काठमाडौं - ह्याम्स अस्पताल सञ्चालन गर्ने ह्याम्स ग्रुपले अटोमोबाइल क्षेत्रमा लगानी विस्तार गरेको छ । ग्रुपको लगानीमा नेपाल भित्रिएको अन्तर्राष्ट्रिय मोटरसाइकल ब्रान्ड क्यूजे मोटर्सको ब्रान्ड एम्बेसडरमा पूर्वक्रिकेटर पारस खड्का नियुक्त भएका छन् ।
क्यूजे मोटर्सको ब्रान्ड सार्वजनिक तथा ब्रान्ड एम्बेसडर घोषणा कार्यक्रममा ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारी र पारस खड्काको उपस्थिति थियो । कार्यक्रममा खड्कालाई क्यूजे मोटर्सको ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै ह्याम्स ग्रुपका अध्यक्ष भण्डारीले नेपालमा अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादन भित्र्याउने उद्देश्यसहित क्यूजे मोटर्ससँग सहकार्य गरिएको बताए । उनले नेपाली उपभोक्तालाई प्रिमियम श्रेणीका मोटरसाइकल तुलनात्मक रूपमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने लक्ष्य रहेको उल्लेख गरे ।

उनका अनुसार कम्पनीले बजारमा केही मोटरसाइकल पठाइसकेको छ । प्रारम्भिक ग्राहकबाट प्राप्त प्रतिक्रियासमेत सकारात्मक रहेको उनले बताए । प्रिमियम विशेषता भएका मोटरसाइकल अन्य प्रचलित ब्रान्डको तुलनामा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउनु कम्पनीको मुख्य लक्ष्य रहेको उनको भनाइ छ ।
कार्यक्रममा ब्रान्ड एम्बेसडर पारस खड्काले नेपालमा निजी क्षेत्रको लगानी खेलकुदमा समेत विस्तार हुँदै जानु सकारात्मक भएको बताए । उनले ह्याम्स ग्रुपले व्यक्तिगत रूपमा मात्र नभई संस्थागत रूपमा खेलकुदमा लगानी गरिरहेको उल्लेख गर्दै यस्तो लगानीले नेपाली क्रिकेटको व्यावसायिक विकासमा सहयोग पुग्ने बताए ।
ह्याम्स ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग पनि साझेदारी गरेको छ । खड्काले क्रिकेटमा निजी क्षेत्रको संस्थागत लगानीले खेलकुद उद्योगलाई थप व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा क्यूजे मोटर्सले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति र उत्पादनबारे जानकारी गराएको थियो । कम्पनीले क्यूजे मोटर्ससँगै बेनेली ब्रान्डका मोटरसाइकलसमेत उत्पादन गर्ने गरेको कार्यक्रममा जानकारी दिइयो ।
ह्याम्स ग्रुप स्वास्थ्य क्षेत्रमा ह्याम्स अस्पतालमार्फत परिचित छ । स्वास्थ्य क्षेत्रबाट व्यवसाय विस्तार गर्दै ग्रुपले अब अटोमोबाइल क्षेत्रमा समेत लगानी गरेको हो ।

क्यूजे मोटर्सको नेपालस्थित व्यवसायको नेतृत्व ह्याम्स ग्रुपका अध्यक्ष आरएस भण्डारीका छोरा समीर भण्डारीले गर्नेछन् । उनले कम्पनीको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हाल्नेछन् । ह्याम्स ग्रुपले स्वास्थ्य क्षेत्रबाट व्यवसाय विस्तार गर्दै अटोमोबाइल क्षेत्रमा प्रवेश गरेको हो । समीरको नेतृत्वमा क्यूजे मोटर्सले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका गुणस्तरीय मोटरसाइकल भित्र्याउने तथा बजार विस्तार गर्ने लक्ष्य राखेको छ।