काठमाडौं- नेपाली कांग्रेसका नेता तथा मेडिकल व्यवसायी सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएका गरेका छन्। शर्मा काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेजका सञ्चालक हुन्।
कांग्रेसलाई पुनः जनताको घरदैलोसम्म पुर्याउने उद्देश्यसहित महामन्त्रीमा उम्मेदवारी दिएको शर्माले बताएका छन्। उनले कांग्रेसको शक्ति काठमाडौंमा हुने बैठक र पार्टी कार्यालयमा नभई गाउँका नागरिक, किसान, मजदुर, शिक्षक, विद्यार्थी, व्यवसायी, युवा तथा प्रत्येक मतदातासँगको सम्बन्धमा रहेको बताएका छन्।
महामन्त्रीका रूपमा जनतासँग प्रत्यक्ष संवाद बढाउने, उनीहरूका समस्या सुन्ने र जनताका मुद्दालाई पार्टीको राजनीतिक एजेन्डा बनाउने संगठन निर्माण गर्ने आफ्नो लक्ष्य रहेको शर्माको भनाइ छ।
यसैबीच, नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी मनोनयनको समय थप गरेको छ। यसअघि आज दिउँसो ४ बजेसम्म तोकिएको मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप गरिएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।
हालसम्म महामन्त्री पदमा महिला र खुलातर्फ गरी विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन्। यसैगरी पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, शंकर तिवारी र नैनसिंह महर खुलातर्फ उम्मेदवारी दिइसकेका छन्।
त्यस्तै डिला संग्रौला र रिता खनाल महिला महामन्त्रीमा उम्मेदवारी दिएका छन्।
सहमहामन्त्रीतर्फ प्रतिमा गौतम (महिला), देवेन्द्रराज कंडेल र रामहरि खतिवडा (खुला), मनोजमणि आचार्य (खस आर्य) तथा जीवनबहादुर शाही (पिछडिएको क्षेत्र) लगायतका उम्मेदवार देखिएका छन्। उपसभापतितर्फ पुष्पा भुसाल (महिला), विनोद चौधरी र फरमुल्लाह मन्सुर (समावेशी) ले उम्मेदवारी दिएका छन्।