अमेरिका- हेल्थ फाउन्डेसन नेपालको १४औँ वार्षिक सम्मेलनले नयाँ कार्यकारी समिति गठन गरेको छ। सम्मेलनबाट डा. श्रीधर पौडेल पुनः अध्यक्षमा निर्वाचित भएका छन्। संस्थाले नेपालका ग्रामीण तथा सहरी क्षेत्रमा स्वास्थ्य सेवाबाट वञ्चित र आर्थिक रूपमा कमजोर समुदायलाई स्वास्थ्य सेवा पुर्याउने आफ्नो अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
नयाँ कार्यसमितिको कार्यकारी निर्देशकमा प्रतीक्षा खत्री चयन भएकी छन्। उपाध्यक्षमा डा. सञ्जय यादव र डा. दीपेन्द्र थपलिया चयन भएका छन्। महासचिव तथा उपनिर्देशकमा डा. नवीन भट्ट, सचिवमा प्रयास गौतम र कोषाध्यक्षमा झविन्द्र घिमिरे चयन भएका छन्।
त्यसैगरी, २० सदस्यीय सञ्चालक समितिमा डा. अशोक देवकोटा, डा. यशस्वी पोखरेल, नील धिताल, डा. रञ्जित सापकोटा, डा. विनिता शर्मा, डा. सुनील बोगटी, सावित्री बस्नेत, डा. अतीत तिवारी, सुचिता अधिकारी थापा, डा. जितेन्द्र श्रेष्ठ, डा. प्रतिभा सुवेदी, विनिता अधिकारी, डा. कुम्भराज जोशी, डा. राजेश शर्मा, डा. मनोज भट्टराई, डा. आदित्य जोशी, डा. मुकेश अधिकारी, डा. मोहित ओझा, डा. अनु अर्याल र डा. पविता ढुङ्गेल रहेका छन्।
हेल्थ फाउन्डेसन नेपाल सन् २०१३ मा स्थापना भएको गैरराजनीतिक तथा गैरनाफामूलक संस्था हो। संस्था अमेरिका र नेपाल दुवै देशमा दर्ता छ। अमेरिकामा ५०१(सी)(३) अन्तर्गत गैरनाफामूलक संस्थाका रूपमा मान्यता प्राप्त यसले काठमाडौँस्थित कार्यालयमार्फत नेपालमा आफ्ना कार्यक्रम सञ्चालन गर्दै आएको छ।
संस्थाको मुख्य उद्देश्य समुदायमा आधारित संस्थालाई आर्थिक तथा प्राविधिक सहयोग गर्नु, जनस्वास्थ्यसम्बन्धी अनुसन्धान गर्नु र प्राथमिक स्वास्थ्य सेवामार्फत प्रत्यक्ष उपचार उपलब्ध गराउनु हो।
यसले मानसिक स्वास्थ्य, सुरक्षित खानेपानी, सरसफाइ, पोषण, बाल तथा मातृ स्वास्थ्य, परिवार नियोजन, किशोरकिशोरीको प्रजनन स्वास्थ्य, महिला सशक्तीकरण तथा विपद् र महामारीका बेला मानवीय सहयोगजस्ता क्षेत्रमा काम गर्दै आएको छ।
नयाँ नेतृत्वले संस्थाको उद्देश्यअनुसार नेपालका आवश्यकतामा परेका समुदायसम्म स्वास्थ्य सेवा विस्तार गर्ने जिम्मेवारी पाएको छ। नेपालको दुर्गम तथा पिछडिएका क्षेत्रका नागरिकको स्वास्थ्य सुधारमा सक्रिय संस्था ‘हेल्थ फाउन्डेसन नेपाल’ को १४औँ वार्षिक सम्मेलन अमेरिकाको मेरिल्यान्ड राज्यस्थित बाल्टिमोर सहरमा भव्य रूपमा सम्पन्न भएको हो।
नोभेम्बर १३ देखि १५, २०२६ सम्म भर्चुअल तथा हाइब्रिड माध्यमबाट आयोजित उक्त सम्मेलनको मुख्य नारा “विपद्भन्दा पर: मनको उपचार, समुदायको सुदृढीकरण र उत्थानशीलताको निर्माण” तय गरिएको थियो।
सम्मेलनको पूर्वसन्ध्यामा संस्थाका अध्यक्ष तथा हार्भर्ड मेडिकल स्कुलका सहायक प्राध्यापक डा. श्रीधर पौडेल, डा. अशोक देवकोटा, भर्जिनियाका समाजसेवी प्रेम पौडेललगायतले नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच. डेलिसी तथा मेरिल्यान्ड राज्यका नेपाली मूलका सांसद डा. ह्यारी भण्डारीसँग भेटवार्ता गरेका थिए।