नुवाकोट- भोटेकोशीमा आएको भीषण बाढीका कारण घरबास गुमाएका १५३ परिवारलाई नेपाल चिकित्सक संघ र युएसभी फर्मास्युटिकल्सले अत्यावश्यक राहत सामग्री हस्तान्तरण गरेका छन्।
चिकित्सक संघका अध्यक्ष डा बद्रि रिजालको नेतृत्वमा गएको टोलीले आइतबार नुवाकोटको पिपलटारमा आश्रय लिइरहेका १५३ विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।
बाढीका कारण घर तथा जायजेथा गुमाएर कठिन परिस्थितिमा बसोबास गरिरहेका विस्थापित परिवारको दैनिक जीवनयापनमा सहजता ल्याउने उद्देश्यले संघको टोलीले पिपलटारमै पुगेर राहत सामग्री वितरण गरेको अध्यक्ष डा रिजालले जानकारी दिए।
अध्यक्ष डा. बद्री रिजालसहितको टोलीले रसुवाबाट विस्थापित भई पिपलटारमा बसोबास गर्दै आएका प्रभावितहरूका लागि ३०० थान म्याट्रेस, ३ लिटर क्षमताका १५० थान प्रेसर कुकर तथा १५० परिवारलाई पुग्ने गरी ७५० थान थाल र ७५० थान गिलास (प्रतिपरिवार पाँच-पाँच थानका दरले) हस्तान्तरण गरेको छ।
प्राकृतिक विपत्तिका कारण घरविहीन बनेका परिवारहरूलाई तत्काल दैनिक जीवनका लागि आवश्यक पर्ने सामग्री उपलब्ध गराउन युएसभी फार्मासँगको सहकार्यमा यो सहयोग गरिएको र आगामी दिनमा पनि यस्ता राहत तथा पुनर्स्थापनाका कार्यक्रमहरूलाई निरन्तरता दिइने संघले जनाएको छ।

-1789971871.jpeg)
-1789971870.jpeg)
-1789971870.jpeg)
-1789971870.jpeg)