काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक पारदर्शिता, प्रशासनिक सुधार र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा जोड दिएकी छन्।
प्रतिष्ठान सञ्चालक परिषद्को ४८औँ सभालाई सम्बोधन गर्दै मन्त्री मेहताले एमआरआई सेवा खरिद प्रक्रिया शीघ्र सम्पन्न गर्न तथा निर्माणाधीन मातृशिशु (एमसीएच) भवनको निर्माण र सेवा सञ्चालनलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिएकी हुन्।
उनले चिकित्सा शिक्षाको गुणस्तर सुधार तथा स्वास्थ्य सेवाको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिँदै प्रतिष्ठानले संस्थागत सुधारका कामलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताइन्।
त्यसैगरी, कोशी र मधेश प्रदेशका स्वास्थ्य संस्थाहरूसँग सहकार्य र समन्वय विस्तार गरी प्रतिष्ठानको सेवा पहुँच बढाउन उनले आग्रह गरिन्। प्रतिष्ठानले आफ्नो सेवा क्षेत्र विस्तार गर्दै थप नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।
मन्त्री मेहताले सभाबाट भएका निर्णयहरूको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट जिम्मेवारी र समयसीमा निर्धारण गर्नुपर्नेमा समेत जोड दिइन्। निर्णय कार्यान्वयनमा संस्थागत जवाफदेहिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो।
प्रतिष्ठानको सञ्चालक परिषद्को ४८औँ सभामा आर्थिक पारदर्शिता, प्रशासनिक सुधार, पूर्वाधार विकास, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिका विषयलाई प्राथमिकतामा राखिएको छ।