कन्सल्टेन्ट कोलोरेक्टल सर्जन डाक्टर राकेश साह नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा कार्यरत छन्। डा साहसँग पेट वा मलद्वार सम्बन्धी समस्या, कब्जियत, पाइल्स, फिसर र फिस्टुलाका समस्या, कारण तथा उपचार लगायतका विषयमा एभरेष्ट अस्पतालकी अपरेशनल म्यानेजर तथा पब्लिक अफेयर्स म्यानेजर मथुरा आचार्यले कुराकानी गरेकी छिन्। प्रस्तुत छ उनीसँगको कुराकानीको सम्पादित अंश:
मानिसहरू मलद्वार वा ट्वाइलेट सम्बन्धी समस्याबारे डाक्टरसँग कुरा गर्न किन लाज मान्छन्?
मलद्वार शरीरको प्राइभेट पार्ट (निजी भाग) भएकाले महिला होस् या पुरुष, सुरुमा अरूसँग आफ्ना समस्याहरू सेयर गर्न अप्ठ्यारो मान्छन्। विशेष गरी महिला बिरामीहरू दुखाइ वा समस्या एकदमै धेरै (स्ट्रिम लेभल) नपुगेसम्म डाक्टरकहाँ आउनै खोज्दैनन्। डाक्टरकहाँ पुगेपछि जाँच गराउनुपर्ने र शरीर एक्सपोज गर्नुपर्ने डरले गर्दा उनीहरू साथीभाइ वा समाजमा चलेका 'यो खाऊ, त्यो नखाऊ' भन्ने घरेलु कुराहरूमा लाग्छन्। यसरी घरेलु उपायमै समय बिताउँदा छ महिनादेखि एक वर्षसम्म ढिलो गरी मात्र बिरामीहरू डाक्टरकहाँ पुग्ने गर्छन्।
कब्जियत भनेको के हो र यो हुनुका मुख्य कारणहरू के-के हुन्?
कब्जियत हुनुको मुख्य कारण हाम्रो जीवनशैली (लाइफस्टाइल) नै हो। फास्टफुड बढी खाने, पर्याप्त फाइबर (रेसादार खाना) नपुग्नु, मानसिक तनाव (स्ट्रेस) र व्यस्त जीवनशैलीका कारण खानपिनको समय नमिल्नुले कब्जियत हुन्छ। हाम्रो समाजमा दिसा कडा हुनुलाई मात्रै कब्जियत ठानिन्छ, तर त्यो मात्र कब्जियत होइन। मेडिकल डेफिनेसन अनुसार हप्तामा न्यूनतम तीन पटकभन्दा कम दिसा हुनु, दिसा गर्दा धेरै बल लगाउनुपर्ने हुनु, दिसा पूर्ण रूपमा क्लियर नभएको महसुस हुनु तथा औँला वा बाहिरी दबाब दिएर दिसा निकाल्नुपर्ने अवस्थालाई पनि कब्जियत मानिन्छ।
निरोगी मानिसमा दिसा हुने दर कति हुनुपर्छ?
व्यक्तिअनुसार पेटको बानी र वातावरण अनुसार फरक हुन सक्छ; कसैलाई दिनहुँ दिसा हुन्छ भने कसैलाई दुई-तीन दिन बिराएर हुन सक्छ। सामान्य मेडिकल मापदण्ड अनुसार हप्तामा न्यूनतम ३ पटक सहज रूपमा दिसा हुनुलाई सामान्य मानिन्छ। तर ड्राइभर, शिक्षक वा विद्यार्थीहरूले हतारमा वा कामको कारणले दिसा रोकेर बस्ने बानी बसाल्नु हुँदैन।
कब्जियत कति प्रकारका हुन्छन्?
कब्जियतलाई यसको अवधि अनुसार दुई प्रकारमा बाँडिन्छ: १. अस्थायी वा अल्पकालीन: तनाव, यात्रा वा खानपिन नमिल्दा हुने कब्जियत, जुन सिम्पल लेग्जेटिभ्स वा खानपिन सुधारेर ठिक हुन्छ। २. दीर्घकालीन: महिना वा वर्षौंसम्म चलिरहने कब्जियत, जसको लागि डाक्टरकहाँ गएर के कारणले भएको हो भनेर इभ्यालुएसन गराउनुपर्छ।
अस्वस्थ जीवनशैली बाहेक कब्जियत गराउने अन्य रोग वा शारीरिक कारणहरू के-के हुन्?
शरीरका अन्य धेरै कारणहरूले पनि कब्जियत गराउन सक्छन्; जस्तै आन्द्राको चाल सुस्त हुनु वा पेल्भिक फ्लोरका मांसपेशीहरूको तालमेल नमिल्नु। साथै, हाइपोथायराइडिजम, मधुमेह, इरिटेबल बाउल सिन्ड्रोम भएका बिरामी र एन्टीसाइकोटिक औषधि वा आइरन चक्की खाइरहेका व्यक्तिहरूमा पनि कब्जियत देखा पर्छ।
कब्जियतले बिरामीको दैनिक र मानसिक जीवनमा कस्तो प्रभाव पार्छ?
दिसा क्लियर नहुँदा पेट ढुम्म फुल्ने, ग्यास आउने र सामाजिक रूपमा हिँडडुल गर्दा असजिलो महसुस हुन्छ। यसले गर्दा खान मन नलाग्ने र अरूसँग बोल्न वा घुलमिल हुन असजिलो भई मानिसको मुड, भावना र व्यवहारमै परिवर्तन आउँछ।हिसाब, पिसाब र दिसा क्लियर भयो भने शरीर र समाज दुवै सहज हुन्छ; यहाँसम्म कि कब्जियतका कारण मानसिक तनाव भई सुसाइड गर्छु भन्नेसम्मका बिरामीहरू पुगेका छन्।
ट्वाइलेटमा धेरै समय बस्नु र कन्नेर दिसा गर्नु किन खतरनाक छ?
मानिसहरू ट्वाइलेटमा मोबाइल वा पत्रिका लिएर १० देखि ३० मिनेटसम्म बस्ने र बल गरेर दिसा गर्ने गर्छन्, जुन एकदमै गलत बानी हो। ट्वाइलेटमा बिताउने समय अधिकतम ३० सेकेन्डदेखि २ मिनेटसम्म मात्र हुनुपर्छ। दिसा कनेर गर्नाले मलद्वारमा पाइल्स, रेक्टल प्रोल्याप्स र चिरा पर्ने जस्ता धेरै समस्याहरू निम्तिन्छन्।
कब्जियत हुन नदिन ध्यान दिनुपर्ने ४ मुख्य नियमहरू के-के हुन्?
४ वटा कुरा सधैँ सम्झिनुपर्छ: १. प्रशस्त पानी: दैनिक २ देखि ३ लिटर पानी पिउने। २. फाइबरयुक्त खाना: दैनिक २५ देखि ३० ग्राम फाइबरयुक्त खाना (सागपात, काँक्रो, गाजर, मुला, सलाद, फलफूल) खाने। ३. शारीरिक व्यायाम: नियमित रूपमा वर्कआउट वा हिँडडुल गर्ने, लामो समय सुत्ने वा बसिरहने नगर्ने। ४. बाउल ह्याबिट: निश्चित समयमा दिसा गर्ने र दिसा रोकेर नबस्ने।
दिसा गर्नका लागि सही र स्वस्थ पोजिसन कुन हो?
परम्परागत नेपाली प्यान पोजिसनलाई दिसा गर्नका लागि सबैभन्दा 'हेल्दी पोजिसन' मानिन्छ। अहिलेको आधुनिक कमोड पोजिसन कम्फर्टेबल भए पनि स्वास्थ्यका दृष्टिले उत्तम मानिँदैन। कमोड प्रयोग गर्दा खुट्टा मुनि सानो काठको स्टुल राखेर घुँडालाई अलिकति माथि उठाउनाले एङ्गल मिल्छ र दिसा सहजै निस्कन मद्दत पुग्छ।
दिसामा रगत देखिनेबित्तिकै पाइल्स नै भएको मान्न सकिन्छ?
दिसामा रगत देखिनेबित्तिकै मानिसहरू आफूलाई पाइल्स नै भयो भन्ने ठान्छन्, जुन गलत हो। पाइल्स बाहेक एनल फिसर, इन्फ्लामेटरी बाउल डिजिज, कोलाइटिस, डाइभर्टिकुलर डिजिज र आन्द्रा वा मलद्वारको क्यान्सरका कारणले पनि दिसामा रगत आउन सक्छ।
पाइल्स, एनल फिसर र फिस्टुलामा के-के भिन्नता छ?
पाइल्स भनेको मलद्वारको रक्तनली वा मासु सुन्निने वा बाहिर निस्कने समस्या हो, जुन सुरुका चरणमा दुख्दैन। एनल फिसर भनेको कडा दिसा गर्दा भित्री मलद्वारमा चिरा पर्ने वा घाउ हुने समस्या हो, जसमा अत्यधिक दुखाइ, पोल्ने र ताजा रगत आउने गर्छ। फिस्टुला भनेको मलद्वारको ग्रन्थिमा इन्फेक्सन भई पिलो बन्ने र त्यो फुटेर मलद्वार र बाहिरी छाला बिच सुरुङ जस्तै नली बनी पिप र रगत आउने समस्या हो।
पाइल्सका विभिन्न चरणहरू के-के हुन्?
भित्री पाइल्सका ४ वटा डिग्री हुन्छन्: फर्स्ट डिग्री: सामान्यतया कुनै लक्षण वा दुखाइ हुँदैन। सेकेन्ड डिग्री: दिसा गर्दा मासु थोरै बाहिर निस्किन्छ र आफै भित्र जान्छ। थर्ड डिग्री: मासु बाहिर निस्केपछि हातले ठेलेर भित्र पठाउनुपर्छ। फोर्थ डिग्री: मासु बाहिरै अड्किएर बस्छ।
रेक्टल प्रोल्याप्स भनेको के हो?
लामो समयसम्म बल लगाएर दिसा गर्नाले वा पेल्भिक फ्लोरका मांसपेशीहरू कमजोर हुनाले मलद्वार वा आन्द्रा नै बाहिर खस्ने समस्यालाई रेक्टल प्रोल्याप्स भनिन्छ।
के कब्जियतले सोझै क्यान्सर गराउँछ? यसका खतराका लक्षण के-के हुन्?
कब्जियतले सोझै क्यान्सर गराउँदैन, तर क्यान्सर भइसकेको छ भने लक्षणका रूपमा कब्जियत देखिन सक्छ। ५० वर्षभन्दा माथिका व्यक्तिहरूमा दिसा हुने बानीमा एक्कासी परिवर्तन आउनु (कहिले कब्जियत, कहहिले पखाला), दिसामा रगत वा र्याल आउनु, पेट दुख्नु, बिना कारण तौल घट्नु र खान मन नलाग्नु क्यान्सरका रेड फ्ल्याग (खतराका सङ्केत) हुन्।
आन्द्रा वा मलद्वारको क्यान्सर पत्ता लगाउन कुन स्क्रिनिङ टेस्ट गरिन्छ?
४५ वर्ष कटेका मानिसहरू र पारिवारिक इतिहासमा क्यान्सर भएका व्यक्तिहरूका लागि कोलोनोस्कोपी परीक्षण गर्नु सबैभन्दा उत्तम स्क्रिनिङ उपाय हो। नेपालमा २० वर्षका युवाहरूमा समेत रेक्टम क्यान्सर भेटिएको हुनाले शङ्का लागेमा समयमै कोलोनोस्कोपी गराउनुपर्छ।
पाइल्स, फिसर र फिस्टुलाको आधुनिक शल्यक्रिया कसरी गरिन्छ?
अहिले मिनिमल्ली इन्भेसिभ प्रविधि जस्तै लेजर शल्यक्रिया र स्टेप्लर प्रविधिबाट शल्यक्रिया गरिन्छ। ढाडमा सुई दिएर गरिने यी शल्यक्रियामा ठुलो घाउ बनाउनु पर्दैन, दुखाइ कम हुन्छ र बिरामी बिहान भर्ना भएर ३ देखि ५ घण्टाभित्रै घर फर्कन सक्छन्।
जथाभावी धामीझाँक्री वा अप्रमाणित ठाउँमा उपचार गराउँदा कस्तो जोखिम हुन्छ?
बोर्डर क्षेत्रमा वा अप्रमाणित ठाउँमा 'बिना चिरफार ग्यारेन्टी उपचार' भन्दै जथाभावी औषधिको नाममा उपचार गराउँदा मलद्वार नै बन्द हुने र क्यान्सर जस्तो गम्भीर रोग हुने खतरा हुन्छ। ग्वार्कोको एउटा क्लिनिकमा जथाभावी उपचार गराउँदा मलद्वार बन्द भई पेटबाट आन्द्रा बाहिर निकालेर झोला जोड्नुपरेको र पाइल्स भनेर आयुर्वेदिक औषधि खाँदाखाँदै क्यान्सर फैलिएर बिरामीको मृत्यु भएको घटनाहरू रहेका छन्।
जिम जानेहरू, प्रोटिन पाउडर र फास्टफुड खानेहरूले के ध्यान दिने?
जिम जानेहरूले खाने प्रोटिन पाउडर र रातो मासुले अत्यधिक कब्जियत गराउँछ। त्यसैले प्रोटिन पाउडरको सट्टा प्राकृतिक खानेकुरा (अण्डाको सेतो भाग, माछा, कुखुरा) खाने, मैदायुक्त फास्टफुड (मोमो, चाउमिन, पिज्जा) नखाने र पेटको स्वास्थ्यका लागि दही र ओरिजिनल मह खान सकिन्छ।
गर्भवती तथा सुत्केरी महिलामा हुने कब्जियत कसरी व्यवस्थापन गर्ने?
गर्भवती अवस्थामा हर्मोनल परिवर्तन, स्ट्रेस र आइरन चक्कीको सेवनले कब्जियत हुन्छ। यस अवस्थामा पर्याप्त फाइबर खाने, पानी पिउने र डाक्टरको सल्लाहमा निश्चित समयका लागि सुरक्षित लेग्जेटिभ्स प्रयोग गरेर कब्जियत नियन्त्रण गर्नुपर्छ।