काठमाडौं- नेपाल नेत्ररोग विशेषज्ञ समाज (नेपाल अप्थाल्मिक सोसाइटी–एनओएस) को आयोजनामा २८औँ एनओएसकन, ९औँ एसिया–प्यासिफिक अप्थाल्मिक ट्रमा सोसाइटी कंग्रेस र छैठौँ नेप्लिज सोसाइटी अफ अकुलोप्लास्टिक सर्जन्स कंग्रेस काठमाडौंमा सम्पन्न भएको छ।
होटल सोल्टीमा कात्तिक २६ देखि २८ गते (नोभेम्बर १२–१४) सम्म सञ्चालन भएको तीनदिने अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा १४ देशका ६० भन्दा बढी विदेशीसहित ४५० भन्दा बढी प्रतिनिधि र १५० भन्दा बढी वक्ताहरूको सहभागिता रहेको थियो। नेपालले पहिलो पटक एपीओटीएस कंग्रेसको आतिथ्य गरेको हो।
'इमर्जेन्सी टु एस्थेटिक्स: आँखा, दृष्टि र आत्मविश्वास पुनर्निर्माणका लागि उप–विशेषज्ञताको एकीकरण' भन्ने मूल नाराका साथ आयोजित सम्मेलनमा अमेरिकन एकेडेमी अफ अप्थाल्मोलोजीको विशेष शैक्षिक सत्र तथा मेडिकल अधिकृत र अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि आँखाको चोटपटक (अकुलर ट्रमा) व्यवस्थापनसम्बन्धी व्यावहारिक कार्यशाला सञ्चालन गरिएको थियो।
सोही अवसरमा एनओएसले ताइवान अप्थाल्मोलोजिकल सोसाइटी, एसीओआईएन र अप्थाल्मोलोजिकल सोसाइटी अफ बंगलादेशसँग अन्तर्राष्ट्रिय सहकार्य तथा शैक्षिक आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
नेपाल अप्थाल्मिक सोसाइटीका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम जोशीले १४ देशका विशेषज्ञहरूको सहभागिताले नेपाली नेत्र चिकित्सा क्षेत्रलाई विश्वमञ्चमा थप स्थापित गरेको बताए।
त्यस्तै, सोसाइटीका महासचिव एवं सम्मेलनका आयोजक सचिव डा. तेज्सु सिंह मल्लले पहिलो पटक एपीओटीएस कंग्रेससहितको संयुक्त सम्मेलन सफल हुनु नेपाली नेत्र चिकित्सक समुदायका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।
वरिष्ठ नेत्ररोग विशेषज्ञ तथा आवासीय चिकित्सकहरूलाई विभिन्न अवार्ड
सम्मेलनका अवसरमा नेत्र चिकित्सा क्षेत्रको विकास, अनुसन्धान र मानवीय सेवामा उल्लेखनीय योगदान पुर्याउने स्वदेशी तथा विदेशी चिकित्सकहरूलाई विभिन्न प्रतिष्ठित अवार्डबाट सम्मान गरिएको छ।
नेत्र चिकित्सा शिक्षा, सामुदायिक आँखा स्वास्थ्य र संस्थागत विकासमा पुर्याएको दीर्घकालीन योगदानको कदर गर्दै चार जना वरिष्ठ नेत्ररोग विशेषज्ञहरूलाई ‘एनओएस लाइफटाइम अचिभमेन्ट अवार्ड २०२६’ प्रदान गरिएको छ। सम्मानित हुनेहरूमा प्रा.डा. सुनु दुलाल, प्रा.डा. ज्योति बाबा श्रेष्ठ, प्रा.डा. दामोदर प्रधान र प्रा.डा. देवनारायण शाह रहेका छन्।
‘क्योर ब्लाइन्डनेस प्रोजेक्ट’ का सह–संस्थापक तथा स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. जेफ ट्याबिनलाई अन्धोपन निवारण र हिमाली तथा विकासोन्मुख क्षेत्रमा आँखा उपचार सेवा विस्तारमा पुर्याएको योगदानका लागि प्रा.डा. मदनप्रसाद उपाध्याय नेम्ड लेक्चर अवार्ड प्रदान गरिएको छ।
विभिन्न चिकित्सा विज्ञान प्रतिष्ठान तथा विश्वविद्यालयमा अध्ययनरत उत्कृष्ट आवासीय (रेसिडेन्ट) चिकित्सकहरूलाई प्रा.डा. रामप्रसाद पोखरेल बेस्ट रेसिडेन्ट अवार्ड प्रदान गरिएको छ। पुरस्कृत हुनेहरूमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) की डा. दीप्ती पौडेल, त्रिभुवन विश्वविद्यालय (टीयू) की डा. सतेन्ला रुइत, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेज (केयूएसएमएस) की डा. न्यान्सी गोयल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) का डा. विनय कामत रहेका छन्।


