एआईको सहयोगमा बनाइएको प्रतिकात्म तस्बिर।
नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र आफ्नै लय, आफ्नै काइदा र आफ्नै रमाइला कथा-व्यथाहरूले भरिएको छ। रोगको उपचार गर्ने अस्पताल र डाक्टर उत्पादन गर्ने मेडिकल कलेजहरूमा अचेल विभिन्न अवतारका 'चिकित्सकीय बाबा'हरूको साम्राज्य फैलिएको छ। यिनीहरू यस्ता अनौठा पात्र हुन्, जसलाई न त कुनै वेद-पुराणमा लेखिएको छ, न त कुनै मेडिकल जर्नलमै छापिएको छ।
आउनुहोस्, नेपाली मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रका यी महान् 'मेडिकल बाबाहरू'को महापुराणतर्फ प्रवेश गरौँ:
१. खडे बाबा (अनुगमनका 'भूत' अवतार)
इन्स्पेक्सन वा अनुगमनको दिन मात्र मेडिकल कलेजमा देखा पर्ने अद्भुत जीव हुन्- खडे बाबा। अनुगमन टोली आउने थाहा पाउनेबित्तिकै कलेज प्रशासनले यिनीहरूलाई कता-कताबाट खोजेर ल्याउँछ र सेतो एप्रोन भिराएर ओपिडी वा वार्डमा खडा गराइदिन्छ। टोलीले अनुगमन सकेर गाडीको ढोका ढाक्नासाथ यी बाबा हावामा कपुर बिलाएझैँ अलप हुन्छन्। यिनको मुख्य काम नै 'अनुगमनमा उपस्थिति जनाउनु' मात्र हो।
२. लडे बाबा
मेडिकल कलेजको सम्बन्धन जोगाउन वा सिट बढाउन बिरामीको सङ्ख्या पुर्याउनुपर्ने हुन्छ। अनि जन्मिन्छन्- लडे बाबा। यिनीहरू खासमा बिरामी नै होइनन्! गाउँघरबाट वा बाटोमा हिँडिरहेका मानिसलाई 'फ्रीमा दाल-भात र बास पाइन्छ' भन्दै अस्पतालका बेडमा ढलाइन्छ। अनुगमन टोली आएर 'के भयो?' भनेर सोध्दा यी बाबाले 'अलि-अलि टाउको दुखेर सुतेको हजुर!' भन्दै बेडमा लडिरहने महान् पुण्य काम गर्छन्।
३. 'टपरे' बाबा (ड्युटीका भगौडा)
कलेज वा अस्पतालमा ड्युटीको समय सुरु हुन्छ, तर टपरे बाबा आफ्नो स्टेथोस्कोप र झोला बोकेर टाढाको अर्कै प्राइभेट अस्पताल वा क्लिनिकतिर टप्किहाल्छन्। ड्युटी हाजिरीमा सही धस्कायो, अनि काँसको थाल खोज्न अर्को अस्पतालतिर दौडियो! यिनलाई आफ्नो कलेजका बिरामीभन्दा अर्काको क्लिनिकको काउन्टर बढी प्यारो हुन्छ। यस्ता चिकित्सकलाई 'टपरे' बाबा समेत भनेर चिनिन्छ।
४. टुरिष्ट बाबा (स्वास्थ्य शिविरका पारखी)
सरकारी वा एनजीओले प्रायोजन गरेका 'फ्री हेल्थ क्याम्प' भनेपछि टुरिष्ट बाबाको सातोपुत्लो जाग्छ। गाउँमा बिरामी हेर्ने निहुँमा नयाँ ठाउँ घुम्न पाइने, लोकल कुखुराको भाले खान पाइने र एनजीओको भत्ता पनि पचाउन पाइने भएपछि यिनीहरू झोला बोकिहाल्छन्। क्याम्पमा बिरामीलाई सिटामोल र भिटामिन बी-कम्प्लेक्स बाँडेर फोटो खिचाउनु र फेसबुकमा 'सर्भिङ द नेसन' लेख्नु यिनको मुख्य धर्म हो।
५. बल्छी बाबा (बिरामीका सिकारी)
यिनीहरू डाक्टर कम, माछा मार्ने माझी बढी लाग्छन्। एउटा सहर वा अस्पतालमा बसेर अर्को सहरका बिरामीलाई बल्छी हालेर तानेझैँ आफ्नै क्लिनिकमा ल्याउन यिनीहरू सिद्धहस्त हुन्छन्। 'उता त उपचार नै हुँदैन, मेरो आफ्नै क्लिनिकमा आउनुस्, म आफैँ हेर्छु' भन्दै बिरामीलाई काठमाडौँ वा ठूला सहरतिर तान्न यिनीहरूले २४ सै घण्टा बल्छी थापेर बसेका हुन्छन्।
६. ज्ञानी बाबा (सोसल मिडियाका सर्वज्ञानी)
यी बाबाको विद्या आफ्नै विषयमा भन्दा पनि अरूका विषयमा बढी पोखिन्छ। यिनको ओपिडीमा बिरामी होस् नहोस्, फेसबुक, टिकटक र युट्युबमा भने चौबीसै घण्टा ज्ञानको गङ्गा बगिरहेको हुन्छ। आफू हाडजोर्नीको डाक्टर भए पनि छाला, मुटु, मिर्गौलादेखि लिएर अन्तरिक्ष विज्ञानसम्मको सल्लाह सोसल मिडियामा बाँड्न यिनीहरू कहिल्यै थाक्दैनन्।
७. अलौकिक बाबा (मिडिया र सरकारका गहना)
यी हुन् मेडिकल जगत्का 'सर्वगुण सम्पन्न' अलौकिक अवतार। यिनीहरूलाई नजानेको कुनै विषय नै छैन! मिडियालाई तुरुन्तै बाइट दिनुपर्यो भने यी बाबा हाजिर हुन्छन्, सरकारलाई कुनै समिति बनाउनुपर्यो भने यिनै चाहिन्छन्। हरेक न्युज च्यानल, सरकारी बैठक र टीभी बहस यिनै अलौकिक बाबाको वरिपरि घुमिरहेको हुन्छ। यिनले बिरामी कहिले हेर्छन् भन्ने कुरा भने एउटा गम्भीर खोजको विषय हो।
८. हेल्मेट बाबा (बिरामी खोज्ने नाइट राइडर)
अस्पतालबाट निस्किनेबित्तिकै लहरै खुलेका औषधि पसल (फार्मेसी) हरू हेल्मेट बाबाका मुख्य क्रिडास्थल हुन्। टाउकोमा हेल्मेट भिरेर वा बाइक स्टार्टमै राखेर मेडिकल शप-मेडिकल शप चहार्दै 'कुनै बिरामी आयो कि?' भनेर चियाउनु यिनको दिनचर्या हो। फार्मेसी सञ्चालकहरूसँग सेटिङ गरेर बिरामी आफ्नो क्लिनिकतिर भित्र्याउन यिनीहरू माहिर हुन्छन्।
९. लेखन्दास बाबा (न्युट्रास्युटिकलका पुजारी)
यिनले लेखेको प्रेस्क्रिप्सन हेर्यो भने औषधि पसलभन्दा बढी किराना पसल वा हर्बल शपमा पुगेको अनुभूति हुन्छ। बिरामीलाई रोग निको पार्ने मूल औषधि एउटा मात्र हुन्छ, तर साथमा ५ वटा त भिटामिन, प्रोटिन पाउडर, मल्टिभिटामिन र फुड सप्लिमेन्टका बट्टा भरिएका हुन्छन्। कम्पनीको उपहार र स्पोन्सरसिपको ऋण चुकाउन यी बाबा दिनरात कलम घसिरहन्छन्।
१०. दक्षिणा बाबा (कमिसनका पुजारी)
'बिरामीको रगत-पिसाब परीक्षण गर, अनि दक्षिणा लिएर आऊ!'- दक्षिणा बाबाको मूल मन्त्र यही हो। बिरामीलाई आवश्यक होस् या नहोस्, भिडियो एक्सरे, एमआरआई, र सिटी स्क्यानको लामो फेहरिस्त थमाइदिन्छन्। ल्याब र डाइग्नोस्टिक सेन्टरहरूले यिनलाई महिनाको अन्त्यमा बुझाउने 'दक्षिणा'मा नै यिनको मोक्ष प्राप्ति हुन्छ।
११. पकेटेश्वर बाबा (समयका पाबन्द... क्लिनिकमा मात्र!)
सरकारी वा प्राइभेट कलेजको अफिस समयमा यिनलाई खोज्नु भनेको मरुभूमिमा माछा खोज्नुसरह हो। तर, आफ्नो व्यक्तिगत क्लिनिक खुल्ने समय हुनासाथ यी बाबा ट्याक्कै कुर्सीमा विराजमान भइसकेका हुन्छन्! यिनको गोजी र क्लिनिकको काउन्टर समयमै भरिनुपर्छ, कलेजको ड्युटी त केवल देखाउने दाँत मात्र हो।
१२. सुपरम्यान बाबा (उडन्ते निरीक्षक)
यी बाबाहरूको गति अद्भुत हुन्छ! बिहानै काठमाडौँबाट पहिलो उडान समातेर पोखरा वा विराटनगर पुग्छन्। दिउँसो एउटै सहरका दुई-दुई वटा मेडिकल कलेजको सरसरती 'हाई-हेलो' अनुगमन भ्याउँछन्। बेलुका नजिकैको पर्यटकीय स्थल वा ताल किनारमा रमाइलो गर्छन् र भोलिपल्ट बिहानै काठमाडौँ फर्किएर रिपोर्ट बुझाउँछन्। यिनको यो सुपरम्यान शैली देखेर साक्षात् मार्भलका सुपरहिरोहरू पनि लजाउँछन्!
१३. थप नयाँ अवतार: धाक-धम्की बाबा र डिजिटल बाबा
यीबाहेक अचेल दुई नयाँ प्रजाति पनि मेडिकल जगत्मा उदाएका छन्:
धाक-धम्की बाबा: 'लुकेर भिडियो खिच्ने म कुन पहुँचको मान्छे हुँ थाहा छ?' भन्दै जुनियर डाक्टर, नर्स र विद्यार्थीमाथि धाक जमाउने, फेसबुकमा पोस्ट्याउने।
डिजिटल बाबा: अस्पतालमा बिरामी छटपटाइरहेको हुन्छ, तर यी बाबा भने बिरामीसँगै उभिएर 'आजको ड्युटी धेरै गाह्रो छ!' भन्दै इन्स्टाग्राम रिल र टिकटक बनाउन व्यस्त हुन्छन्।
नेपालको मेडिकल शिक्षा र स्वास्थ्य क्षेत्रमा यी विभिन्न बाबाहरूको आफ्नै 'लीला' छ। यदि यी बाबाहरू नहुँदा हुन् त सायद हाम्रो मेडिकल क्षेत्र अलि बढी गम्भीर, निरस र उस्तै-उस्तै हुन्थ्यो होला। तर, ठट्टा एकातिर पन्छाएर हेर्दा, यी बाबाहरूको बढ्दो सङ्ख्याले हाम्रो स्वास्थ्य प्रणाली र मेडिकल शिक्षाको गुणस्तरमा भने ठूलै प्रश्नचिह्न खडा गरिरहेको छ!
-नोट: (यो सामग्री गाईजात्रा २०८३ को सन्दर्भमा लेखिएको हो। गाईजात्राको समयमा भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेका कारण हामीले यो सामग्री अहिले प्रकाशन गरेका हौं।)