कटारी प्रादेशिक अस्पतालमा केही समयअघि देखिएको चिकित्सक तथा स्वास्थ्यकर्मीमाथिको दुव्र्यवहारसम्बन्धी विवाद केवल एउटा स्थानीय घटना थिएन । यो घटना उदयपुरको पश्चिमी भेग मात्र होइन, समग्र नेपालको सार्वजनिक स्वास्थ्य प्रणालीभित्र लामो समयदेखि जम्दै आएको असन्तुलन, अविश्वास र संरचनागत कमजोरीहरूको सतहमा आएको एउटा स्पष्ट झिल्को थियो ।
बाहिरबाट हेर्दा यो अस्पताल प्रशासन र सेवाग्राहीबीच उत्पन्न सामान्य विवाद जस्तो देखिन सक्छ । तर मेरो दृष्टिले यस घटनालाई गहिराइमा हेर्दा यो केवल भावनात्मक प्रतिक्रिया वा तत्कालको असन्तुष्टिको परिणाम मात्र होइन, बरु स्वास्थ्य सेवामा बढ्दो अपेक्षा, सीमित स्रोतसाधन, कमजोर व्यवस्थापन र एउटा अराजक समूहबीचको टकराव हो भन्ने स्पष्ट देखियो । त्यसमा निजी क्षेत्रमा रमाउने र सरकारी क्षेत्रलाई सधैँ स्वार्थका लागि प्रयोग गर्ने समूह प्रदर्शनमा थियो ।
विवाद चर्किएपछि अवस्था थप जटिल नबनोस् भनेर सरोकारवाला सबै पक्ष सक्रिय भए । स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, सञ्चार माध्यम, सुरक्षा निकाय र अस्पताल प्रशासनबीच निरन्तर संवाद सुरु गरियो । यही संवादको शृङ्खला अन्ततः गत जेठ २० गते कटारीस्थित उद्योग वाणिज्य संघको सभाहलमा बसेको सर्वदलीय बैठकसम्म पुग्यो । त्यो बैठक केवल औपचारिक जमघट थिएन, बरु संकट व्यवस्थापनको एउटा महत्वपूर्ण अभ्यास थियो, जुन सकारात्मक थियो ।
नेपालका धेरै सार्वजनिक संस्थाहरूमा यस्ता विवादहरू प्रायः संवादभन्दा पहिले नै सडक आन्दोलन, आरोप–प्रत्यारोप वा राजनीतिक ध्रुवीकरणमा रूपान्तरण हुने गर्छन् । तर कटारीमा भने विवादलाई संस्थागत संवादमार्फत समाधान गर्ने प्रयास हुनु आफैंमा एउटा सकारात्मक अभ्यास हो । यसले तत्कालको तनावलाई नियन्त्रणमा ल्यायो र अस्पताललाई पुनः सेवा सञ्चालनको सामान्य अवस्थामा फर्काउन सहयोग गर्यो ।
उक्त सर्वदलीय बैठकमा संघीय संसद्का प्रतिनिधि तथा उदयपुर–२ का सांसद सूर्यबहादुर लामाले गत जेठ ११ गते अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारप्रति सार्वजनिक रूपमा माफी मागे । उनले संसद्को तर्फबाट घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै स्वास्थ्यकर्मीको सम्मान र सुरक्षालाई राज्यको प्राथमिक जिम्मेवारीका रूपमा लिनुपर्ने आवश्यकता औँल्याए ।
उनको भनाइमा माफी केवल औपचारिक शब्द थिएन, बरु राज्यका प्रतिनिधिबाट आएको आत्मसमीक्षात्मक स्वीकारोक्ति पनि थियो । माफीले तत्कालको भावनात्मक तनाव कम गर्न सक्छ, तर संरचनागत समस्या समाधान गर्न सक्दैन भन्ने यथार्थ यहाँ पनि उत्तिकै स्पष्ट देखिन्छ ।
कटारी प्रादेशिक अस्पताल पश्चिम उदयपुरको प्रमुख स्वास्थ्य संस्था हो । कटारी, ताप्ली, उदयपुरगढी तथा सिन्धुलीको दुधौली, खोटाङ र ओखलढुङ्गासम्मका हजारौं नागरिकका लागि यो अस्पताल पहिलो र अन्तिम भरोसाको केन्द्र हो । तर यही अस्पताल वर्षौंदेखि सीमित जनशक्ति, अपर्याप्त उपकरण, कमजोर पूर्वाधार र बढ्दो बिरामी चापबीच सेवा दिन बाध्य छ । यस्तो अवस्थामा सेवाग्राहीको अपेक्षा र अस्पतालको क्षमता बीच असन्तुलन हुनु स्वाभाविक हो । यही असन्तुलन कहिलेकाहीँ असन्तुष्टिमा, र असन्तुष्टि चरम अवस्थामा विवादमा परिणत हुने गर्छ । कटारी अस्पतालको पछिल्लो घटना पनि यही संरचनात्मक असन्तुलनको प्रतिफल हो । त्यसमा केही अराजक समूहले फाइदा लिन खोज्दा विवादमा परिणत भएको थियो ।
विवादपछि भएको सर्वदलीय छलफलले केही महत्वपूर्ण सहमति निर्माण गरेको छ । सबै पक्षले अस्पताललाई सुधार गर्दै लैजाने, चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्ने र अस्पतालको सेवा गुणस्तर बढाउने प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता कागजमा सीमित नभई व्यवहारमा उतार्न सकिए मात्र यसको अर्थ रहनेछ ।
अस्पताल विकास समितिका अध्यक्ष गौरबहादुर विश्वकर्माका अनुसार अहिले अस्पतालको सेवा सामान्य अवस्थामा सञ्चालन भइरहेको छ र सुधारका विभिन्न कामहरू अघि बढिरहेका छन् । त्यस्तै मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साह चालु आर्थिक वर्षसम्म अस्पतालमै निरन्तर कार्यरत रहने सहमतिअनुसार सेवा दिइरहेका छन् । विवादपछि सुरक्षाको कारण देखाउँदै अस्पताल छोडेका मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साह पुनः फर्केर काम गर्न सुरु गरेका छन्, जुन राम्रो पक्ष हो । तर मेडिकल सुपरिटेन्डेन्ट साहले आफूमाथि अझै न्याय नभएको दुखेसो राख्दै आएका छन्, जुन दुःखद कुरा हो । त्यसको बारेमा अस्पताल व्यवस्थापन समितिले अलि ध्यान दिए हुने थियो ।
नेतृत्वको निरन्तरता कुनै पनि सार्वजनिक संस्थाका लागि अत्यन्त महत्वपूर्ण पक्ष हो । विशेषगरी स्वास्थ्य संस्थामा, जहाँ दैनिक आपतकालीन सेवा, निर्णय प्रक्रिया र व्यवस्थापकीय समन्वय निरन्तर आवश्यक हुन्छ, त्यहाँ नेतृत्व परिवर्तनले सेवा प्रवाहमा असर पार्न सक्छ । त्यसैले हालको सहमतिलाई अस्पतालको स्थायित्वका दृष्टिले सकारात्मक संकेतका रूपमा लिन सकिन्छ । तर पत्रकारको नजरमा प्रश्न फेरि पनि उही रहन्छ– के यो स्थायित्व दीर्घकालीन सुधारमा रूपान्तरण हुन्छ कि केवल अस्थायी शान्ति मात्र हो ?
सर्वदलीय बैठकमा उठेको अर्को महत्वपूर्ण विषय अस्पताललाई भविष्यमा नर्सिङ कलेजका रूपमा विकास गर्ने प्रस्ताव थियो । यदि यो प्रस्ताव कार्यान्वयनमा जान्छ भने यो केवल अस्पतालको स्तर उन्नति मात्र होइन, सम्पूर्ण पश्चिम उदयपुरको शैक्षिक तथा स्वास्थ्य विकासको आधार बन्न सक्छ ।
तर नेपालमा योजना र कार्यान्वयनबीचको दूरी लामो र जटिल छ । धेरै योजनाहरू प्रारम्भिक चरणमा उत्साहपूर्ण देखिन्छन्, तर समयसँगै स्रोत, राजनीतिक इच्छाशक्ति र प्रशासनिक कमजोरीका कारण हराउने प्रवृत्ति देखिन्छ । त्यसैले यो प्रस्ताव अहिले सम्भावनाको रूपमा जति महत्वपूर्ण छ, त्यति नै चुनौतीपूर्ण पनि छ ।
बैठकमा सहभागी सबै पक्षले चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए । स्वास्थ्यकर्मी सुरक्षित नभएसम्म गुणस्तरीय सेवा सम्भव छैन भन्ने कुरामा सबै सहमत देखिनु सकारात्मक पक्ष हो । तर सुरक्षा केवल मौखिक प्रतिबद्धताले होइन, स्पष्ट प्रोटोकल, कानुनी कार्यान्वयन र व्यवहारिक व्यवस्थापनबाट मात्र सुनिश्चित हुन सक्छ । त्यसमा कसैको पनि ध्यान गएको देखिएन ।
अस्पतालभित्र सेवा प्रवाह सुधार गर्न उपकरण, जनशक्ति र पूर्वाधार सुधार अनिवार्य छ । अहिलेको संरचनामा बढ्दो बिरामी चापले अस्पताललाई निरन्तर दबाबमा राखेको छ । यसले कहिलेकाहीँ सेवा प्रवाहमा ढिलाइ, असन्तुष्टि र विवाद सिर्जना गर्ने अवस्था बनाउँछ ।
विवादपछि अस्पताल प्रशासन, स्थानीय सरकार र सरोकारवाला पक्षबीच देखिएको सहकार्यले केही आशा जगाएको छ । संवादको संस्कृति बलियो हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हो, किनकि धेरै विवादहरू संवादको अभावमै झन् ठूलो संकटमा रूपान्तरण हुने गर्छन् । तर यहीँबाट अर्को महत्वपूर्ण प्रश्न सुरु हुन्छ– के यो संवाद निरन्तर रहन्छ ? कि संकट सकिएपछि फेरि संवाद कमजोर हुन्छ ?
नेपालका सार्वजनिक संस्थाहरूको इतिहास हेर्दा समस्या समाधानपछि पुनः पुरानै ढर्रामा फर्किने प्रवृत्ति धेरै पटक दोहोरिएको छ । तत्कालको संकट टारिन्छ, तर दीर्घकालीन सुधार अधुरै रहन्छ । यदि कटारी अस्पताल पनि त्यही चक्रमा फस्यो भने आजको सहमति र माफी भोलिका लागि केवल एउटा स्मरणीय घटना मात्र बन्न सक्छ ।
तर यदि यसलाई अवसरका रूपमा उपयोग गरियो भने यो घटना एक महत्वपूर्ण मोड बन्न सक्छ । अस्पतालको पूर्वाधार सुधार, जनशक्ति व्यवस्थापन, पारदर्शी प्रशासन र सेवाग्राही–सेवा प्रदायकबीच विश्वास निर्माण गर्न सकिएमा कटारी अस्पताल क्षेत्रीय स्वास्थ्य सेवाको उदाहरण बन्न सक्छ ।
मेरो नजरमा यो घटना केवल विवाद समाधानको कथा होइन, बरु राज्य र समाजले आफ्नो सार्वजनिक सेवा प्रणालीप्रति कस्तो दृष्टिकोण राख्छ भन्ने परीक्षण पनि हो । संकटपछि सुधार गर्ने कि संकट दोहोरिन दिने भन्ने निर्णय नै अबको मुख्य मोड हो ।
अन्ततः कटारी अस्पताल विवादले एउटा गम्भीर प्रश्न छोडेको छ । के हामी समस्यालाई समाधान गरेर अघि बढ्छौं, वा समाधानलाई औपचारिकतामा सीमित राखेर फेरि अर्को संकटको प्रतीक्षा गर्छौं ? यही प्रश्नको उत्तरले केवल कटारी अस्पताल होइन, समग्र सार्वजनिक स्वास्थ्य प्रणालीको भविष्य निर्धारण गर्नेछ । अर्कोतर्फ अराजक गतिविधि गर्नेलाई कानुनी कारबाही नहुनु पनि भोलिका दिनमा आउने विवादलाई निम्तो दिनु हो । यसमा कसैको ध्यान पुगेको देखिँदैन ।