कल्पना गर्नुहोस् त, भोलि सामान्य पिसाबको संक्रमण निको पार्ने औषधिले काम गर्न छोड्यो भने के होला? सामान्य घाउमा भएको संक्रमण गम्भीर बन्यो वा सामान्य शल्यक्रियापछि हुने संक्रमणको उपचारका लागि प्रभावकारी औषधि नै उपलब्ध भएन भने के होला?
सुन्दा असम्भवजस्तो लागे पनि विश्व स्वास्थ्य क्षेत्रमा यो खतरा दिनप्रतिदिन बढिरहेको छ। यसलाई एन्टिमाइक्रोबियल प्रतिरोध भनिन्छ। यो आज विश्वकै गम्भीर जनस्वास्थ्य चुनौतीमध्ये एक हो।
हरेक वर्ष नोभेम्बर १८ देखि २४ सम्म विश्वभर एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताह मनाइन्छ। यसको मुख्य उद्देश्य एन्टिबायोटिक तथा अन्य एन्टिमाइक्रोबियल औषधिको उचित प्रयोगबारे जनचेतना फैलाउनु र भविष्यका पुस्ताका लागि यी औषधिको प्रभावकारिता जोगाउनु हो।
एन्टिबायोटिक: जीवन बचाउने औषधि, तर प्रयोगमा बढ्दो लापरबाही
एन्टिबायोटिक आधुनिक चिकित्साविज्ञानको अमूल्य उपलब्धि हो। यसले लाखौँ मानिसको ज्यान बचाएको छ। तर विडम्बना, आज हाम्रो समाजमा यसको प्रयोग अत्यन्त सामान्य र लापरबाहीपूर्ण बन्दै गएको छ।
हामीले दैनिक जीवनमा देख्ने केही उदाहरण हेरौँ:
- सामान्य रुघाखोकी लाग्दा एजिथ्रोमाइसिन वा एमोक्सिसिलिन सेवन गर्ने।
- पहिले प्रयोग गरेर बाँकी रहेको एन्टिबायोटिक पुनः ज्वरो आउँदा प्रयोग गर्ने।
- परिवारको एक सदस्यले प्रयोग गरेको औषधि अर्को सदस्यले पनि सेवन गर्ने।
- दुई–तीन दिनमै राम्रो महसुस भएपछि चिकित्सकसँग सल्लाह नगरी औषधि बन्द गर्ने।
- औषधि पसलबाट चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक किनेर सेवन गर्ने।
- चिकित्सकले आवश्यक छैन भन्दा पनि एन्टिबायोटिक लेखिदिन दबाब दिने।
तर बुझ्नुपर्ने कुरा के हो भने सामान्य रुघाखोकी तथा धेरैजसो भाइरल संक्रमणमा एन्टिबायोटिकले काम गर्दैन। यसको जथाभावी प्रयोगले ब्याक्टेरियामा औषधि प्रतिरोध विकास हुने जोखिम बढाउँछ।
एन्टिबायोटिकको दुरुपयोगले निम्त्याउने गम्भीर परिणाम
एन्टिबायोटिकको गलत प्रयोगले केवल एक व्यक्तिलाई मात्र होइन, सम्पूर्ण समाजलाई असर गर्छ।
- १. औषधिले काम गर्न छोड्छ: ब्याक्टेरियाले एन्टिबायोटिकविरुद्ध प्रतिरोध क्षमता विकास गर्छन्, जसका कारण सामान्य एन्टिबायोटिकसमेत प्रभावहीन हुन सक्छन्।
- २. सामान्य संक्रमण जटिल बन्छ: सामान्य पिसाबको संक्रमण वा घाउको संक्रमणसमेत गम्भीर बन्न सक्छ र अस्पताल भर्ना गर्नुपर्ने अवस्था आउन सक्छ।
- ३. उपचार खर्च बढ्छ: महँगा औषधि, थप परीक्षण, लामो अस्पताल बसाइ र सघन उपचार आवश्यक पर्न सक्छ।
- ४. मृत्युदर बढ्न सक्छ: समयमै प्रभावकारी औषधि उपलब्ध नभएमा गम्भीर संक्रमणले बिरामीको ज्यानसमेत लिन सक्छ।
- ५. आधुनिक उपचार जोखिमपूर्ण बन्छ: शल्यक्रिया, सिजेरियन प्रसूति, अंग प्रत्यारोपण र क्यान्सर उपचारका क्रममा हुने संक्रमण नियन्त्रण गर्न कठिन हुन सक्छ।
नेपालमा पनि औषधि प्रतिरोधी क्षयरोग, पिसाबको औषधि प्रतिरोधी संक्रमण र अस्पतालमा हुने बहुऔषधि प्रतिरोधी संक्रमण यस समस्याका गम्भीर उदाहरण हुन्। त्यस्तै, पशुपन्छीमा एन्टिबायोटिकको अनुचित प्रयोगले पनि प्रतिरोधी सूक्ष्मजीव फैलिने जोखिम बढाउँछ।
यसको नियन्त्रण कसरी गर्ने?
एन्टिमाइक्रोबियल प्रतिरोध नियन्त्रण चिकित्सकको मात्र जिम्मेवारी होइन, यो हामी सबैको साझा दायित्व हो।
आम नागरिकले:
- चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक सेवन नगर्ने।
- अरूको औषधि प्रयोग नगर्ने र बाँकी रहेको एन्टिबायोटिक पुनः प्रयोग नगर्ने।
- चिकित्सकले तोकेको मात्रा, समय र अवधिअनुसार औषधि सेवन गर्ने। औषधि बन्द गर्नुअघि वा सेवन अवधिमा परिवर्तन गर्नुपरेमा चिकित्सकसँग सल्लाह लिने।
- हातको सरसफाइ, सुरक्षित खाना र खोपलाई प्राथमिकता दिने।
चिकित्सक तथा स्वास्थ्यकर्मीले:
- आवश्यक अवस्थामा मात्र एन्टिबायोटिक सिफारिस गर्ने।
- प्रमाणमा आधारित उपचार निर्देशिकाको पालना गर्ने।
- आवश्यकताअनुसार कल्चर तथा सेन्सिटिभिटी परीक्षण गर्ने।
- बिरामीलाई औषधिको सही प्रयोगबारे जानकारी दिने।
- अस्पताल तथा सरकारले:
- एन्टिमाइक्रोबियल स्टेवार्डसिप कार्यक्रम सञ्चालन गर्ने।
- एन्टिबायोटिक प्रयोगको नियमित अडिट तथा अनुगमन गर्ने।
- प्रयोगशाला सेवा तथा संक्रमण रोकथाम र नियन्त्रण प्रणाली सुदृढ गर्ने।
- औषधिको बिक्री तथा वितरणलाई प्रभावकारी रूपमा नियमन गर्ने।
यसका साथै मानव स्वास्थ्य, पशु स्वास्थ्य र वातावरणबीचको अन्तरसम्बन्धलाई ध्यानमा राख्दै ‘अन हेल्थ’ अवधारणाअनुसार एकीकृत प्रयास गर्नु आवश्यक छ।
निष्कर्ष: आज दुरुपयोग गरेको एन्टिबायोटिक भोलि हामीलाई नै आवश्यक पर्न सक्छ!
एन्टिबायोटिक सामान्य औषधि होइन, यो जीवन बचाउने अमूल्य सम्पत्ति हो। यसको अनावश्यक प्रयोगले भविष्यमा हामीलाई नै प्रभावकारी उपचारबाट वञ्चित गर्न सक्छ।
हरेक ज्वरोमा एन्टिबायोटिक आवश्यक हुँदैन। हरेक खोकीमा एन्टिबायोटिक चाहिँदैन। राम्रो चिकित्सक त्यो होइन, जसले धेरै औषधि लेख्छ; राम्रो चिकित्सक त्यो हो, जसले आवश्यक औषधि मात्र सही तरिकाले लेख्छ।
यस विश्व एन्टिमाइक्रोबियल प्रतिरोध सचेतना सप्ताहमा हामी सबैले एउटा प्रतिबद्धता गरौँ- आफूखुसी औषधि सेवन बन्द गरौँ, अनावश्यक एन्टिबायोटिक प्रयोग नगरौँ र संक्रमण रोकथामलाई प्राथमिकता दिऔँ।
याद राखौँ: एन्टिबायोटिक मिठाई होइन, यो जीवन बचाउने औषधि हो। यसको प्रभावकारिता जोगाउनु हामी सबैको साझा जिम्मेवारी हो।
आज एन्टिबायोटिकको सही प्रयोग गरौँ, भोलिको जीवन सुरक्षित बनाऔँ!