विश्व स्वास्थ्य संगठनले स्वास्थ्य प्रणालीलाई व्यवस्थित एवं सुदृढ बनाउन एकअर्कासँग अन्तरसम्बन्धित आधार स्तम्भहरूको प्रयोग गर्न सुझाव दिएको छ। यी आधार स्तम्भहरू क्रमशः सुशासन तथा नेतृत्वदायी भूमिका, स्वास्थ्य वित्त व्यवस्थापन, मेडिकल औजार/उपकरण तथा औषधिको आपूर्ति, स्वास्थ्य सूचना, स्वास्थ्यकर्मी व्यवस्थापन र स्वास्थ्य सेवा प्रवाह गरी मुख्यतः छवटा रहेका छन्।
तथ्यहरूले पनि पुष्टि गरिसकेका छन् कि स्वास्थ्य प्रणालीका यी आधार स्तम्भहरू मजबुत भएमा मात्र प्रभावकारी, गुणस्तरीय, पहुँचयोग्य र सुरक्षित स्वास्थ्य सेवामा सबैको समान अवसर सुनिश्चित गर्न सकिन्छ। यसबाट स्वास्थ्य अवस्थामा सुधार भई उच्चतम प्रतिफल प्राप्त गर्न सकिने देखिन्छ।
स्वास्थ्य प्रणालीको प्रत्येक क्षेत्रमा प्रभावकारी निर्णय निर्माणका लागि तथ्यपरक र विश्वसनीय तथ्यांक आधारभूत आवश्यकता हुन्। स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीका प्रमुख चार कार्य हुन्छन्— तथ्यांक सिर्जना, तथ्यांक संकलन, विश्लेषण तथा संश्लेषण र सूचना सञ्चार एवं प्रयोग।
हाल स्थानीय तहमा स्वास्थ्य सेवासम्बन्धी सूचना संकलन र व्यवस्थापनको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा परिवर्तन भइरहेको पाइन्छ। कुनै समयमा स्वास्थ्य संस्थाले दैनिक कार्यका लागि प्रयोग हुने विभिन्न स्वास्थ्य सेवा रजिस्टर तथा प्रतिवेदनका कागजी अभिलेखमा निर्भर रहनुपर्थ्यो। हाल स्वास्थ्य क्षेत्रमा विस्तार भइरहेको डिजिटलाइजेसनलाई स्थानीय स्वास्थ्य प्रणालीले पनि अनुसरण गरेको पाइन्छ।
जस्तै, Electronic Health Information Recording and Reporting System (EHRRS) मार्फत स्वास्थ्य सेवासम्बन्धी तथ्यांक प्रविष्टि, DHIS2 मार्फत प्रतिवेदन प्रविष्टि, जिन्सी सामान व्यवस्थापनका लागि विभिन्न डिजिटल प्रणाली तथा क्षयरोग उपचार व्यवस्थापनका लागि विद्युतीय रजिस्टरलगायत डिजिटल उपकरणहरूको प्रयोग बढ्दो छ। यस्ता प्रणालीले तथ्यपरक र सही समयमा पूर्ण सूचना उपलब्ध गराउनुका साथै तथ्यांकमा हुने दोहोरोपन हटाउन र कागजी कामको बोझ घटाउन सहयोग गरेका छन्। यसबाट स्वास्थ्य सूचनाको गुणस्तर र विश्वसनीयतामा समेत टेवा पुगेको छ।
स्वास्थ्य सूचनाले स्वास्थ्य अवस्थाको वास्तविक तस्बिर देखाउँछ
स्वास्थ्य सूचना प्रणालीबाट प्राप्त तथ्यांकहरूले वास्तवमा स्थानीय स्वास्थ्य अवस्थाको तस्बिर प्रतिबिम्बित गर्छन्। उदाहरणका लागि, स्थानीय तहमा बाल स्वास्थ्य सेवाको उपयोग घटिरहेको छ वा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा कम प्रयोग भइरहेको छ भने त्यसका कारण पहिचान गर्न सकिन्छ।
सेवाग्राहीको पहुँच नपुग्नु, आन्तरिक बसाइँसराइ, सांस्कृतिक तथा धार्मिक अवधारणा, स्वास्थ्य शिक्षाको कमी आदि कारणले सेवा उपयोगमा प्रभाव पारेको हुन सक्छ। यस्ता कारणहरूको पहिचान भएपछि स्थानीय तहले आवश्यकताअनुसार लक्षित कार्यक्रम र हस्तक्षेप योजना निर्माण गर्न सक्छ।
स्वास्थ्य सूचनालाई कसरी प्रयोग गर्ने?
औषधिको माग तथा आपूर्ति व्यवस्थापन गर्दा विगतको खपत, रोगको भार, बिरामीको संख्या र औषधिको वास्तविक खपतसम्बन्धी तथ्यांकलाई आधार मान्न सकिन्छ। सबै स्वास्थ्य संस्थामा समान रूपमा औषधि वितरण गर्नुको सट्टा सेवा उपयोग र वास्तविक मागका आधारमा खरिद योजना बनाउन सकिन्छ।
यसले औषधि व्यवस्थापनलाई तथ्यपरक बनाउन र औषधि खेर जाने दरलाई न्यूनतम बिन्दुमा झार्न सहयोग पुर्याउँछ।
सूचना प्रणालीलाई व्यवस्थित बनाउनु भनेको तथ्यांक संकलनमा मात्र सीमित हुनु होइन। यसले रोगको खोजपड्ताल तथा निगरानी, स्वास्थ्यकर्मीको क्षमता विकास, स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका सेवाग्राहीको पहिचान तथा बजेट प्राथमिकता निर्धारणमा समेत प्रभाव पार्छ।
स्वास्थ्य सूचना प्रणालीबाट प्राप्त जानकारीले स्वास्थ्य समस्या र आवश्यकता पहिचान गर्नेदेखि सीमित स्रोतको प्रभावकारी वितरणसम्म सहायता पुर्याउँछ।
त्यसैगरी, नसर्ने रोगहरूको भार निरन्तर बढिरहेको सन्दर्भमा रोगको खोजपड्ताल तथा निगरानी, सेवाग्राही केन्द्रित हस्तक्षेप कार्यक्रम सञ्चालन, समयमा औषधिको रिफिल, जनस्वास्थ्य प्रवर्द्धनात्मक सेवा सञ्चालनजस्ता कार्य गर्न सकिन्छ।
स्थानीय तहको स्वास्थ्य क्षेत्रसम्बन्धी नीति, योजना तथा कार्यक्रम परम्परागत शैलीबाट नभई तथ्यमा आधारित, स्थानीय आवश्यकता र परिस्थितिअनुकूल बनाउन सकिन्छ।
तथ्यांक विश्लेषण गर्ने क्षमता पनि आवश्यक
स्थानीय तहमा स्वास्थ्य सूचना संकलनको चाप बढ्दै जाँदा त्यसको विश्लेषण र उपयोग गर्ने क्षमता पनि बढाउनुपर्ने देखिन्छ। सूचना तथा सञ्चार प्रविधिको उच्चतम प्रयोग गरी तथ्यांक विश्लेषण र संश्लेषण गर्न सक्ने दक्ष तथा प्रविधिमैत्री मानव संसाधनको क्षमता विकास गर्नु टड्कारो आवश्यकता बनेको छ।
स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणालीको विस्तार आफैंमा महत्वपूर्ण उपलब्धि हो। यसले कागजी काम घटाउनुका साथै स्वास्थ्य सूचना व्यवस्थापनलाई पनि व्यवस्थित बनाएको छ। त्यसैले डिजिटल प्रणालीलाई तथ्यांक संकलनमा मात्र सीमित नराखी यसको प्रयोगको दायरा फराकिलो बनाउनुपर्छ।
ड्यासबोर्डमा आएका कार्यक्रमका सूचकलाई अनुगमन तथा मूल्यांकनको मापनमा मात्र सीमित गर्नु हुँदैन। तिनलाई नीति निर्माण, योजना तर्जुमा, बजेट विनियोजन र सेवा सुधारका लागि समेत प्रयोग गर्नुपर्छ।
राष्ट्रिय विद्युतीय स्वास्थ्य रणनीति–२०१७ र एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणाली मार्गचित्र २०२२–२०३० ले स्वास्थ्य व्यवस्थापन तथा निर्णयकर्ताका लागि प्रभावकारी योजना व्यवस्थापन, सुशासन र तथ्यांकमा आधारित निर्णय लिन सूचनामा पहुँच बढाउने लक्ष्य राखेका छन्।
त्यसैगरी, राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले स्वास्थ्य सूचना प्रणालीलाई एकीकृत, प्रविधिमैत्री र समयानुकूल बनाउँदै प्राप्त तथ्य तथा सूचनालाई विभिन्न तहमा हुने अनुगमन, मूल्यांकन, नीति निर्माण, कार्यक्रम विकास तथा निर्णय प्रक्रियामा उपयोग गर्ने नीति अवलम्बन गरेको पाइन्छ।
स्वास्थ्य सूचना प्रणाली प्रयोगमा देखिएका समस्या
१. तथ्यांकको दोहोरोपन र एकरूपताको समस्या
विभिन्न प्रणालीमा तथ्यांक छरिनुका साथै एउटै तथ्यांक फरक–फरक ढाँचामा अभिलेख राख्नुपर्ने अवस्था छ। अभिलेखको दोहोरोपन र अपुष्टताका कारण तथ्यांकमा एकरूपता र पूर्णताको समस्या हुने गरेको छ।
यसले अभिलेख तथा प्रतिवेदनमा मानवीय त्रुटि बढाई तथ्यांकको शुद्धता र गुणस्तरीयतामा असर पुर्याएको छ।
२. प्रणालीबीच अन्तरसम्बन्धको अभाव
विभिन्न कार्यक्रमका उद्देश्यका लागि फरक–फरक डिजिटल स्वास्थ्य प्रणाली विकास भइरहेका छन्। तर ती प्रणालीबीच पूर्ण अन्तरसम्बन्ध र अन्तरसञ्चालन क्षमता नहुँदा एउटै व्यक्ति वा एउटै स्वास्थ्य समस्यासम्बन्धी जानकारी विभिन्न प्रणालीमा छुट्टाछुट्टै रहने गरेको छ।
यसले तथ्यांक आदानप्रदान र एकीकृत विश्लेषणमा कठिनाइ सिर्जना गरेको छ। परिणामतः डेटा उपलब्ध भए पनि त्यसलाई विश्वसनीय, समयमै प्रयोग गर्न मिल्ने र निर्णययोग्य तथ्यमा रूपान्तरण गर्न चुनौती रहेको छ।
३. पूर्वाधार र प्राविधिक चुनौती
पर्याप्त मात्रामा विद्युतीय उपकरण, नियमित विद्युत् आपूर्ति, वैकल्पिक ऊर्जा र प्राविधिक दक्षताको अभाव अझै चुनौतीका रूपमा रहेका छन्। यसले दुर्गम क्षेत्रमा स्वास्थ्य प्रणालीलाई सूचना प्रविधिमैत्री बनाउन कठिन भएको छ।
४. तथ्यांक विश्लेषण गर्ने जनशक्तिको अभाव
स्थानीय तहमा तोकिएका स्वास्थ्य सूचकहरूको विश्लेषण तथा संश्लेषण गरी उपयोगी तथ्य सिर्जना गर्ने क्षमतावान कर्मचारीको अभाव रहेको पाइन्छ। यसका कारण तथ्यांकमा आधारित योजना तथा निर्णय गर्ने अभ्यास कमजोर रहेको छ।
स्वास्थ्य सूचना प्रणालीलाई सबल बनाउन गर्नुपर्ने कार्य
१. जिम्मेवार फोकल पर्सन तोक्ने
प्रत्येक स्थानीय तहमा नियमित रूपमा स्वास्थ्य तथ्यांकको अनुगमन, मूल्यांकन तथा विश्लेषण गर्ने जिम्मेवार फोकल पर्सन तोक्नुपर्छ। यसबाट स्वास्थ्य संस्थामा नियमित पृष्ठपोषण, सहयोगात्मक सुपरिवेक्षण र स्थलगत अनुशिक्षणलाई प्राथमिकता दिन सकिन्छ।
यसले कर्मचारीको तथ्यांक विश्लेषणात्मक क्षमता विकास गर्न सहयोग पुर्याउँछ।
२. स्थानीय तथ्यलाई योजना निर्माणको आधार बनाउने
पालिकास्तरीय स्वास्थ्य कार्ययोजना, स्वास्थ्य नीति, कार्यक्रम तथा बजेट निर्माण गर्दा स्थानीय तथ्यांकलाई अनिवार्य रूपमा समावेश गर्नुपर्छ।
योजना तथा कार्यक्रम स्थानीय आवश्यकता, रोगको भार र सेवा उपयोगको अवस्थाका आधारमा निर्माण गरिनुपर्छ।
३. तथ्यमा आधारित औषधि व्यवस्थापन
औषधिको खपत दर, रोगको भार, सेवाग्राहीको संख्या र औषधिको मौज्दातलाई आधार बनाएर खरिद योजना निर्माण गर्नुपर्छ।
यसले औषधि आपूर्ति व्यवस्थापन चक्रलाई नियमित, सरल र सहज बनाउन सहयोग पुर्याउँछ। साथै, औषधिको शून्य मौज्दात, म्याद गुज्रिएर खेर जाने अवस्था तथा मागअनुसार आपूर्ति व्यवस्थापन गर्न सहज हुन्छ।
४. तथ्यांकको दिगोपन र गोपनियता सुनिश्चित गर्ने
संकलित स्वास्थ्य तथ्यांकलाई दिगो र व्यवस्थित बनाउनुपर्छ। यसका साथै सेवाग्राहीको सूचना सम्बन्धी अधिकार तथा व्यक्तिगत गोपनियताको पनि पूर्ण ख्याल राख्नुपर्छ।
५. एकीकृत डिजिटल प्रणालीको विकास
एकीकृत डिजिटल स्वास्थ्य प्रणालीको विकास गरी विभिन्न कार्यक्रमबीच डेटा माइग्रेसन, डेटा ट्रान्सफर र अन्तरसञ्चालन क्षमता विकास गर्नुपर्छ।
यसले तथ्यांकको दोहोरोपन घटाउनुका साथै स्वास्थ्यकर्मीको कार्यबोझ कम गर्न सहयोग पुर्याउँछ।
निष्कर्ष
समग्रमा, स्वास्थ्य प्रणालीको सुदृढीकरणका लागि स्वास्थ्य सूचना प्रणाली एक महत्वपूर्ण आधार स्तम्भ हो। सही र गुणस्तरीय सूचनाले स्वास्थ्य प्रणालीको विश्वसनीयता कायम राख्न सहयोग पुर्याउँछ।
प्राप्त तथ्यांकलाई उपयुक्त ढंगले विश्लेषण र संश्लेषण गर्न सकिएमा तथ्य तथा ज्ञानमा आधारित निर्णय गर्न सकिन्छ। यसले स्वास्थ्य कार्यक्रमको प्रभावकारिता बढाउनुका साथै स्वास्थ्य क्षेत्रका उपलब्धिलाई परिणाममुखी बनाउन महत्वपूर्ण भूमिका खेल्छ।
यसबाट गुणस्तरीय र समावेशी स्वास्थ्य सेवा विस्तार भई आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्न सहयोग पुग्छ।
स्वास्थ्य क्षेत्रमा बढ्दो डिजिटलाइजेसनको विकासक्रमलाई स्थानीय स्वास्थ्य प्रणाली विकासको अवसरका रूपमा लिनुपर्छ, थप कार्यबोझका रूपमा होइन।
त्यसैले स्वास्थ्य सूचना प्रणालीलाई तथ्यांक संकलनमा मात्र सीमित नराखी तथ्यांक विश्लेषण, संश्लेषण र प्रमाणमा आधारित नीति, योजना तथा कार्यक्रममा प्रयोग गर्ने क्षमता विकास गर्नु आजको टड्कारो आवश्यकता हो। तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजना निर्माणका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणालीको विकासलाई महत्वपूर्ण अवसरका रूपमा लिन आवश्यक छ।