जनकपुर– जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पतालको बर्थिङ सेन्टरमा कार्यरत चिकित्सकमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत असोज १ गते साँझ करिब साढे ६ बजे बर्थिङका लागि अस्पताल पुगेकी महिलाका आफन्तले कार्यरत चिकित्सक डा. सरोज साहमाथि हातपात गरेका थिए।
घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले धनुषाको औरही गाउँपालिका–२ का २० वर्षीय विजय मुखिया र जनकपुर उपमहानगरपालिका–८ की २६ वर्षीया सुधिरा मुखिया बिनलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले उनीहरूलाई असोज २ गते धनुषा जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।
उनीहरूमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ को दफा ३(ग) अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको समेत पहिचान गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
उक्त ऐनअनुसार स्वास्थ्यकर्मीमाथि हातपातलगायत कसूर प्रमाणित भएमा तीन वर्षसम्म कैद वा तीन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ।