काठमाडौं- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पास) का नयाँ पदाधिकारी नियुक्त भएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शिक्षाध्यक्ष (रेक्टर), रजिस्ट्रार, दुई डीन र अस्पताल निर्देशक नियुक्त गरेको हो।
सहकुलपति तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले शिक्षाध्यक्षमा डा. बाबुराजा महर्जन, रजिस्ट्रारमा डा. अरुण शाही, स्कुल अफ मेडिसिनको डीनमा डा. आशिष श्रेष्ठ, स्कुल अफ नर्सिङ एन्ड मिडवाइफरीको डीनमा शोभालक्ष्मी बज्राचार्य र अस्पताल निर्देशकमा डा. सन्तवीर महर्जनलाई नियुक्त गरेकी हुन्।
नवनियुक्त पदाधिकारीलाई बुधबार बिहान १० बजे सपथका लागि मन्त्रालयमा बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ।
प्रतिष्ठानले एक साताअघि सम्बन्धित पदका लागि तीन–तीन जनाको नाम मन्त्रालयमा पठाएको थियो। तीमध्येबाट मन्त्री मेहताले एक–एक जनालाई नियुक्त गरेकी हुन्।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा भने डा. नवीसमान सिंह प्रधान यसअघि नै नियुक्त भइसकेका छन्।
न्याम्सका पदाधिकारीको सूची पनि मन्त्रालयमा
यसैबीच, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारी नियुक्तिका लागि पनि तीन–तीन जनाको नाम समावेश गरिएको सूची मन्त्रालय पुगेको छ।
न्याम्सका उपकुलपति डा. विवेक आचार्यले मंगलबार साँझ पदाधिकारीका सम्भावित उम्मेदवारहरूको सूची मन्त्रालयमा बुझाएका हुन्।
मन्त्रालय स्रोतका अनुसार न्याम्सका पदाधिकारीको नियुक्ति पनि एक–दुई दिनभित्रै गरिने तयारी छ।