काठमाडौं । स्वास्थ्य मन्त्री निशा मेहताले जेनजी आन्दोलनका क्रममा घाइते भएका शान्तनु ढकालको उपचार खर्च सरकारले बेहोर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। तर, नेता निकोलस भुषालले भने सरकारले प्रतिबद्धता जनाए पनि उपचारका लागि आवश्यक सहयोग प्रभावकारी रूपमा उपलब्ध नगराएको आरोप लगाएका छन्।
मन्त्री मेहताले सामाजिक सञ्जालमा घाइतेहरूको उपचारबारे व्यक्त भइरहेका चासो र प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाउँदै त्रिवि शिक्षण अस्पतालमा उपचाररत ढकालको शल्यक्रियाबारे आफू निरन्तर जानकार रहेको बताएकी छन्।
उनले जेनजी आन्दोलनका क्रममा घाइते भएका सबैको उपचार प्रचलित कानुनी व्यवस्थाअनुसार भइरहेको र उपचार खर्च सरकारले बेहोर्ने व्यवस्था रहेको स्पष्ट पारेकी छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत उपचारमा लागेको खर्चको आवश्यक भुक्तानी तथा सोधभर्ना प्रक्रिया अघि बढाइने उनको भनाइ छ। आर्थिक अभावका कारण कुनै पनि घाइते आवश्यक उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन नदिने उनले प्रतिबद्धता जनाएकी छन्।
यता, नेता निकोलस भुषालले शान्तनुको उपचारमा सरकारले आवश्यक सहयोग नगरेको भन्दै गुनासो गरेका छन्।
सामाजिक सञ्जालमा आफ्नो भनाइ सार्वजनिक गर्दै भुषालले शान्तनुको बिहान ८ बजेदेखि निरन्तर शल्यक्रिया भइरहेको र अझै ७ देखि ८ घण्टा लाग्ने जानकारी दिएका छन्। उनका अनुसार मुखभित्रको हड्डीमा संक्रमण देखिएकाले संक्रमित हड्डी काट्ने काम सकेर खुट्टाको हड्डी निकालेर अनुहारमा प्रत्यारोपण गर्नुपर्ने अवस्था छ।
शल्यक्रिया निकै जोखिमपूर्ण रहेको उल्लेख गर्दै उनले अस्पताल र चिकित्सकले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको बताएका छन्। तर, शल्यक्रियाका लागि आवश्यक प्लेट तथा महँगा औषधिहरू बाहिरबाट ल्याउनुपर्ने भएकाले उपचार खर्च निरन्तर बढिरहेको उनको भनाइ छ।
सरकारी सहयोगका लागि विभिन्न मन्त्रालय तथा निकायमा पुगेर आग्रह गरे पनि अपेक्षित सहयोग पाउन नसकेको भुषालले आरोप लगाएका छन्। उनका अनुसार एक वर्ष बितिसक्दा पनि विराट मेडिकल कलेजमा भएको पुरानो शल्यक्रियाको खर्चसमेत भुक्तानी हुन सकेको छैन।
‘सरकारलाई गुहार नगरेको होइन, नपुगेको मन्त्रालय र संस्था छैन,’ भुषालले लेखेका छन्, ‘गर्दिनँ र हुँदैन पनि कसैले भनेका छैनन्, तर एक वर्षसम्म पनि पुरानो उपचार खर्च पाउन सकेका छैनौँ।’
शान्तनुको उपचार र परिवारले भोगिरहेको पीडा देखेर आफू सार्वजनिक रूपमा बोल्न बाध्य भएको उनले बताएका छन्। पछिल्लो समय विभिन्न क्षेत्रबाट सहयोगका लागि फोन तथा सन्देश आइरहेको र प्रधानमन्त्री कार्यालयबाट समेत ऋषि थापाले सहजीकरण गरिरहेको उनले उल्लेख गरेका छन्।
भुषालले शान्तनुको उपचार सफल होस् र परिवारले फेरि यस्तो पीडा सार्वजनिक गर्नुपर्ने अवस्था नआओस् भन्ने आशा व्यक्त गरेका छन्।
यसैबीच, थप उपचारका लागि भारत पठाउनुपर्ने केही घाइतेहरूको व्यवस्थापनका लागि पनि आवश्यक प्रक्रिया अघि बढिरहेको मन्त्री मेहताले बताएकी छन्। यसका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ छ।