काठमाडौं– रुसको साइबेरियास्थित प्लेग अनुसन्धान केन्द्रमा कार्यरत एक महिला प्रयोगशाला प्राविधिकको मृत्यु भएपछि अमेरिका घटनामाथि नजिकबाट निगरानी गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई अमेरिकाले ‘धेरै गम्भीरतापूर्वक’ हेरिरहेको बताएका छन्।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रयोगशालाकर्मी प्लेगको जीवाणुबाट संक्रमित भएको हुन सक्ने र संक्रमण प्रयोगशालाभित्र फैलिन सक्ने आशंका रहेको बताएका छन्। यद्यपि उनले अहिले नै डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पारेका छन्।
रुसको इरकुत्स्क क्षेत्रका गभर्नर इगोर कोब्जेभका अनुसार महिलाको मृत्यु ‘अज्ञात कारणले भएको निमोनिया’का कारण भएको हो। उनको कामसँग सम्बन्धित कुनै सूक्ष्मजीव जैविक नमुनामा भेटिएको पुष्टि नभएको रुसी अधिकारीहरूले बताएका छन्।
रुसी सञ्चारमाध्यममा आएका अपुष्ट विवरणअनुसार ती महिला रोगजनक बोकेको टेस्ट ट्युब फुटेपछि बिरामी परेको वा प्लेग प्राकृतिक रूपमा पाइने क्षेत्रमा गएर फर्किएपछि संक्रमित भएको हुन सक्ने आशंका गरिएको छ। मृतकको पहिलो नाम डारिया रहेको र उनी करिब २० वर्षकी भएको बताइएको छ। उनले हालै मंगोलिया सीमासँग जोडिएको बुर्यातिया क्षेत्रको भ्रमण गरेकी थिइन्।
रुसी स्वास्थ्य निगरानी संस्था रोस्पोत्रेबनादजोरका अनुसार घटनापछि जैवसुरक्षा टोलीले साइबेरिया एन्ड द फार इस्टस्थित एन्टी-प्लेग इन्स्टिच्युटको निरीक्षण गरेको थियो। संस्थामा कुनै आपत्कालीन अवस्था नरहेको र अन्य कर्मचारीमा संक्रमण देखिएको सूचना नआएको जनाएको छ। मृतकको सम्पर्कमा आएका करिब २०० जनालाई निगरानीमा राखिएको रुसी सञ्चारमाध्यमले जनाएका छन्।
प्लेग यर्सिनिया पेस्टिस नामक जीवाणुबाट हुने संक्रमण हो। यसको फोक्सोमा संक्रमण हुने अवस्था अर्थात् न्युमोनिक प्लेग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ। उपचार नगरिएमा यो अत्यन्त घातक हुन सक्छ तर समयमै उपयुक्त एन्टिबायोटिक प्रयोग गरे उपचार सम्भव हुन्छ।
रीडिङ विश्वविद्यालयका सेलुलर माइक्रोबायोलोजी विशेषज्ञ डा. साइमन क्लार्कका अनुसार प्लेग अहिले पनि विश्वका केही क्षेत्रमा मानव स्वास्थ्यका लागि जोखिम हो। तर हालको घटनालाई कोभिड–१९ जस्तो व्यापक महामारीसँग तुलना गर्नुपर्ने अवस्था नरहेको उनले बताएका छन्।
यर्सिनिया पेस्टिसकै कारण १४औँ शताब्दीमा युरोपमा ‘ब्ल्याक डेथ’ नामले चिनिएको महामारी फैलिएको थियो। यही जीवाणुको प्राकृतिक स्रोतका रूपमा मर्मोटलगायतका कृन्तक पाइने बुर्यातिया क्षेत्र पनि चिनिन्छ। रुसले भने अहिलेको घटनामा प्लेग संक्रमण पुष्टि भएको जानकारी सार्वजनिक गरेको छैन।