसको बोझ र भविष्यको अनिश्चितताले कतिपय सम्बन्धहरू कमजोर बनेको पनि देखेका छौँ।
तर किड्नी फेल भएको थाहा पाएपछि छुट्टिएर गइसकेको जीवनसाथी फेरि फर्किएर आएको घटना भने निकै कम देखिन्छ।
मैले उहाँकी छोरीलाई भनेँ, 'तिम्रो बाबा त महान् हुनुहुँदो रहेछ है!'
छोरीले तुरुन्तै भनिन्, 'अहिले त उहाँ मोडल हो नि! सिभिल मलमा काम गर्नुहुन्छ। ड्रेसको मोडलिङ पनि गर्नुहुन्छ। हाम्रो बाबा कस्तो राम्रो हुनुहुन्छ! अलिकति पैसा जम्मा भएपछि मम्मीलाई एउटा किड्नी दिन्छु भन्नुभएको छ। अहिले नै त किड्नी ट्रान्सप्लान्टको त्यति पैसा हामीसँग छैन।'
छोरीको अनुहारमा आफ्नो बाबाप्रतिको गर्व प्रस्ट देखिन्थ्यो।
त्यसपछि आमाले बिस्तारै भन्नुभयो, 'यति धेरै माया गर्ने मान्छे कमै हुन्छन् होला। आज हामी अस्पतालबाट घर पुग्दा पनि उहाँ खाना पकाएर हामीलाई कुरेर बस्नुभएको हुन्छ।'
उहाँका ती अन्तिम शब्द सुनेपछि मनमा धेरै कुरा खेले।
सम्बन्धविच्छेदको कागजमा हस्ताक्षर भइसकेको थियो। कानुनका नजरमा उहाँहरू छुट्टिनुभएको दुई वर्ष भइसकेको थियो। तर जीवनले सबैभन्दा कठिन परीक्षा लिएको बेला उहाँहरू फेरि एकअर्काको साथमा उभिनुभएको थियो।
सायद सम्बन्धलाई जोडेर राख्ने कुरा सधैँ कागजमा लेखिएका शब्दहरू मात्र हुँदैनन्। कहिलेकाहीँ जीवनको सबैभन्दा कठिन मोडमा कसैले फर्केर आएर भन्ने एउटा वाक्य नै पर्याप्त हुन्छ- 'यस्तो अवस्थामा म तिमीलाई एक्लै छोड्न सक्दिनँ।'
अन्ततः सम्बन्धको वास्तविक अर्थ सुखका दिनमा सँगै हुनु मात्र होइन रहेछ। दुःखले थिचेको बेला पनि एकअर्काको हात नछोड्नु रहेछ।
कहिलेकाहीँ कागजमा टुटेको सम्बन्ध पनि मनभित्र जीवितै हुँदो रहेछ।