मौसम परिवर्तनसँगै नाक, कान, घाँटी रोगका बिरामीहरू बढ्ने गर्छन् । गर्मी र जाडोमा देखिने इन्फेक्सनको प्रकार तथा बिरामीको प्रकृति भने फरक हुने चिकित्सकहरू बताउँछन्।
बाल्यकालदेखि नै नाक, कान, घाँटीको समस्याबारे सजग हुन नसके त्यसले गम्भीर समस्या समेत ल्याउन सक्छ। मौसम परिवर्तनसँगै नाक, कान, घाँटीका बिरामीहरू बढ्नुका कारण, हाछ्युँ आउनु सामान्य समस्या वा गम्भीर हो ?, धेरै हेडफोनको प्रयोगले कानमा ल्याउन सक्ने समस्या तथा नाक, कान, घाँटीको स्याहारका लागि के गर्न सकिन्छ भन्ने विषयमा काठमाडौं नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डा. नेहा अमात्यसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानीः
मौसम परिवर्तनसँगै नाक, कान, घाँटीका बिरामीहरू किन बढ्छन् ?
धेरैजसो मौसम परिवर्तन हुँदा, विशेषगरी चिसो मौसममा, नाक, कान, घाँटीबाट लिने श्वाससँगै आउने किटाणुहरू पनि परिवर्तन हुने गर्छन्।
चिसोले रगत सञ्चालनमा केही कमी ल्याउँछ। जसका कारण रोगसँग लड्ने क्षमता पनि घट्छ। त्यसैले मौसम परिवर्तन हुँदा नाक, कान, घाँटीका बिरामीहरू बढ्छन्।
गर्मीमा देखिने इन्फेक्सनको प्रकृति चिसोमा देखिने इन्फेक्सनभन्दा फरक हुन्छ। जुन मौसममा जस्ता किटाणु हुन्छन्, त्यसैअनुसारको इन्फेक्सन देखिने गर्छ। गर्मी मौसममा त्यस्ता किटाणुको संख्या बढ्छ भने चिसो मौसममा घट्छ।
साइनसाइटिस कस्तो समस्या हो ?
साइनसाइटिस भन्नाले पिनासको मात्रै समस्या हो भन्ने बुझिँदैन। यसलाई राइनो साइनसाइटिस भनेर बुझ्नुपर्ने हुन्छ। यो सामान्यतया एक्युट र क्रोनिक गरी दुई प्रकारको हुन्छ। एक्युट छोटो समयसम्म रहने तथा क्रोनिक लामो समयसम्म रहने समस्या हो।
रुघा बिग्रिएर कहिलेकाहीँ हुने पिनासलाई एक्युट राइनो साइनसाइटिस भनिन्छ। लामो समयदेखि एलर्जी तथा धुलो–धुवाँका कारण यस्तो समस्या हुन सक्छ। कहिलेकाहीँ इन्फेक्सन लामो समयसम्म हुँदा त्यो क्रोनिक साइनसाइटिस हुन्छ। प्रदूषणको मात्रा बढ्दो हुनु, अगरबत्तीहरूको अत्यधिक प्रयोगजस्ता कारणले पछिल्लो समय राइनो साइनसाइटिस बढ्दै गएको छ।
लगातार हाछ्युँ आउनु सामान्य समस्या हो कि गम्भीर ?
कहिलेकाहीँ लगातार हाछ्युँ आउनु गम्भीर समस्या होइन। तर दिनहुँ लगातार हाछ्युँ आउनु एलर्जिक राइनो साइनसाइटिसको समस्या हुन सक्छ।
केही क्षणका लागि धुलो–धुवाँका कारण हुने एलर्जी तथा त्यसले आउने हाछ्युँलाई गम्भीर रूपमा हेर्न आवश्यक छैन। तर लामो समयसम्म यस्तो समस्या भएमा त्यसलाई गम्भीर रूपमा लिनुपर्ने हुन्छ, जसका लागि उपचार आवश्यक पर्न सक्छ।
सुरुआतमा एलर्जीको कारण पत्ता लगाएर उपचार प्रक्रिया अगाडि बढाइन्छ। कतिपयलाई लामो समयपछि नाकमा मासु पलाउने समस्या पनि आउन सक्छ।
कान कराउने समस्यामा के कारण हुन सक्छ ?
कान कराउने समस्यामा बाहिरी तथा भित्री कानसँग सम्बन्धित विभिन्न समस्या हुन सक्छन्। कानमा फोहोर जम्नु, कानको जालीमा प्वाल हुनु, भित्री भागको हड्डीमा समस्या आउनु वा नसाहरू सुक्न थाल्नुजस्ता कारणले गम्भीर समस्या निम्तिन सक्छ। त्यसका लागि कारण पत्ता लगाउन आवश्यक हुन्छ।
लामो समयसम्म कान पाक्ने समस्याले जटिलता ल्याउँछ कि ल्याउँदैन ?
लामो समयसम्म कान पाक्ने समस्या भइरहेमा त्यसले जटिलता ल्याउन सक्छ। यस्तो समस्याका कारण नसाहरू सुक्ने समस्या समेत आउन सक्छ।
धेरै हेडफोन वा इयरफोनको प्रयोग गर्दा कानमा असर गर्छ कि गर्दैन ?
पछिल्लो अनुसन्धानअनुसार हेडफोन वा इयरफोनको प्रयोग बढ्दै गएको छ। यसरी चर्को आवाजमा नजिकबाट सुन्दा कानमा विभिन्न प्रकारका समस्या देखिन सक्छन्।
यसले बिस्तारै कान कराउने, चाँडै नसाहरू सुक्ने जस्ता समस्या निम्त्याउन सक्छ। त्यसकारण सकेसम्म हेडफोन तथा इयरफोनको अत्यधिक प्रयोग नगर्न चिकित्सकहरू सुझाव दिन्छन्।
कानको स्वास्थ्य जोगाउन के–कस्ता उपाय अपनाउने ?
बाल्यकालदेखि नै कानको समस्यामा ध्यान दिन सके पछि गम्भीर समस्या हुनबाट जोगिन सकिन्छ। कान र नाकको सम्बन्धले सानो उमेरदेखि नै शरीरमा प्रेसर मिलाउने काम गर्छ।
बच्चाहरूमा कान कोट्याउने बानी, फोहोर पानी तथा अन्य कारणले इन्फेक्सन हुने गर्छ। कहिलेकाहीँ रुघाका कारण पनि कानमा इन्फेक्सन सर्न सक्छ।
किन बारम्बार घाँटी दुख्ने समस्या हुन्छ, घाँटीको इन्फेक्सन किन हुन्छ ?
घाँटीमा विभिन्न प्रकारका टिस्युहरू हुन्छन्। घाँटी दुख्नेबित्तिकै टन्सिल भयो भन्ने आम बुझाइ छ। तर घाँटी के कारणले दुख्यो भन्ने पत्ता लगाउन एक पटक नाक, कान, घाँटी रोग विशेषज्ञलाई भेट्नुपर्ने हुन्छ।
कहिलेकाहीँ घाँटीमा खानेकुरा अड्किएर गन्हाउने तथा घाँटी दुख्ने समस्या हुन सक्छ।
आवाज बस्नु सामान्य समस्या हो ?
आवाज बस्नुका पनि धेरै कारण हुन सक्छन्। कहिलेकाहीँ मासु पलाएर पनि आवाज बस्न सक्छ। त्यस्तै चर्को आवाजमा लामो समयसम्म बोल्दा पनि आवाज बस्ने सम्भावना बढ्छ।
कस्तो प्रकारले आवाज बसेको हो, त्यसैअनुसार उपचार आवश्यक पर्छ। स्पिच थेरापीमार्फत पनि उपचार गरिन्छ।
टन्सिलाइटिस के हो, कहिले शल्यक्रिया आवश्यक हुन्छ ?
टन्सिलाइटिस धेरै प्रकारको हुने गर्छ। प्रमुख रूपमा प्यालाटाइन टन्सिललाई टन्सिलाइटिस भनेर बुझ्नुपर्ने हुन्छ। यो पनि छोटो समयदेखि हुने र लामो समयदेखि हुने गरी दुई प्रकारको हुन्छ, जसलाई एक्युट र क्रोनिक भनिन्छ।
चिकित्सककहाँ बिरामी पुगेपछि टन्सिलको अवस्था हेरेर उपचार गरिन्छ। यदि बारम्बार टन्सिलको समस्या भइरहेमा त्यसलाई निकाल्नुपर्ने हुन सक्छ। त्यस्तै टन्सिलका कारण घुर्ने समस्या आएमा पनि चिकित्सकले शल्यक्रियामार्फत टन्सिल निकाल्ने सल्लाह दिन्छन्।
घाँटी स्वस्थ राख्न के–कस्ता बानी अपनाउने ?
घाँटी स्वस्थ राख्न जिब्रो सफा गर्नुपर्ने हुन्छ। साथै दन्त स्वास्थ्यमा ध्यान दिनुपर्छ। खाना खाइसकेपछि कुल्ला गर्ने बानीले पनि घाँटी स्वस्थ राख्न सहयोग गर्छ।
घाँटीको समस्या लिएर अस्पताल आउने धेरै बिरामीमा ग्यास्ट्रिकको समस्या समेत देखिने गरेको छ। त्यसकारण घाँटी स्वस्थ राख्न खानपानमा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ।