काठमाडौं- नेपालमै आधुनिक मिनिमली इन्भेसिभ प्रविधिबाट खुट्टा तथा जोर्नी (फुट एन्ड एंकल) सम्बन्धी जटिल शल्यक्रियाहरू सम्भव भएका छन्।
नेपाल मेडिसिटी अस्पतालमा खुट्टा तथा एंकल सम्बन्धी समस्याहरूको अत्याधुनिक 'मिनिमली इन्भेसिभ सर्जरी' सेवा सुरु भएको छ।
नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फुट एन्ड एंकल सर्जन डा. दमन कुमार झाको नेतृत्वमा यो सेवा सञ्चालनमा ल्याइएको हो। सेवा विस्तारकै क्रममा डा. झाले हालै नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक 'एमआईएस ह्यालक्स भल्गस' (खुट्टाको बूढीऔँलाको हड्डी बाङ्गो हुने समस्या) को सफल शल्यक्रिया गरेका छन्।
एमआईएस प्रविधिमा विशेष खालका उपकरणहरूको प्रयोग गरी साना प्वाल वा चीरामार्फत शल्यक्रिया गरिन्छ। बिरामीको अवस्था र प्रकृति अनुसार यो प्रविधि बूढीऔँलाको हड्डी सोझ्याउने शल्यक्रियामा मात्र सीमित नरही खुट्टाको बनोट सम्बन्धी समस्या सुधार र अन्य जटिल पुनर्निर्माणका लागि समेत प्रयोग गरिन्छ।
नेपालमा एमआईएस फुट एन्ड एंकल सर्जरीको सुरुवात हुनु स्वदेशमै आधुनिक शल्यक्रिया प्रविधि उपलब्ध हुनुको महत्त्वपूर्ण कोशेढुङ्गा भएको डा. झा बताउँछन्।
'मिनिमली इन्भेसिभ सर्जरी (एमआईएस) भनेको सानो चीरा पार्नु मात्रै होइन। यसका लागि विशेष तालिम, बिरामीको सही अवस्थाको पहिचान र खुट्टाको शारीरिक बनावट एवं समस्याको गहिरो अध्ययन चाहिन्छ। सुरक्षित र प्रभावकारी शल्यक्रियाका आधारभूत सिद्धान्तलाई पछ्याउँदै बिरामीलाई आधुनिक प्रविधिबाट उपचार सेवा दिनु नै हाम्रो मुख्य लक्ष्य हो,' डा. झाले भने।
डा. झाले थाइल्याण्डको सिरिराज अस्पताल (माहिडोल विश्वविद्यालय) बाट फुट एन्ड एंकल फेलोसिप पूरा गरेका छन् भने अस्ट्रेलियाको सिड्नीमा डा. पिटर लामको मातहतमा एमआईएस फुट एन्ड एंकल फेलोसिप हासिल गरेका छन्।
मेडिसिटी अस्पतालमा सुरु गरिएको यो विशेष एमआईएस सेवाले नेपालमा खुट्टा तथा एंकल सम्बन्धी विशिष्टीकृत उपचारको दायरालाई अझ फराकिलो बनाउने र उपचारका लागि विदेश जानुपर्ने बाध्यतालाई अन्त्य गर्ने विश्वास लिइएको छ।daman