अछाम- ३१ वर्षीय गोरख कामी २०८३ असार ११ गते बिहान आफ्नै परिवारका लागि नयाँ घर बनाउने उत्साहमा थिए। कर्णाली प्रदेशको हुम्ला जिल्ला, खार्पुनाथ गाउँपालिका–५ स्थित ताक्ला गाउँका गोरखको हातमा काठ चिर्ने मेसिन थियो। आफ्ना छोराछोरीलाई ओत लाग्ने ओडार र भविष्यको सपना बुन्दै गर्दा एकाएक जीवनको गति बदलियो। अचानक मेसिन फर्कियो र उनको दाहिने हातको नाडी गम्भीर रूपमा काटियो। एकैछिनमा घर निर्माणको त्यो खुसी अकल्पनीय पीडामा परिणत भयो।
तर, गोरखको वास्तविक संघर्ष त दुर्घटनापछि मात्र सुरु भयो- जहाँ सडक, शिक्षा र स्वास्थ्य सेवाको पहुँच अझै पनि आकाशको फलजस्तै छ। नेपालको दुर्गम क्षेत्रमा दुर्घटना हुनुभन्दा ठूलो चुनौती अस्पतालसम्म पुग्नु हो। आर्थिक रूपमा सक्षम परिवारले हवाईजहाज चढेर तत्काल सुर्खेत वा नेपालगञ्ज पुग्न सक्छन्, तर गोरखजस्ता गरिब परिवारका लागि त्यो विकल्प केवल कल्पना मात्र बन्छ।
सामान्य उपचारका लागि पनि घण्टौँ होइन, दिनौँ पैदल हिँड्नुपर्ने बाध्यता यहाँका नागरिकको दैनिकी हो। जटिल बिरामीका लागि त समयमै जिल्ला बाहिर पुग्न सके जीवन बच्ने आशा रहन्छ, नसके मृत्युलाई पर्खिनुको विकल्प हुन्न। गोरख कामीको कथा यही कठोर जनस्वास्थ्य यथार्थको ऐना हो।
दुर्घटनापछि उनलाई अस्पताल पुर्याउने घरमा कोही पुरुष थिएनन्। घरमा श्रीमती र पाँच जना साना छोराछोरी मात्र थिए। दुर्घटनाको खबर पाएपछि छिमेकी गाउँबाट साढुभाई रमेश विश्वकर्मा आइपुगे। उनले एक दिन लगाएर गोरखलाई पैदलै जिल्ला अस्पताल सिमकोट पुर्याए।
सिमकोटको स्वास्थ्य अवस्था स्मरण गर्दै रमेश भन्छन्, 'डाक्टरले हातका नसा काटिएका छन्, यहाँ उपचार सम्भव छैन, तत्काल बयालपाटा लैजानुपर्छ भने।'
अस्पतालले रिफर त गरिदियो, तर गोरखको अगाडि अर्को पहाडजत्रो प्रश्न उभियो- बयालपाटा कसरी पुग्ने?
उपचारभन्दा पहिले यात्राको खर्च जुटाउनु गोरखका लागि सबैभन्दा ठूलो चुनौती बन्यो। खेतीपातीबाट मुस्किलले वर्षभरि परिवार पाल्ने उनको आर्थिक अवस्थाले यस्तो भैपरी आउने खर्च धान्ने कुरै थिएन। 'गाउँका छिमेकीहरूले ऋण–पत्यार र सहयोग नगरेका भए साढुभाइलाई बयालपाटासम्म ल्याउन सम्भव नै हुने थिएन,' रमेशले विगत सम्झिए।
छिमेकीको त्यही मानवीय सहयोगको आडमा एक दिन पैदल यात्रा, र त्यसपछि दुई वटा गाडी परिवर्तन गर्दै चार दिनको कठिन यात्रा पार गरेर उनीहरू अछामको बयालपाटा प्रादेशिक अस्पताल पुगे। त्यहाँसम्म पुग्दा मात्रै उनको थाप्लोमा ३५ हजार रुपैयाँ ऋणको भार थपिइसकेको थियो।
बयालपाटामा जटिल शल्यक्रिया
बयालपाटा पुग्दा गोरखको दाहिने हातको नाडीको घाउ निकै बिग्रिसकेको थियो। हात चलाउन सहयोग गर्ने महत्वपूर्ण 'टेन्डन' (मांसपेशी र हड्डी जोड्ने तन्तु) काटिएको थियो भने हड्डीमा समेत चोट देखिएको थियो।
शल्यक्रियाको नेतृत्व गरेका हाडजोर्नी विशेषज्ञ डा. विश्वबन्धु निरौला भन्छन्, 'यस्ता खुला घाउ र टेन्डनको चोट लामो समयसम्म उपचारबिना रह्यो भने गम्भीर संक्रमण हुने र हातको कार्यक्षमता स्थायी रूपमा गुम्ने (अपाङ्गता हुने) उच्च जोखिम हुन्छ।'
डा. निरौलाका अनुसार बयालपाटा आइपुगेलगत्तै गोरखको तत्काल 'डिब्राइडमेन्ट' (घाउ सफा गर्ने शल्यक्रिया) र 'टेन्डन रिपेयर' (क्षतिग्रस्त टेन्डन मर्मत) सफलतापूर्वक सम्पन्न गरियो। शल्यक्रियापछि चार दिनसम्म नियमित उपचार र सघन निगरानीमा राखिएका गोरखको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि शनिबार उनलाई डिस्चार्ज गरिएको छ।
'अब करिब चार हप्तासम्म हातलाई सुरक्षित राख्नुपर्छ। त्यसपछि विस्तारै फिजियोथेरापी र हात चलाउने अभ्यास सुरु गराइनेछ,' डा. निरौलाले आगामी उपचार प्रक्रियाबारे प्रष्ट्याए। गोरख निकै टाढा र दुर्गम क्षेत्रका बिरामी भएकाले घर फर्किएपछि पनि उपचार प्रक्रिया नटुटोस् भनी टेलिफोनमार्फत नियमित परामर्श दिइरहने डा. निरौलाले प्रतिवद्धता जनाए।
दुर्गमको सीमित स्रोत-साधनबीच यस्तो जटिल अप्रेसन गर्नु आफैँमा चुनौतीपूर्ण रहेको चिकित्सकहरू स्वीकार्छन्। डा. निरौला भन्छन्, 'यस्ता खालका अप्रेसन दुर्गम ठाउँमा सम्भव पार्न निकै कठिन छ। बयालपाटामा पनि सीमित स्रोत-साधन छ। वास्तवमा यो ठूला सहर, जहाँ सबै सुविधा छ, त्यहाँ रेफर गर्नुपर्ने 'केस' हो। तर, बिरामीसँग अर्को विकल्प नभई यहाँ आइसकेपछि हामीले सक्दो प्रयास गरेका हौँ। यस्तो खालको अप्रेसन बयालपाटामा यो सहित दोस्रो पटक मात्र सफल भएको हो।'
भौगोलिक दूरी पार गरेर अस्पताल आइपुगेका गोरखको अर्को ठूलो युद्ध आर्थिक अवस्थासँग थियो। तर, बयालपाटा अस्पताल प्रशासनले उनको कमजोर आर्थिक स्थितिलाई मध्यनजर गर्दै 'सामाजिक सेवा एकाइ' मार्फत उपचार खर्चमा पूर्ण सहुलियत प्रदान गर्यो। अस्पतालको यही कल्याणकारी नीतिले गोरखको उपचारलाई बिनाअवरोध सहज बनाइदियो।
केवल एक पात्र, साझा नियति
चार दिनको अस्पताल बसाई र जटिल शल्यक्रियापछि गोरख आफ्नो हात जोगिएको खुसीमा ओठभरी मुस्कानसहित घर फर्किएका छन्। आफ्नो अपाङ्ग हुन लागेको हात बचाइदिएकोमा उनी चिकित्सक, स्वास्थ्यकर्मी र सहयोग गर्ने सबैप्रति शब्दमा व्यक्त गर्न नसकिने गरी कृतज्ञ छन्।
तर, गोरखको यो कथा केवल एक व्यक्तिको सुखद अन्त्य भएको घटना मात्र होइन। यो नेपालको कर्णाली र दुर्गम भूभागमा बस्ने हजारौँ नागरिकको साझा नियति र दुरुह यथार्थ हो। जहाँ बिरामी हुनु भनेको रोगसँग मात्र लड्नु होइन, बरु गरिबी, कठोर भूगोल, यातायातको अभाव र राज्यको स्वास्थ्य प्रणालीको शून्यतासँग पनि लड्नु हो।
यिनै चुनौतीका बीच अछामको बयालपाटा प्रादेशिक अस्पताल दुर्गमका विपन्न नागरिकका लागि विशेषज्ञ स्वास्थ्य सेवाको एउटा बलियो भरोसाको केन्द्र बन्दै गएको छ। सामाजिक सेवा एकाइमार्फत आर्थिक सहुलियत, विशेषज्ञ सेवा, शल्यक्रिया र डिस्चार्जपछिको फलोअप परामर्श दिएर अस्पतालले दुर्गमका नागरिकको जीवनमा आशाको दीप त जलाएको छ। गोरख कामीको हात त बच्यो, तर उनको आँखामा देखिएको राहत मिश्रित तिक्तताले हाम्रो राज्य व्यवस्थामाथि एउटा गम्भीर जनस्वास्थ्य प्रश्न छोडेर गएको छ- नेपालका दुर्गम जिल्लाका नागरिकले सामान्य उपचार पाउनका लागि अझै कति पुस्तासम्म यसरी नै जीवनको बाजी लगाइरहनुपर्ने हो?