काठमाडौं–चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा सामाजिक न्यायका लागि २५औँ सत्याग्रहमा रहेका डा. गोविन्द केसीले सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका छन्।
शिक्षा मन्त्रालयको विज्ञप्तिपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले शिक्षा तथा खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
उनले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रप्रति सरकारको नीति, कार्यशैली र दृष्टिकोण वस्तुगत यथार्थ तथा जनहितमा आधारित नभएको आरोप लगाएका छन्। सरकारका पछिल्ला निर्णय सुशासन र सामाजिक न्यायका मान्यताविपरीत रहेको उनको भनाइ छ।
न्यूनतम पूर्वाधार र मापदण्ड पूरा नगरेका शिक्षण संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिने, मेडिकल विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगका उच्च पदमा अयोग्य, विवादित र स्वार्थ बाझिने व्यक्तिहरू नियुक्त गर्ने तथा निजी शिक्षण संस्थाका सशुल्क सिट बढाएर छात्रवृत्ति कटौती गर्ने सरकारी प्रवृत्तिले जनताको स्वास्थ्य र शिक्षाप्रतिको असंवेदनशीलता देखाएको उनले बताएका छन्।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षले समेत सम्बन्धित अस्पताल मापदण्डअनुसार सञ्चालन नभएको कुरा स्वीकारेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित भएको उल्लेख गर्दै डा. केसीले नियमनकारी निकायसँगको मिलेमतोमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुमति दिइएको आरोपसमेत लगाएका छन्।
त्यस्तै, सत्याग्रहका क्रममा गत साउन ११ गते भएको सहमति कार्यान्वयन गर्नुको सट्टा त्यसको मर्म र भावनाविपरीत निर्णयहरू भइरहेको भन्दै उनले सरकारको प्रतिबद्धता र इमानदारितामाथि प्रश्न उठाएका छन्।
सरकारसँग पुनः वार्ता गर्दा आश्वासन मात्रै प्राप्त हुने र सहमति कार्यान्वयन नभएपछि फेरि सत्याग्रह तथा विरोधका कार्यक्रम गर्नुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ता पनि उनले व्यक्त गरेका छन्। विगतका सरकारले समेत अयोग्य तथा स्वार्थ बाझिने नियुक्ति सच्याएका उदाहरण रहेको उनको भनाइ छ।
गुणस्तरीय र सर्वसुलभ चिकित्सा शिक्षामा देशका कुनाकाप्चाका विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थी र नागरिकको समान पहुँच सुनिश्चित गर्न चिकित्सा शिक्षा ऐन र आयोगले महत्त्वपूर्ण भूमिका खेलेको डा. केसीले बताएका छन्। यी उपलब्धिको संरक्षण र थप सुदृढीकरणमा आफूहरू प्रतिबद्ध रहेको उनले उल्लेख गरेका छन्।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधार, सुशासन तथा सामाजिक न्यायका लागि उठाइएका माग सम्बोधन नभएसम्म सत्याग्रहसहितको आन्दोलन जारी रहने उनले स्पष्ट पारेका छन्। आन्दोलनबाट उत्पन्न हुन सक्ने कुनै पनि विषम परिस्थितिको जिम्मेवारी सरकारले नै लिनुपर्ने उनको चेतावनी छ।
डा. केसी हाल त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा सत्याग्रहमा छन्।