काठमाडौं– प्रतिनिधि सभा सदस्य डा. आनन्द बहादुर चन्दले योगदान गर्न सक्ने औपचारिक क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा अनिवार्य रूपमा आबद्ध गर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै चन्दले स्वास्थ्य बीमा सम्पन्न व्यक्तिका लागि एउटा विकल्प भए पनि गरिब, विपन्न तथा निमुखा नागरिकका लागि उपचार पाउने राज्यप्रतिको महत्वपूर्ण भरोसा भएको बताए।
उनले स्वास्थ्य बीमा कार्यक्रममा अपेक्षित रूपमा आबद्धता विस्तार हुन नसकेको भन्दै आफू स्वयं प्रतिनिधि सभा सदस्य तथा औपचारिक क्षेत्रसँग जोडिएको व्यक्ति भए पनि हालसम्म आफ्नो सेवासुविधाबाट स्वास्थ्य बीमाको योगदान कट्टी भई कार्यक्रममा आबद्ध नभएको बताए।
स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ३ ले प्रचलित कानुनबमोजिम राष्ट्रसेवक मानिने व्यक्तिलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्ने व्यवस्था गरेको छ। त्यस्तै, कानुनबमोजिम स्थापना भएका तोकिएका संस्थाले आफ्ना कर्मचारीलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउनुपर्ने व्यवस्था पनि ऐनमा छ।
सांसद चन्दले कानुनमा स्पष्ट व्यवस्था हुँदाहुँदै त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको भन्दै राष्ट्रसेवक मानिने सम्पूर्ण व्यक्ति तथा तोकिएका संस्थामा कार्यरत व्यक्तिलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने प्रक्रिया तत्काल सुरु गर्न सरकारलाई सुझाव दिए।
'योगदान गर्न सक्ने औपचारिक क्षेत्रलाई पूर्ण रूपमा प्रणालीमा जोड्न सके स्वास्थ्य बीमाको आर्थिक आधार बलियो हुन्छ,' उनले भने, 'यसबाट गरिब तथा विपन्न नागरिकका लागि स्वास्थ्य बीमा कार्यक्रमलाई अझ दिगो बनाउन सकिन्छ।'
उनले स्वास्थ्य बीमा कार्यक्रमको दायरा विस्तारसँगै योगदान गर्न सक्ने समूहलाई प्रणालीमा समेट्न सके राज्यको स्वास्थ्य बीमा प्रणाली थप सबल हुने बताए।
स्वास्थ्य बीमा ऐनको दफा ३ को उपदफा (४) र (५) कार्यान्वयन गरी राष्ट्रसेवक तथा कानुनअनुसार स्थापना भएका संस्थामा कार्यरत व्यक्तिलाई स्वास्थ्य बीमामा समेट्नुपर्ने विषयमा यसअघि पनि कानुनी कार्यान्वयनको माग उठ्दै आएको छ।