काठमाडौँ- बागमती प्रदेशको स्वास्थ्य सचिवमा संघीय सरकारबाट कर्मचारी पठाउने निर्णयप्रति प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारीले विरोध जनाएका छन्। प्रदेशमा सचिव बन्न योग्य एघारौँ तहका अधिकारी हुँदाहुँदै संघबाट कर्मचारी पठाउन लागिएको भन्दै उनीहरूले निर्णय सच्याउन माग गरेका छन्।
प्रदेश स्वास्थ्य मन्त्रालयका कर्मचारीले बिहीबार मुख्यमन्त्री किरण थापा, स्वास्थ्यमन्त्री गिरबहादुर तामाङलगायतलाई भेटेर विरोध तथा ध्यानाकर्षण पत्र बुझाएका छन्।
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेशको स्वास्थ्य सचिव रहेकी डा. सुमित्रा गौतमलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो।
सोही बैठकले उनको स्थानमा शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत कन्सल्ट्यान्ट फिजिसियन डा. अवधेशकुमार मिश्रलाई बागमती प्रदेशमा सरुवा गर्ने निर्णय गरेको थियो। उनलाई प्रदेश स्वास्थ्य सचिवको जिम्मेवारी दिने गरी सरुवा गरिएको हो।
तर, डा. मिश्र प्रदेशमा पुग्नुअघि नै कर्मचारीहरूले उक्त निर्णयको विरोध गरेका हुन्। उनीहरूले प्रदेशभित्रै सचिव बन्न योग्य अधिकारी हुँदाहुँदै संघबाट कर्मचारी पठाउनु संघीयताको मर्मविपरीत भएको बताएका छन्।
'डा. मिश्रलाई स्वास्थ्य सचिवमा पठाउने गरी बागमती प्रदेशमा सरुवा गरिएको रहेछ। हामीले पत्र हेरिसक्यौँ। अब विरोधमा उत्रिनुको विकल्प छैन। त्यसैले आजै मुख्यमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालयलगायतका निकायमा ध्यानाकर्षण तथा विरोधपत्र बुझाएका छौँ,' मन्त्रालयका एक कर्मचारीले भने।
उनका अनुसार बागमती प्रदेश स्वास्थ्य मन्त्रालयमा सचिव बन्न योग्य एघारौँ तहका ६ जना अधिकृत कार्यरत छन्। प्रदेशकै ती अधिकृतमध्येबाट सचिव नियुक्त गर्नुपर्ने उनीहरूको माग छ।
संघबाट आउने कर्मचारीलाई सहयोग नगर्ने गरी प्रदेशका कर्मचारी एकजुट भएकोसमेत ती कर्मचारीले बताए। प्रदेशभित्रै योग्य जनशक्ति हुँदाहुँदै संघीय कर्मचारीलाई सचिव बनाएर पठाउने निर्णय स्वीकार्य नहुने उनीहरूको भनाइ छ।