पोखरा– पद्म नर्सिङ होमको शय्या विस्तार तथा नवीकरणका क्रममा तत्कालिन स्वास्थ्य मन्त्री र उनका स्वकीय सचिवको आर्थिक लेनदेन सम्बन्धी भिडियो र आरोप सार्वजनिक भएपछि गण्डकी प्रदेश सरकारले स्वास्थ्य मन्त्रालयका सचिव डा. युवानिधि बसौलालाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको छ। उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने निर्णय गरिएको हो।
उक्त अस्पतालसम्बन्धी भिडियोमा मन्त्री र स्वकीय सचिवले सचिव डा बसौलाको नाम पनि मुछेको पाइएपछि उनलाई काजमा मुख्यमन्त्री कार्यालयमा काजमा खटाइएको हो।
असोज ५ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रकरणको छानबिन गर्न उपसचिवको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। घटनाको अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयलाई समेत पत्राचार गर्ने निर्णय सरकारले गरेको छ।
पोखरा–३ नदीपुरस्थित पद्म नर्सिङ होमलाई ५० शय्याबाट १०० शय्यामा विस्तार गरी सञ्चालन अनुमति दिने तथा नवीकरण गर्ने क्रममा आर्थिक सौदाबाजी भएको आरोप सार्वजनिक भएको हो। सार्वजनिक श्रव्यदृश्य सामग्रीमा २० लाखबाट सुरु भएको रकमको कुराकानी २५ लाख हुँदै ३० लाख रुपैयाँसम्म पुगेको दाबी गरिएको छ।
प्रकरणमा तत्कालीन स्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डे, उनका स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा. बसौलाको भूमिका जोडिएको आरोप लागेको छ। मन्त्री र मन्त्रीका स्वकीय सचिवले सचिव डा. बसौलालाई पोलेका छन्।
डा. बसौलाले आफूले नियम अनुसार काम गरेको बताए। उनले भने, '६ महिनाभित्र अपुग पूर्वाधार पूरा गर्नेगरी सिफारिस समितिको सिफारिस बमोजिम पत्र दिइएको हो। छानविन समिति बनिसकेको छ। त्यसबाट यथार्थ बाहिर आउने छ। बाहिर भनिएजस्तो कुनै पनि कुरामा मेरो संलग्नता छैन।'
सरकारले छानबिन पूरा नहुँदासम्म पद्म नर्सिङ होमको स्तरोन्नतिसँग सम्बन्धित अनुमति कार्यान्वयन नगर्ने/स्थगित गर्ने निर्णयसमेत गरेको छ। अब प्रदेश सरकारको छानबिन र अख्तियारको अनुसन्धानबाट सार्वजनिक भएका अडियो–भिडियो, चेक तथा अस्पतालको अनुमति प्रक्रियामा संलग्न व्यक्तिहरूको भूमिकाबारे थप तथ्य खुल्नेछ।