नुवाकोट- नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र मियो नेपालको संयुक्त आयोजनामा बाढी प्रभावित क्षेत्रमा दुईदिने विशेष स्वास्थ्य शिविर तथा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ। चिकित्सक संघ, फाउन्डेसन र मियो नेपालको साझा सहकार्यमा उत्तरगया क्षेत्रमा दोस्रो पटक पुगेर यो अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत नीलकण्ठ होल्डिङ सेन्टर, शिवालय होल्डिङ सेन्टर र भीमसेनथान होल्डिङ सेन्टर गरी तीन वटा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बाढीविस्थापितहरूको स्वास्थ्य जाँच तथा राहत सामग्री वितरण गरिएको छ। दुई दिनसम्म सञ्चालित क्याम्पमा कुल ११० जना प्रभावित नागरिकहरूको प्रत्यक्ष स्वास्थ्य परीक्षण गरिएको थियो।
स्वास्थ्य जाँचका क्रममा अधिकांश बिरामीहरूमा घाँटी दुख्ने, रुघाखोकी र ज्वरो आउने जस्ता समस्याहरू प्रमुख रूपमा देखिएका थिए। टोलीले उनीहरूलाई आवश्यक औषधि उपलब्ध गराउनुका साथै स्वास्थ्य परामर्शसमेत दिएको छ।
स्वास्थ्य सेवासँगै टोलीले विस्थापित परिवारहरूको आवश्यकतालाई ध्यानमा राख्दै ब्ल्याङ्केट, खाद्यान्न लगायतका अत्यावश्यक राहत सामग्रीहरू पनि वितरण गरेको छ।
डा. सन्तोष अधिकारीको नेतृत्वमा सञ्चालित यस अभियानमा डा. जीवन ज्ञवाली, मानब खान र हर्ष रोय सम्मिलित टोली प्रत्यक्ष रूपमा खटिएको थियो। प्राकृतिक विपत्तिका कारण जोखिममा परेका नागरिकहरूलाई सहजरूपमा स्वास्थ्य सेवा र राहत पुर्याउन आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

