अछाम- अछाम जिल्लामा अवस्थित बयालपाटा प्रादेशिक अस्पतालमा पहिलोपटक सात जना विशेषज्ञ डाक्टरले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्। प्रादेशिक अस्पतालको रूपमा स्तरोन्नति भएसँगै अस्पतालमा विभिन्न विधाका सात जना विशेषज्ञ डाक्टरले सेवा दिन थालेका हुन्।
विगतका वर्षहरूमा हाडजोर्नी र कहिलेकाहीँ एमडीजीपी विशेषज्ञ डाक्टरले मात्र सेवा दिने गरेका थिए। सुदूरपश्चिमको दुर्गम पहाडी क्षेत्रमा एकैपटक सात जना विशेषज्ञ डाक्टर आएर सेवा दिएको यो पहिलोपटक हो।
१. अर्थोपेडिक सर्जन तथा अन्कोलोजी विशेषज्ञ डा. मन्दीप पाठक
सात जना विशेषज्ञ डाक्टरमध्ये हाडजोर्नी तथा हड्डीको क्यान्सरको समेत उपचार गर्ने अस्पतालका कार्यकारी निर्देशक डा. मन्दीप पाठक हुन्। डा. पाठक यस अस्पतालमा एक दशकदेखि कार्यरत छन्। काठमाडौँ विश्वविद्यालयबाट एमबीबीएस पूरा गरी फिलिपिन्सबाट अर्थोपेडिक्समा रेसिडेन्सी सकेका डा. पाठकले मलेसियाबाट अर्थोपेडिक अन्कोलोजीमा फेलोसिपसमेत गरेका छन्।
२. अर्थोपेडिक सर्जन डा. विश्वबन्धु निरौला
यस्तै अर्का अर्थोपेडिक सर्जन हुन् डाक्टर विश्वबन्धु निरौला। भारतको प्रतिष्ठित शैक्षिक संस्था 'अखिल भारतीय आयुर्विज्ञान संस्थान' (एम्स) बाट हाडजोर्नीमा विशेषज्ञता हासिल गरेका डा. निरौलाले काठमाडौँस्थित बी एन्ड बी अस्पतालमा ट्रमा फेलोसिप पूरा गरेका छन्।
३. जनरल सर्जन डा. सरोज ढुङ्गाना
पोखरा, कास्की घर भएका जनरल सर्जन डाक्टर सरोज ढुङ्गानाले चितवन मेडिकल कलेजबाट जनरल सर्जरीमा विशेषज्ञता हासिल गरेका हुन्। यसअघि घोडाघोडी अस्पताल, कैलालीमा काम गरेको अनुभव भएका डा. ढुङ्गाना विगत एक वर्षदेखि बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत छन्।
४. जनरल फिजिसियन डा. सञ्जीव जोशी
गण्डकी मेडिकल कलेज, पोखराबाट जनरल फिजिसियनमा विशेषज्ञता हासिल गरेका डा. सञ्जीव जोशी विगत एक वर्षदेखि बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत छन्। काठमाडौँ घर भएका डा. जोशीसँग यसअघि सेती प्रादेशिक अस्पतालमा काम गरेको अनुभव छ।
५. स्त्रीरोग विशेषज्ञ डा. जयनाथ चौधरी
स्त्रीरोग विशेषज्ञ डाक्टर जयनाथ चौधरीले मणिपाल अस्पताल, पोखराबाट स्त्रीरोगमा विशेषज्ञता हासिल गरेका छन्। जनकपुर घर भएका डा. चौधरीसँग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन एकेडेमी अफ हेल्थ साइन्सेज), ललितपुरमा काम गरेको अनुभव छ। उनी विगत एक वर्षदेखि बयालपाटामा कार्यरत छन्। बयालपाटामा उहाँको नेतृत्वको टिमले १८ वटा ठूला शल्यक्रिया गरिसकेको छ।
६. बालरोग विशेषज्ञ डा. जनक पाठक
कान्ति बाल अस्पतालबाट बालरोगमा विशेषज्ञता हासिल गरेका डा. जनक पाठक पनि बयालपाटा प्रादेशिक अस्पतालमा कार्यरत छन्। अछाम जिल्लामा लामो समयदेखि बालबालिकाको उपचारमा समस्या हुँदा धनगढी वा सुर्खेत जानुपर्ने बाध्यता थियो। डा. पाठकको आगमनसँगै जिल्लाबाहिर जानुपर्ने बाध्यता कम हुने विश्वास गरिएको छ। पाल्पा घर भएका डा. पाठकले स्थानीय तहमा सहज सेवा पुर्याउँदै आएका छन्।
७. एनेस्थेसियोलोजी विशेषज्ञ डा. दीपक ढकाल
बयालपाटा प्रादेशिक अस्पतालमा एनेस्थेसियोलोजिस्टका रूपमा डा. दीपक ढकाल कार्यरत छन्। कैलाली घर भएका डा. ढकालसँग सेती प्रादेशिक अस्पताल, धनगढीमा काम गरेको अनुभव छ। उनले न्याम्स, वीर अस्पतालबाट एनेस्थेसियोलोजीमा एमडी गरेका हुन्।
एक वर्षको अवधिमा ७४५ ठूला सफल शल्यक्रिया
बयालपाटा प्रादेशिक अस्पतालमा एक वर्षको अवधिमा ७ सय ४५ वटा मेजर सर्जरी (ठूला शल्यक्रिया) भएका छन्। जनरल सर्जरी, प्रसूतिरोग तथा हाडजोर्नीसम्बन्धी समस्यामा उक्त संख्यामा शल्यक्रिया भएका हुन्।
अस्पताल प्रादेशिक संरचनामा आएको एक वर्ष पूरा भएसँगै भएका शल्यक्रियामध्ये धेरैजसो हाडजोर्नीका रहेका छन्। दुर्गम क्षेत्रमा भिरपहरा र चोटपटकका घटना धेरै हुने भएकाले पनि हाडजोर्नीका शल्यक्रिया बढी भएको अर्थोपेडिक सर्जन डा. विश्वबन्धु निरौलाले बताए। दुर्गममा असम्भवजस्तै मानिने कतिपय जटिल बिरामीको पनि सफल शल्यक्रिया गरिएको उनले जानकारी दिए। अस्पतालका अनुसार चालु आर्थिक वर्ष २०८३ साउन १ देखि असोज ४ गतेसम्म मात्रै थप १३४ वटा शल्यक्रिया भइसकेका छन्।