सर्केगाड (हुम्ला)- कर्णालीको भूगोलमा आधारभूत स्वास्थ्य सेवा पाउनु अझै पनि एउटा ठूलो चुनौतीको विषय बनेको छ। हुम्लाको सर्केगाड जस्ता दुर्गम क्षेत्रका नागरिकका लागि सामान्य उपचारका लागि पनि घण्टौँ वा दिनौँको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।
यही भौगोलिक विकटता र स्वास्थ्य सेवाको खाडललाई पुर्न न्याय हेल्थ नेपालले एउटा एकीकृत र आशालाग्दो पहल सुरु गरेको छ।
न्याय हेल्थ नेपालले सर्केगाड- ४ स्थित साया स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी, स्थानीय शिक्षक र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूका लागि दुई दिने सघन तालिम सम्पन्न गरेको छ।
विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक सहयोग र स्कुनर फाउन्डेसनको आर्थिक सहयोगमा दुई दिने तालिम प्रदान गरिएको हो।
तालिममा विशेषगरी तीनवटा क्षेत्र- मानसिक स्वास्थ्य, नसर्ने रोग र पोषणलाई प्राथमिकता दिइएको छ।
न्याय हेल्थ नेपालका कार्यक्रम तथा साझेदारी निर्देशक सृजना देवकोटा भन्छन् 'हाम्रो लक्ष्य हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा संगै आफ्नो स्वास्थ्यप्रति सचेत बनाउनु हो। देशका दुर्गम क्षेत्रमा १७ वर्षसम्म काम गरेको अनुभवलाई हामीले अहिले हुम्लाको स्वास्थ्य सुधार गर्ने प्रयासको थालनी गरेका छौं।'
स्थलगत अनुभवले के देखाउँछ भने तालिम मात्र पर्याप्त छैन, त्यसलाई कार्यान्वयन गर्न आवश्यक उपकरणको पनि उत्तिकै खाँचो पर्छ। यसैलाई मध्यनजर गर्दै साया स्वास्थ्य चौकीलाई एक थान अल्ट्रासाउन्ड मेसिन हस्तान्तरण गरिएको छ।
यसअघि सामान्य भिडियो एक्सरेका लागि पनि चार घण्टा हिँडेर जिल्ला अस्पताल वा दुई दिन लगाएर सुर्खेत पुग्नुपर्ने बाध्यता थियो।
अब गाउँमै यो सेवा उपलब्ध भएपछि उच्च जोखिमयुक्त गर्भधारणको प्रारम्भिक पहिचान हुने, जटिल बिरामीको तत्काल क्लिनिकल निर्णय लिन सहज हुने, अकाल मृत्यु दर घट्ने र खर्चिलो यात्राको बोझ हट्ने अपेक्षा गरिएको छ।
तालिमले स्वास्थ्यकर्मी मात्र होइन, शिक्षा क्षेत्रमा पनि नयाँ ऊर्जा थपेको छ। हिमज्योति माध्यमिक विद्यालयकी प्रधानाध्यापक कल्पना बुढाथोकी रोकायाका अनुसार विद्यालय स्तरमा छात्राहरूमा देखिने मानसिक स्वास्थ्य चुनौती पहिचान गर्न अब शिक्षकहरू सक्षम भएका छन्।
स्वास्थ्य चौकी इन्चार्ज बवरजंग पाल र डा. ईश्वरी पौडेलले तालिम र नयाँ प्रविधिको संयोजनले दैनिक उपचार पद्धतिमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गर्नुभएको छ।
तालिमको सहजीकरण डा. अरुणा उप्रेती, मनोचिकित्सक डा. केदार मरहट्टा र डा. लोनिम दिक्षितले गर्नुभएको थियो।
अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरू नै समुदायका मेरुदण्ड भएको उल्लेख गर्दै न्याय हेल्थ नेपालले तल्लो तहदेखि नै सरकारी स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने, अग्रपंक्तिको क्षमता बढाउने र आधुनिक उपचार उपकरणमा लगानी गर्ने रणनीति बनाएको छ।
नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य असमानता घटाउने सबैभन्दा प्रभावकारी र दिगो समाधान हुने अपेक्षा संस्थाले गरेको छ।
विगत १७ वर्षदेखि न्याय हेल्थ नेपालले गुणस्तरीय स्वास्थ्य सेवा र डिजिटल हेल्थ प्रणालीमार्फत स्वास्थ्य क्षेत्रमा रूपान्तरणकारी कार्य गर्दै आएको छ। न्याय हेल्थ नेपालको यो प्रयासले हुम्लाका नागरिकमा राज्यको स्वास्थ्य सेवाप्रति नयाँ भरोसा जगाएको छ।