काठमाडौं- मुटुको शल्यक्रियामा बिरामीको जीवन र मृत्युबीचको सबैभन्दा संवेदनशील क्षणमा शल्यक्रिया टोलीसँगै उभिने चिकित्सक हुन् एनेस्थेसियोलोजिस्ट। उनीहरूको भूमिका धेरैजसो पर्दा पछाडि हुन्छ, तर बिरामी सुरक्षित राख्ने जिम्मेवारीको केन्द्रमा उनीहरू नै हुन्छन्। यिनै पर्दा पछाडिका अनुभवी चिकित्सकमध्ये एक हुन् प्रा. डा. आशिष गोविन्द अमात्य, जसले अब नेपालकै विशिष्ट मुटुरोग उपचार संस्था शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहेतासमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै प्रा.डा. अमात्य गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक बनेका छन्। लामो समयदेखि यही संस्थामा सेवा गर्दै आएका उनी एनेस्थेसिया विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेका थिए। अब उनको काँधमा अपरेशन थिएटरको जिम्मेवारी मात्र होइन, देशको सबैभन्दा ठूलो मुटु उपचार संस्थाको समग्र नेतृत्वको दायित्व पनि आएको छ।
ललितपुरको कुपण्डोलमा जन्मिएका उनले प्रारम्भिक शिक्षा सेन्ट जेभियर्स स्कुलबाट, एसएलसी बुढानीलकण्ठ विद्यालयबाट र उच्च माध्यमिक शिक्षा भारतको प्रतिष्ठित लरेन्स स्कुल, सनावरबाट पूरा गरे। त्यसपछि बंगलादेश मेडिकल कलेजबाट सन् २००२ मा एमबीबीएस अध्ययन सम्पन्न गरे।

नेपाल फर्किएपछि उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा इन्टर्नसिप र मेडिकल अधिकृतका रूपमा सेवा दिए। त्यसपछि महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एनेस्थेसियोलोजीमा एमडी पूरा गर्दै आफ्नो विशेषज्ञता बढाए। एमडीपछि उनी शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा रजिष्ट्रारका रूपमा आबद्ध भए र दुई दशकभन्दा बढी समय यही संस्थाको विकाससँग जोडिए।
गंगालालमा कार्यरत रहँदा उनले मलेसियाको इन्स्टिच्युट जान्तुङ नेगारामा कार्डियोथोरासिक तथा भास्कुलर एनेस्थेसियामा फेलोसिप गरे। त्यसपछि इकोकार्डियोग्राफी र एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन अक्सिजेनेसन (ईसीएमओ) सम्बन्धी अन्तर्राष्ट्रिय फेलोसिप पनि हासिल गरे। यी अध्ययनले उनलाई मुटु शल्यक्रिया तथा क्रिटिकल केयर क्षेत्रमा नेपालका अग्रणी विशेषज्ञमध्ये एक बनाएको छ।

कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट तथा विभागीय प्रमुखका रूपमा उनले वार्षिक करिब २,५०० देखि ३,००० सम्मका मुटु शल्यक्रियामा प्रत्यक्ष भूमिका निर्वाह गरेका छन्। ओपन हर्ट सर्जरी, भल्भ प्रतिस्थापन, धमनीको शल्यक्रिया, जन्मजात मुटुरोगको उपचार, ट्रान्सइसोफेजियल इकोकार्डियोग्राफी, अल्ट्रासाउन्ड–निर्देशित भास्कुलर एक्सेसदेखि जटिल क्रिटिकल केयर व्यवस्थापनसम्म उनको अनुभव फैलिएको छ।
उनको योगदान उपचारमा मात्र सीमित छैन। उनले एनेस्थेसिया सेवाको गुणस्तर सुधार, नयाँ जनशक्ति उत्पादन, पाठ्यक्रम विकास, अनुसन्धान र चिकित्सक प्रशिक्षणमा पनि नेतृत्वदायी भूमिका खेलेका छन्। उनी हाल राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)मा प्राध्यापकसमेत छन् र कार्डियोथोरासिक एनेस्थेसियासम्बन्धी फेलोसिप तथा डीएम कार्यक्रम विकासमा संलग्न छन्।
अनुसन्धानमा पनि उनको सक्रिय उपस्थिति देखिन्छ। रक्त व्यवस्थापन, कार्डियाक सर्जरी, क्रिटिकल केयर, कोभिड–१९, मधुमेह तथा एनेस्थेसिया प्रविधिसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा उनका अनेकौं अनुसन्धान प्रकाशित छन्। उनले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालका अनुभव प्रस्तुत गर्दै देशको चिकित्सा क्षेत्रलाई विश्वमञ्चमा चिनाउने काम पनि गरेका छन्।
गंगालाल राष्ट्रिय हृदय केन्द्रले पछिल्ला वर्षहरूमा मुटुरोग उपचारको पहुँच विस्तार, जटिल शल्यक्रिया र विशेषज्ञ सेवा विकासमा उल्लेखनीय प्रगति गरेको छ। यस्तो समयमा संस्थाको नेतृत्व सम्हाल्न आएका प्रा.डा. अमात्यका लागि सेवा विस्तारसँगै गुणस्तर, सुशासन, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनलाई थप सुदृढ बनाउने चुनौती छ।
अपरेशन थिएटरभित्र शान्त स्वभाव, सूक्ष्म निर्णय क्षमता र टोलीगत नेतृत्वका लागि परिचित प्रा.डा. अमात्य अब प्रशासनिक नेतृत्वको अग्रपंक्तिमा उभिएका छन्। बिरामीको जीवन सुरक्षित राख्ने जिम्मेवारीबाट सुरु भएको उनको यात्रा अब नेपालको मुटु उपचार प्रणालीलाई अझ सुदृढ बनाउने जिम्मेवारीमा रूपान्तरण भएको छ।