काठमाडौं– बाँकेको कोहलपुर नगरपालिका–११ स्थित थापा पोलिक्लिनिकमा उपचारका लागि गएकी एक महिला बिरामीको संवेदनशील अंग छोएको आरोपमा प्रहरीले पोलिक्लिनिकका सञ्चालक गणेशबहादुर थापालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, २०८३ असोज १७ गते सामाजिक सञ्जालमा उक्त घटनासम्बन्धी भिडियो सार्वजनिक भएपछि पीडितबाट करणीसम्बन्धी कसूरमा जाहेरी प्राप्त भएको थियो।
प्रहरीका अनुसार कोहलपुर नगरपालिका–११ बस्ने ६३ वर्षीय थापालाई पक्राउ गरी बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
यस्तो अवस्थामा च्यापरोन किन आवश्यक हुन्छ?
स्वास्थ्य उपचारका क्रममा महिला बिरामीको संवेदनशील वा गोप्य अंगको परीक्षण गर्नुपर्ने अवस्था आउन सक्छ। यस्तो परीक्षण गर्दा चिकित्सक वा स्वास्थ्यकर्मीले बिरामीको सहमति, गोपनीयता, मर्यादा र सुरक्षालाई प्राथमिकता दिनुपर्छ।
नेपाल मेडिकल काउन्सिलको कोड अफ एथिक्स एन्ड प्रोफेसनल कन्डक्ट–२०१७ ले चिकित्सकको व्यावसायिक आचरणसम्बन्धी व्यवस्था गरेको छ। काउन्सिलको आचारसंहितामा विपरीत लिङ्गका बिरामीको परीक्षण गर्दा तेस्रो व्यक्तिको उपस्थितिसम्बन्धी व्यवस्था गरिएको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ अन्तर्गत दर्ता हुने अन्य स्वास्थ्य व्यवसायीहरू (जस्तै: हेल्थ असिस्टेन्ट, रेडियोभिडियो टेक्निसियन, ल्याब टेक्निसियन, फिजियोथेरापिस्ट आदि) का लागिसमेत परिषद्ले छुट्टाछुट्टै विधागत आचारसंहिता जारी गरेको छ।
परिषद्को आचारसंहिता अनुसार संवेदनशील जाँच (जस्तै: भिडियो एक्सरे गर्ने, ड्रेसिङ गर्ने वा फिजियोथेरापी गर्दा) पुरुष स्वास्थ्य व्यवसायीले महिला बिरामीको सहमति बिना र तेस्रो व्यक्तिको अनुपस्थितिमा संवेदनशील अङ्गहरू छुन वा कपडा खोल्न मिल्दैन। यस्तो अवस्थामा संस्थामा कार्यरत महिला स्टाफ वा बिरामीका कुरुवालाई साक्षी राखेर मात्र उपचार प्रक्रिया अघि बढाउनुपर्छ।
यसको उद्देश्य चिकित्सकलाई मात्र निगरानी गर्नु नभई बिरामी र स्वास्थ्यकर्मी दुवैको सुरक्षा, गोपनीयता र व्यावसायिक मर्यादा कायम गर्नु हो। विशेषगरी स्तन, जननाङ्ग, गुदद्वारलगायत संवेदनशील अंगको परीक्षण गर्दा परीक्षणको आवश्यकता, प्रक्रिया र उद्देश्य बिरामीलाई बुझाएर सहमति लिनु महत्त्वपूर्ण हुन्छ।
संवेदनशील शारीरिक परीक्षणमा चिकित्सकबाहेक अर्को स्वास्थ्यकर्मी वा उपयुक्त तेस्रो व्यक्तिको उपस्थिति राख्ने अभ्यासलाई ‘च्यापरोन’ भनिन्छ। नेपाल मेडिकल काउन्सिलको आचारसंहितामा विपरीत लिङ्गका बिरामीको परीक्षण गर्दा तेस्रो व्यक्तिको उपस्थितिको व्यवस्था उल्लेख गरिएको छ।
च्यापरोनको उपस्थितिले परीक्षणका क्रममा बिरामीलाई सहज र सुरक्षित महसुस गराउन, गोपनीयता तथा मर्यादा कायम गर्न र पछि उत्पन्न हुन सक्ने विवाद वा गलत बुझाइ कम गर्न सहयोग गर्छ।
तर च्यापरोनको व्यवस्था हुनुको अर्थ स्वास्थ्यकर्मीले बिरामीको सहमति नलिई संवेदनशील अंग छुन पाउँछ भन्ने होइन। परीक्षणका लागि आवश्यक सहमति र व्यावसायिक मर्यादा कायम गर्नु स्वास्थ्यकर्मीको आधारभूत दायित्व हो।