संक्षिप्त सारांश
नेपालमा स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच (Universal Health Coverage - UHC) हासिल गर्न र जनस्वास्थ्यका परिणामहरू सुधार गर्न सक्षम, उत्प्रेरित तथा पर्याप्त रूपमा सहयोगप्राप्त स्वास्थ्य जनशक्ति अपरिहार्य छ। चिकित्सा शिक्षा, व्यावसायिक नियमन तथा राष्ट्रिय स्वास्थ्य जनशक्ति रणनीतिको कार्यान्वयन मार्फत नेपालले उल्लेखनीय प्रगति हासिल गरेको भए तापनि स्वास्थ्य जनशक्तिको असमान वितरण, अपर्याप्त योजना प्रणाली, कमजोर सूचना प्रणाली, प्रमाणमा आधारित निर्णय प्रक्रियाको सीमित प्रयोग तथा दक्ष स्वास्थ्यकर्मीहरूको निरन्तर वैदेशिक पलायनजस्ता महत्त्वपूर्ण चुनौतीहरू अझै कायम छन्। नेपालको बदलिँदो स्वास्थ्य आवश्यकताहरू पूरा गर्न सक्ने सबल र उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका लागि सुशासन सुदृढीकरण, रणनीतिक स्वास्थ्य जनशक्ति योजना, समतामूलक परिचालन, चुस्त कार्यसम्पादन व्यवस्थापन तथा निरन्तर व्यावसायिक विकास मार्फत दक्ष, सक्षम र प्रतिबद्ध स्वास्थ्य जनशक्तिको निर्माण अत्यन्त आवश्यक रहेको छ।
परिचय
स्वास्थ्य प्रवर्द्धन, स्वास्थ्य सेवाको पहुँच तथा स्वास्थ्य गुणस्तर सुनिश्चित गर्न स्वास्थ्य जनशक्तिको महत्त्वपूर्ण भूमिका रहन्छ। कुनै पनि देशको स्वास्थ्य सेवा प्रणाली सबल बन्नका लागि दक्ष र प्रोत्साहित जनशक्ति आवश्यक पर्दछ। त्यसैले स्वास्थ्य जनशक्तिको विकासका लागि देशले चिकित्सा शिक्षा, व्यावसायिक विकासका लागि तालिम र स्वास्थ्य जनशक्तिको वृत्ति विकासका लागि ठूलो लगानी गरेको हुन्छ (WHO, 2016)। स्वास्थ्य जनशक्तिको महत्त्व केवल स्वास्थ्य सेवा प्रवाहमा मात्र सीमित छैन। संयुक्त राष्ट्रसङ्घको स्वास्थ्य रोजगारी तथा आर्थिक वृद्धिसम्बन्धी उच्चस्तरीय आयोगले स्वास्थ्य जनशक्तिमा गरिएको लगानीले स्वास्थ्य परिणामहरू सुधार गर्नुका साथै रोजगारी सिर्जना, आर्थिक वृद्धि र सामाजिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउने देखाएको छ (UN High-Level Commission on Health Employment and Economic Growth, 2016)।
स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न उल्लेखनीय प्रगति भए पनि नेपालले गुणस्तर, समता तथा वित्तीय सुरक्षासम्बन्धी चुनौतीहरू सामना गरिरहेको छ। हाल नेपालमा कुल स्वास्थ्य खर्चको करिब दुई तिहाइ भाग प्रत्यक्ष रूपमा नागरिकले आफ्नै खल्तीबाट व्यहोर्ने गरेका छन्, जसले गुणस्तरीय तथा किफायती स्वास्थ्य सेवामा पहुँचका चुनौतीहरू अझै कायम रहेको सङ्केत गर्दछ (WHO Global Health Expenditure Database, 2024; MoHP, 2023)। त्यसैले स्वास्थ्य सेवामा पहुँच, गुणस्तर र वित्तीय सुरक्षामा सुधार ल्याउन स्वास्थ्य जनशक्तिको सुदृढीकरण केन्द्रमा राख्नु पर्दछ।
को हुन् स्वास्थ्य जनशक्ति?
स्वास्थ्य जनशक्ति भन्नाले केवल डाक्टर, नर्स वा प्रत्यक्ष स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी मात्र नभई स्वास्थ्य प्रवर्द्धन (promotive), रोग रोकथाम (preventive), उपचार (curative), पुनर्स्थापना (rehabilitative) र प्रशामक (palliative) स्याहार लगायत सम्पूर्ण स्वास्थ्य सेवाको दायरामा योगदान पुर्याउने सबै व्यक्तिलाई जनाउँछ। यसमा चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी, आयुर्वेद स्वास्थ्य सेवा प्रदायक, सामुदायिक स्वास्थ्य कार्यकर्ता, स्वयंसेविका, स्वास्थ्य संस्थाका व्यवस्थापक तथा नीति निर्माता, तथ्याङ्क तथा अभिलेख व्यवस्थापनकर्मी, प्राविधिक र प्रशासनिक कर्मचारी, सरसफाइकर्मी, एम्बुलेन्स चालकलगायत सार्वजनिक, निजी र शैक्षिक संस्थाहरूमा कार्यरत स्वास्थ्य प्रणालीका सबै सहयोगी जनशक्ति समावेश हुन्छन्। यी सबैको संयुक्त योगदानले स्वास्थ्य सेवा पहुँचयोग्य, गुणस्तरीय, प्रभावकारी, समतामूलक र समुदायका आवश्यकताप्रति उत्तरदायी बनाउन महत्त्वपूर्ण भूमिका खेल्दछ।
नेपालको स्वास्थ्य प्रणालीमा कति जनशक्ति कार्यरत छन् भन्ने स्पष्ट तथ्याङ्क समष्टिगत रूपमा नभए पनि सरकारी, निजी, अनुसन्धान र अध्यापनमा समेत गरी झन्डै ४ लाख जति जनशक्तिहरू यस क्षेत्रमा काम गरिरहेको अनुमान गरिन्छ। कमजोर तथ्याङ्क आधार (database) का कारण सही तथ्याङ्क पाउन गाह्रो भए पनि, लगभग ३८,००० चिकित्सक, १,२०,००० नर्स र प्रसूतिसेवा प्रदायक (मिडवाइफ), ६०,००० सामुदायिक स्वास्थ्यकर्मी र स्वयंसेवकहरू (महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू सहित), ३७,००० प्रयोगशाला विज्ञान सम्बन्धित स्वास्थ्यकर्मी, ८,००० फार्मेसी सम्बन्धित स्वास्थ्यकर्मी र १,२०० आयुर्वेद सम्बन्धित स्वास्थ्यकर्मीहरू हाल नेपालमा कार्यरत रहेको अनुमान छ। त्यसैले स्वास्थ्य जनशक्ति स्वास्थ्य सेवा प्रदान गर्ने कुराका साथै रोजगारी सिर्जनाको हिसाबले पनि एउटा महत्त्वपूर्ण क्षेत्र हो।
स्वास्थ्य जनशक्ति विकासको रूपरेखा
स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्ने लक्ष्यमा अगाडि बढ्न सबल स्वास्थ्य प्रणालीमार्फत स्वास्थ्य जनशक्तिको उत्पादन, विकास र व्यवस्थापन तथा उनीहरूको व्यावसायिक उन्नयन र सिकाइलाई व्यवस्थित गर्नुपर्ने हुन्छ। यसका लागि तल दिएको रूपरेखामा उल्लेख गरिएका विषयहरू र त्यस अन्तर्गतका क्रियाकलापहरूलाई अन्तर्राष्ट्रिय अभ्यास र अनुसन्धानले निर्दिष्ट गरेका दिशाहरूका साथै देशभित्रै वा बाहिर देखिएका असल अभ्यासहरूको आधारमा व्यवस्थित गर्ने प्रयास जरुरी हुन्छ। यस रूपरेखामा उल्लेख भएझैँ नेपालमा स्वास्थ्य जनशक्तिमा केन्द्रित विभिन्न नीति नियमहरूले यसलाई व्यवस्थित बनाउने प्रयास भएको छ। साथै स्वास्थ्य जनशक्तिको विषयमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रभाव पार्ने विभिन्न निकायहरूको भूमिका स्पष्ट पार्दै समन्वयात्मक रूपमा उनीहरूलाई संलग्न गराउनुपर्दछ। स्वास्थ्य जनशक्तिको सूचना प्रणालीलाई व्यवस्थित गर्दै नेतृत्व र सुशासन प्रवर्द्धन गरी बहुक्षेत्रीय तथा अन्तरसरकारी समन्वय र सार्वजनिक-निजी साझेदारी मार्फत स्वास्थ्य जनशक्तिलाई सबल, सक्षम र समर्पित बनाए मात्र देशले लिएका स्वास्थ्य सम्बन्धी राष्ट्रिय-अन्तर्राष्ट्रिय विकासका लक्ष्यहरू हासिल गर्न सकिन्छ।
स्वास्थ्य जनशक्ति विकासका लागि जनशक्तिको उत्पादन, परिचालन, व्यवस्थापन, कार्यसम्पादन तथा व्यावसायिक विकासका प्रत्येक आयाममा व्यवस्थित ध्यान दिन आवश्यक हुन्छ। स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच हासिल गर्न यी सबै पक्षहरूमा समन्वित लगानीसहितको बलियो स्वास्थ्य प्रणाली आवश्यक मानिन्छ (Campbell et al., 2013)। विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्यका लागि मानव संसाधनसम्बन्धी विश्वव्यापी रणनीति २०३० ले स्वास्थ्य जनशक्ति सुदृढीकरणका लागि प्रभावकारी सुशासन, स्वास्थ्य जनशक्ति सूचना प्रणाली, रणनीतिक योजना, समतामूलक वितरण तथा सिकाइ र व्यावसायिक विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ (WHO, 2016)। यसबाहेक स्वास्थ्य जनशक्तिसम्बन्धी चुनौतीहरू स्वास्थ्य मन्त्रालयले मात्र समाधान गर्न सक्दैन। प्रभावकारी स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि सरकार, शैक्षिक संस्था, व्यावसायिक परिषद्, नियामक निकाय, निजी क्षेत्र तथा विकास साझेदारहरूबीच घनिष्ठ सहकार्य आवश्यक हुन्छ (WHO, 2016; MoHP, 2021)।

(चित्र १: स्वास्थ्य जनशक्ति विकासको रूपरेखा)
नेपालमा पनि सरकार र विभिन्न विकास साझेदारहरूको सहयोगमा स्वास्थ्य जनशक्ति विकासमा ठूलो लगानी भएको देखिन्छ। यसैका कारण विगत एक दशकमा नेपालले आफ्नो स्वास्थ्य जनशक्तिलाई बलियो बनाउन विभिन्न प्रयास गरेको छ। स्वास्थ्य जनशक्तिको क्षेत्रका महत्त्वपूर्ण उपलब्धिहरूमा चिकित्सा शिक्षा सम्बन्धी संस्थाहरूको विस्तार, चिकित्सा शिक्षा आयोग (Medical Education Commission) को स्थापना, स्वास्थ्य जनशक्ति विकासमा बढ्दो लगानी, स्वास्थ्य जनशक्ति सम्बन्धी नीति र रणनीतिहरूको विकास, र व्यावसायिक नियमनमा सुधार र निरन्तर व्यावसायिक उन्नयन (Continuous Professional Development, CPD) प्रणालीको सुरुवातहरू रहेका छन्। स्वास्थ्य जनशक्तिमा भएका यी प्रयास र लगानीहरूले स्वास्थ्यकर्मीहरूको उपलब्धता विस्तार गर्न, क्षमता अभिवृद्धि गर्न र स्वास्थ्य प्रणालीको जग बलियो बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
नेपालमा स्वास्थ्य जनशक्तिको उत्पादन र रोजगारीमा निजी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। हालको तथ्याङ्क अनुसार लगभग ८,३०० नर्स र २,६०० डाक्टरहरू वार्षिक रूपमा देश छोड्दैछन्, जुन ‘ब्रेन ड्रेन’ भनेर चिनिने स्वास्थ्य जनशक्तिको एउटा चुनौती हो। यसले देशमा आवश्यक स्वास्थ्य जनशक्तिको अभाव निम्त्याउँछ, स्वास्थ्य जनशक्तिको उत्प्रेरणा कम गर्छ र स्वास्थ्य प्रणालीलाई अझ कमजोर बनाउँछ। तसर्थ, स्वास्थ्य जनशक्ति सम्बन्धी यस्ता समस्याहरू समयमै पहिचान र व्यवस्थापन गर्न सरकार र निजी क्षेत्रले थप सहकार्य गरेर काम गर्नु अति आवश्यक छ।
स्वास्थ्य जनशक्ति विकासमा भएको प्रगतिको समीक्षा
पछिल्लो एक दशकमा नेपालले स्वास्थ्य जनशक्ति सुदृढीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। स्वास्थ्य जनशक्ति सुदृढीकरणका प्रमुख उपलब्धिहरू निम्न रहेका छन् र यी उपलब्धिहरूले स्वास्थ्य जनशक्तिको उपलब्धता, सीप तथा स्वास्थ्य प्रणालीको समग्र लचिलोपन अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएका छन् (MoHP, 2021):
- चिकित्सा तथा स्वास्थ्य व्यावसायिक शिक्षा संस्थाहरूको विस्तार।
- चिकित्सा शिक्षा आयोगको स्थापना।
- स्वास्थ्य जनशक्ति विकासमा लगानी वृद्धि।
- स्वास्थ्य जनशक्तिसम्बन्धी नीति तथा रणनीतिहरूको निर्माण।
- व्यावसायिक नियमन प्रणालीको सुदृढीकरण।
- निरन्तर व्यावसायिक विकास (CPD) प्रणालीको सुरुवात।
नेपाल सरकारले स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्न तथा दिगो विकासको लक्ष्य प्राप्तिका लागि देशको स्वास्थ्य सेवा प्रणाली अनुसार गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न योगदान पुर्याउने जनशक्तिको उपलब्धता र समतामूलक वितरण गर्न “नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति २०७७/७८ देखि २०८६/८७ (२०२०/२१-२०२९/२०३०)” तयार गरी कार्यान्वयन गरिएको थियो। यो रणनीतिले सङ्घीय शासकीय संरचना अनुसार मिश्रित सीप दक्षता हासिल गरेका स्वास्थ्य जनशक्तिको उत्पादन, विकास र परिचालन गर्ने लक्ष्य राखेको छ। साथै उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरी सरोकारवाला बीचको सहकार्यमा जनसङ्ख्या, भूगोल र सङ्घीय संरचना अनुसार सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको उत्पादन, विकास र परिचालन गर्ने लक्ष्य रहेको छ (MoHP, 2021)।
हालै यो रणनीतिको एक विस्तृत समीक्षा गरिएको थियो र यो समीक्षाले स्वास्थ्य जनशक्तिको क्षेत्रमा रहेका उदीयमान चुनौतीहरू, स्वास्थ्य प्रणालीको परिवर्तनशील आवश्यकताहरू र स्वास्थ्य जनशक्ति सुधारका लागि भविष्यका प्राथमिकताहरूको विश्लेषण गरी वर्तमान रणनीतिको मूल्याङ्कन गरेको छ। अन्य देशहरूको जस्तै नेपालको स्वास्थ्य जनशक्तिका चुनौतीहरू जटिल प्रकृतिका छन् र विभिन्न सरोकारवालाहरूको संयुक्त, व्यवस्थित र प्रणालीगत प्रयासहरू बिना यी समस्याहरू सम्बोधन गर्न सकिँदैन भनी यो समीक्षाले उजागर गरेको छ। केही प्राविधिक विषय र भौगोलिक क्षेत्रहरूमा स्वास्थ्य जनशक्तिको अभाव जारी छ, स्वास्थ्य प्रणालीको प्रतिफललाई असर गर्ने धेरै समस्याहरू विद्यमान छन्। नेपालले स्वास्थ्य सेवाको सर्वव्यापी पहुँच (Universal Health Coverage) हासिल गर्न, स्वास्थ्य सेवालाई अझ समतामूलक बनाउन र स्वास्थ्य सेवा विश्वसनीय बनाउन स्वास्थ्य जनशक्तिको उत्पादन, वितरण, क्षमता विकास र कार्यसम्पादन सुधार सम्बन्धी चुनौतीहरूलाई सम्बोधन गर्न आवश्यक छ।
यो समीक्षाको लागि सरोकारवालाहरूसँग गरिएको छलफलको आधारमा नेपालको स्वास्थ्य जनशक्ति व्यवस्थापनका निम्न चुनौतीहरू रहेका छन्:
- शासन तथा समन्वयका चुनौतीहरू: सङ्घीय संरचनाअनुसार तीन तहका सरकारबीच भूमिका, जिम्मेवारी र समन्वय स्पष्ट तथा प्रभावकारी नहुँदा स्वास्थ्य जनशक्ति व्यवस्थापन कमजोर रहनु।
- स्वास्थ्य जनशक्ति सम्बन्धी कमजोर योजना प्रणाली तथा प्रतिरूपणको अभाव: आवश्यक स्वास्थ्य जनशक्तिको सङ्ख्या, प्रकार, सीप तथा भविष्यको मागको आकलन गर्न वैज्ञानिक योजना र प्रतिरूपण (मोडेलिङ) प्रणाली कमजोर हुनु।
- प्रमाणमा आधारित निर्णय प्रणालीको कमजोरी: स्वास्थ्य जनशक्ति सूचना प्रणाली अपर्याप्त हुनु, विभिन्न प्रणालीबीच अन्तरआबद्धता नहुनु तथा नीति निर्माणमा प्रमाण, विश्लेषण र श्रम बजार सूचनाको सीमित प्रयोग हुनु।
- उत्पादन, आपूर्ति र आवश्यकता बीच असन्तुलन: रोगको परिवर्तित भार र स्वास्थ्य आवश्यकताअनुसार स्वास्थ्य जनशक्तिको उत्पादन तथा उपलब्धतामा पर्याप्त तालमेल नहुनु।
- समतामूलक वितरण र टिकाउपनको चुनौती: सहरी–ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा स्वास्थ्य जनशक्तिको असमान वितरण रहनु र कम सेवा प्राप्त क्षेत्रहरूमा जनशक्ति आकर्षित तथा टिकाइराख्न कठिन हुनु।
- कार्यसम्पादन तथा प्रतिभा व्यवस्थापनको कमजोरी: योग्यताअनुसार सही व्यक्तिलाई सही भूमिकामा नखटाइनु, वस्तुगत कार्यसम्पादन मूल्याङ्कन तथा त्यससँग आबद्ध वृत्ति विकास प्रणाली कमजोर हुनु।
- निरन्तर व्यावसायिक विकास र प्रेरणामा अपर्याप्त लगानी: सीप विकासको आवश्यकता तथा प्रतिफल विश्लेषणको अभाव हुनु, Continuing Professional Development (CPD) प्रणाली सीमित रहनु तथा कर्मचारीको प्रेरणा र क्षमता अभिवृद्धिमा पर्याप्त ध्यान नदिनु।
यीमध्ये धेरै चुनौतीहरू विश्वव्यापी रूपमा समेत देखिएका छन्, जसले नेपालले अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई स्थानीय आवश्यकताअनुसार अनुकूलन गरेर अघि बढ्न सक्ने सम्भावना देखाउँछ (Sousa et al., 2013)।
स्वास्थ्य जनशक्तिको विषयमा केही असल अभ्यासहरू र विगतका सिकाइहरू
आगामी वर्षहरूमा विश्वव्यापी स्वास्थ्य जनशक्ति अभाव अझ गम्भीर हुने अनुमान गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० सम्म विश्वमा करिब १ करोड स्वास्थ्यकर्मीको अभाव हुन सक्नेछ, जसको सबैभन्दा ठूलो असर न्यून तथा मध्यम आय भएका देशहरूमा पर्नेछ (WHO, 2016; Boniol et al., 2022)। ल्यान्सेटमा प्रकाशित हालैको एक अध्ययनले पनि स्वास्थ्य जनशक्तिको अभाव पूर्ति गर्न विश्वव्यापी रूपमा तालिम क्षमताको विस्तार, विशेष गरी सेवाको सुरुवाती चरणमा रहेका जनशक्तिहरूलाई टिकाउन उचित पारिश्रमिकसम्बन्धी नीतिहरू र लैङ्गिक-संवेदनशील जनशक्ति व्यवस्थापनको आवश्यकता पर्दछ भनी देखाएको छ (GBD 2023 HRH Collaborators, 2026)। यसले नेपालजस्ता देशहरूको स्वास्थ्य जनशक्ति टिकाइराख्न आगामी दशकमा थप चुनौती सिर्जना गर्न सक्छ।
नेपालले आफैँ र अन्य देशहरूले स्वास्थ्य जनशक्तिको क्षेत्रमा गरेका राम्रा कुराहरूलाई विचार गरी आफ्नो स्वास्थ्य प्रणाली र आवश्यकताका आधारमा राम्रा प्रयासहरूबाट लागू र विस्तार गर्न सक्नुपर्दछ। उदाहरणका लागि थाइल्याण्डले स्वास्थ्यको श्रम बजार र आवश्यकताको आधारमा आफ्नो स्वास्थ्य जनशक्तिको प्रक्षेपण गर्ने प्रणाली विकास गरेको छ, जसले गर्दा त्यहाँ आवश्यकता अनुसारको जनशक्ति विकास भइरहेको देखिन्छ (Pagaiya, N et al., 2019)। इथियोपियाले स्वास्थ्य जनशक्तिमा मध्यम स्तरका स्वास्थ्यकर्मीको विकासमा जोड दिई जनशक्तिको अभावलाई परिपूर्ति गरेको छ र प्राथमिक स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेको देखिन्छ (Teklehaimanot HD et al., 2013)। त्यसैगरी अस्ट्रेलियाले दुर्गम क्षेत्रमा स्वास्थ्य जनशक्ति टिकाउन सोही क्षेत्रका विद्यार्थीलाई प्राथमिकतामा राखी पढाउने पद्धति लागू गरेको छ (Government of Australia, 2021)। मलाबी र मोजाम्बिकले सेवाको पहुँच विस्तार गर्नका लागि सीप हस्तान्तरण गर्ने प्रणाली लागू गरेको छ (Callaghan M et al., 2010; Pereira C et al., 2007)। रुवान्डामा नर्स र मिडवाइफको योग्यता ढाँचाको आधारमा उनीहरूको व्यावसायिक उन्नयन, सुपरिवेक्षण र सेवाको गुणस्तर विकास गर्ने प्रयास भएका छन् (WHO, 2021; WHO, 2016)।
नेपालमै पनि कतिपय प्राज्ञिक संस्थाहरूले दुर्गम क्षेत्रका विद्यार्थीलाई प्राथमिकतामा राखेर भर्ना गर्ने प्रणाली लागू गरेका छन्; एनेस्थेसिया विषयमा हेल्थ असिस्टेन्टहरूका लागि तालिम, ग्रामीण क्षेत्रमा अल्ट्रासाउन्ड सेवाको लागि नर्सहरूका लागि दिइएको तालिम पनि उल्लेखनीय उदाहरणहरू हुन्। धेरै दुर्गम क्षेत्रहरूमा रहेको स्वास्थ्य जनशक्तिको खाडललाई पूरा गर्न छात्रवृत्तिमा अध्ययन गरेका स्वास्थ्यकर्मीहरूको परिचालनले महत्त्वपूर्ण भूमिका खेलेको छ, तथापि उनीहरूको परिचालन अझै पूर्ण व्यवस्थित हुन सकेको भने छैन। स्वास्थ्य जनशक्तिको क्षमता अभिवृद्धिका लागि तालिमहरू बिस्तारै संशोधित र अद्यावधिक गरिएको छ तर प्रविधिको उच्चतम प्रयोग गरी तालिमलाई अझै सीपमूलक र व्यावहारिक बनाउनुपर्ने देखिन्छ। महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम (FCHV) को सफलताले समुदायमा आधारित स्वास्थ्य जनशक्ति विकासको महत्त्वलाई थप पुष्टि गरेको छ (Khatri RB et al., 2017)। यी परिपाटीहरूको सिकाइ, सम्भाव्यता र प्रभावकारिता विश्लेषण गरी आवश्यकता अनुरूप कार्यान्वयन, परिमार्जन र विस्तार गर्दा स्वास्थ्य क्षेत्रका निर्दिष्ट उपलब्धिहरू हासिल गर्न, स्वास्थ्यको सर्वव्यापी पहुँच (Universal Health Coverage) हासिल गर्न र दिगो विकास लक्ष्य (Sustainable Development Goals) हासिल गर्न टेवा पुग्ने देखिन्छ।
नेपालमा स्वास्थ्य जनशक्तिको विकासका लागि प्राथमिकताहरू
नेपालमा स्वास्थ्य जनशक्तिलाई अझै व्यवस्थित, सक्षम, सबल र समर्पित बनाउन विभिन्न क्रियाकलापहरू गर्नुपर्ने हुन्छ। यसमध्ये तिनीहरूको आवश्यकता, प्रभावकारिता र समयअनुकूलता विचार गरी निम्न पाँचवटा प्राथमिकताहरू तय गरिएका छन्:
प्राथमिकता १: स्वास्थ्य जनशक्तिहरूको व्यवस्थापनलाई सुदृढ बनाउने।
स्वास्थ्य जनशक्तिलाई व्यवस्थित गर्न उनीहरूको उत्पादन, वितरण र व्यवस्थापनका लागि सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको समन्वयात्मक र नेतृत्वदायी भूमिका आवश्यक पर्दछ। यसका लागि स्वास्थ्य जनशक्तिको समष्टिगत व्यवस्थापन गर्न आवश्यक भूमिका र जिम्मेवारी हुने गरी एक महाशाखा हुनु आवश्यक देखिन्छ। यसले गर्दा समग्र स्वास्थ्य जनशक्तिको विषयमा समन्वय गर्न र रणनीतिले निर्दिष्ट गरेका कार्यहरू अगाडि बढाउन मद्दत मिल्दछ। साथै स्वास्थ्य जनशक्ति उत्पादन गर्ने प्राज्ञिक निकाय, नियमन गर्ने व्यावसायिक परिषद्हरू, व्यवस्थापन गर्ने तिनै तहका सरकार र निजी क्षेत्रसँग सहकार्य गरी समन्वयात्मक रूपमा जनशक्तिको विषयलाई प्राथमिकतामा राख्नुपर्दछ (WHO, 2023; Sousa et al., 2013)।
प्राथमिकता २: स्वास्थ्य जनशक्तिहरूको लागि सु-सूचित निर्णय प्रणालीको विकास र रणनीतिक योजनाको सुदृढीकरण।
आगामी दिनहरूमा स्वास्थ्य जनशक्तिमा गरिने लगानी र प्रतिफललाई सूचना प्रविधिको प्रयोग र परिवेशको विश्लेषण गरी वस्तुपरक रूपमा जनशक्तिको प्रक्षेपण गर्ने, जनशक्ति सम्बन्धी सूचना प्रणालीलाई अन्तर-आबद्धता गर्ने, नियमित स्वास्थ्य श्रम बजारको विश्लेषण गरी त्यसका आधारमा जनशक्ति उत्पादन गर्ने, सूचनाको प्रयोग र विश्लेषण मार्फत जनशक्तिमा आउने परिवर्तन र आवश्यकता समयमै पहिचान गर्ने प्रणालीको विकास गर्ने, आगामी दिनका लागि गरिएका प्रक्षेपण र विभिन्न सम्भावित परिदृश्यको विश्लेषण गरी स्वास्थ्य जनशक्ति सम्बन्धी नीति, कार्यक्रम र लगानीलाई सुसूचित मार्गनिर्देशन गर्नु अपरिहार्य छ (Frenk et al., 2010)।
प्राथमिकता ३: स्वास्थ्य जनशक्तिहरूको उत्पादन र सेवाकालीन प्रशिक्षणलाई स्वास्थ्य प्रणालीका आवश्यकताहरूसँग मिलाउने।
स्वास्थ्य जनशक्तिहरूको सेवापूर्वको शिक्षा र सेवाकालीन प्रशिक्षणहरू जनस्वास्थ्यका आवश्यकताहरूमा केन्द्रित हुनुपर्दछ। स्वास्थ्य जनशक्तिहरूको श्रम बजार वास्तविकताहरूले स्वास्थ्य जनशक्तिहरूको तालिम र शिक्षालाई निर्देशित गर्नुपर्दछ। राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको सुदृढीकरण, प्रशिक्षण प्रणालीको आधुनिकीकरण, छात्रवृत्ति नीतिमा परिमार्जन, आवश्यकताभन्दा कम उत्पादन हुने स्वास्थ्य जनशक्तिहरूको उत्पादनलाई प्राथमिकता, सामाजिक उत्तरदायित्व केन्द्रित स्वास्थ्य व्यावसायिक शिक्षा र व्यावसायिक उन्नयन र विकास प्रणालीलाई सुदृढ गर्नु अति आवश्यक देखिन्छ।
प्राथमिकता ४: स्वास्थ्य जनशक्तिहरूको समानुपातिक वितरण साथै दुर्गम क्षेत्रमा टिकाइराख्ने व्यवस्था सुदृढ गर्ने।
स्वास्थ्य जनशक्तिको असमान वितरण र दुर्गम क्षेत्रमा जनशक्तिहरू नियमित नहुँदा स्वास्थ्य क्षेत्रमा असमान प्रतिफलहरू देखिएका छन्। त्यसैले समुदायको आवश्यकता, स्वास्थ्य जनशक्तिको सीप र कार्यप्रकृतिको आधारमा सरुवा र कार्य विभाजन प्रणालीलाई व्यवस्थित गर्न आवश्यक देखिन्छ। स्वास्थ्य संस्थाबाट नियमित सेवा प्रवाह गर्न सीप-मिश्रित जनशक्तिको सुनिश्चितता गर्ने, आवश्यकता अनुसार सीप हस्तान्तरण (task shifting and sharing) गरी सेवाको सुनिश्चितता गर्ने, दुर्गम क्षेत्रका लागि प्रोत्साहन हुने किसिमको नियुक्ति प्रणालीलाई लागू गर्ने, दुर्गम क्षेत्रमा काम गर्न आर्थिक र गैर-आर्थिक प्रोत्साहन मार्फत आकर्षित गर्ने प्रावधान व्यवहारमा ल्याउनुपर्ने देखिन्छ।
प्राथमिकता ५: स्वास्थ्य जनशक्तिको कार्यसम्पादनको व्यवस्थापन चुस्त बनाउने र व्यावसायिक सीपको विकास गर्ने।
स्वास्थ्य जनशक्तिको कार्यसम्पादन सुधार गर्न उनीहरूको स्पष्ट कार्यविवरण (job description) र कार्यसम्पादन मापदण्ड (performance milestones) विकास गरी नियमित र वार्षिक कार्यसम्पादनलाई वस्तुपरक बनाउन जरुरी देखिन्छ। स्वास्थ्य क्षेत्रका सबै जनशक्तिको आ-आफ्नो विशिष्ट योग्यता ढाँचा (competency framework) विकास गरी सोका आधारमा कार्यसम्पादन मूल्याङ्कन गर्ने, बढुवा र वृत्ति विकासमा प्रयोग गर्ने र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्ने प्रणाली विकास गर्नु अर्को प्राथमिकता रहेको छ (Frenk et al., 2010)।
निष्कर्ष
नेपालले एक सुदृढ स्वास्थ्य जनशक्ति प्रणालीका लागि आवश्यक पर्ने धेरै आधारशिलाहरू स्थापना गरेको छ। यद्यपि स्वास्थ्यका उपलब्धिहरू संस्थागत गर्न स्वास्थ्य जनशक्तिका चुनौतीहरू जटिल बन्दै गएका छन्। स्वास्थ्य जनशक्तिका चुनौतीहरू स्वास्थ्य मन्त्रालय बाहेकका अन्य निकायहरूसँग अन्तर-सम्बन्धित रहेको हुनाले उनीहरूसँग व्यवस्थित रूपमा छलफल गरी समाधानका उपायहरू खोजिनुपर्दछ। थप स्वास्थ्य जनशक्तिको उत्पादनले मात्र स्वास्थ्य जनशक्तिको क्षेत्रमा भएका समस्या समाधान हुने देखिँदैन। समग्रमा, स्वास्थ्य जनशक्तिको उचित रूपमा योजनाबद्ध, समतामूलक रूपमा वितरण गरिएको, प्रभावकारी रूपमा व्यवस्थित गरिएको र विकसित हुँदै गइरहेको स्वास्थ्य आवश्यकताहरू पूरा गर्न सक्षम भएको सुनिश्चित गर्न सबै सरोकारवालाहरूले समन्वयात्मक रूपमा कार्य गर्नुपर्ने देखिन्छ। यसले स्वास्थ्य क्षेत्रका निर्दिष्ट उपलब्धिहरू हासिल गर्न, स्वास्थ्यको सर्वव्यापी पहुँच (UHC) हासिल गर्न र दिगो विकास लक्ष्य (SDG) हासिल गर्न टेवा पुग्ने देखिन्छ।
(डा. दीपक पौडेल र डा. दीपक कार्की जनस्वास्थ्य र स्वास्थ्य नीति तथा प्रणाली विशेषज्ञ हुन्। यस लेखमा व्यक्त भएका विचारहरू व्यक्तिगत हुन् र उनीहरू कार्यरत संस्थाहरूको प्रतिनिधित्व गर्दैनन्।)
सन्दर्भ सामग्री
अस्ट्रेलियाली सरकार। (२०२१)। राष्ट्रिय चिकित्सा जनशक्ति रणनीति २०२१–२०३१।
क्याम्पबेल, जे., बुचान, जे., कोमेटो, जी. तथा अन्य। (२०१३)। सार्वभौमिक स्वास्थ्य सेवाको पहुँच (UHC) र स्वास्थ्य जनशक्ति: समता तथा प्रभावकारी पहुँचको प्रवर्द्धन। विश्व स्वास्थ्य सङ्गठनको बुलेटिन (Bulletin of the World Health Organization), ९१(११), ८५३–८६३।
क्यालाघन, एम., फोर्ड, एन. र स्नाइडर, एच.। (२०१०)। अफ्रिकामा एचआईभी उपचार तथा स्याहारका लागि कार्य-हस्तान्तरण (task-shifting) सम्बन्धी एक व्यवस्थित समीक्षा। Hum Resour Health, ८, ८।
खत्री, आर.बी., मिश्र, एस.आर. र खनाल, भि.। (२०१७)। नेपालका समुदाय-आधारित स्वास्थ्य कार्यक्रमहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका: भविष्यको परिप्रेक्ष्य। Front. Public Health, 5:181.
टेकलेहाइमानोत, एच.डी., टेकलेहाइमानोत, ए.। (२०१३)। समुदाय-आधारित स्वास्थ्य विस्तार कार्यक्रमका लागि मानव संसाधन विकास: इथियोपियाको एक अध्ययन। Hum Resour Health, ११, ३९।
नाइट, एम., बिएनहोफ, के., ए बी तथा अन्य। (२०२६)। सन् १९९०–२०२३ को अवधिमा २०४ देश तथा भूभागहरूमा लिङ्गका आधारमा स्वास्थ्यसम्बन्धी जनशक्तिको संरचना र उपलब्धता तथा सर्वव्यापी स्वास्थ्य पहुँचका लागि आवश्यक जनशक्तिको अभावको मापन: 'ग्लोबल बर्डन अफ डिजिज स्टडी २०२३' (Global Burden of Disease Study 2023) का लागि एक विश्लेषण। द ल्यान्सेट पब्लिक हेल्थ (The Lancet Public Health), ११, e604-e629।
पागाइया, एन., फान्थुनाने, पी., बामरुङ, ए. तथा अन्य। (२०१९)। थाइल्याण्डको स्वास्थ्य सेवा प्रणालीमा स्वास्थ्यसम्बन्धी जनशक्तिको असन्तुलनको पूर्वानुमान: स्वास्थ्यको मागसम्बन्धी विधिको प्रयोग। Hum Resour Health, १७, ४।
पेरेइरा, सी., कुम्बी, ए., मालालाने, आर., भाज, एफ., म्याककर्ड, सी., बाची, ए. र बर्गस्ट्रोम, एस.। (२००७)। मोजाम्बिकमा आपतकालीन प्रसूति सेवाको आवश्यकता पूरा गर्ने: शल्यक्रियाका लागि तालिमप्राप्त चिकित्सक तथा सहायक चिकित्सा अधिकृतहरूको कार्य-सम्पादन र पृष्ठभूमि। BJOG: An International Journal of Obstetrics & Gynaecology, ११४: १५३०-१५३३।
फ्रेन्क, जे., चेन, एल., भुट्टा, जेड.ए. तथा अन्य। (२०१०)। नयाँ शताब्दीका लागि स्वास्थ्य व्यवसायीहरू: स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि शिक्षाको रूपान्तरण। द ल्यान्सेट (The Lancet), ३७६(९७५६), १९२३–१९५८।
बोनियोल, एम., कुञ्जुमेन, टी., नायर, टी.एस. तथा अन्य। (२०२२)। सन् २०२० र २०३० मा विश्वव्यापी स्वास्थ्य जनशक्तिको उपलब्धता र वितरण। बीएमजे ग्लोबल हेल्थ (BMJ Global Health), ७:e009316।
विश्व स्वास्थ्य सङ्गठन (WHO)। विश्वव्यापी स्वास्थ्य खर्च डाटाबेस। नेपाल प्रोफाइल (Nepal Country Profile)।
विश्व स्वास्थ्य सङ्गठन (WHO)। (२०१६)। स्वास्थ्य जनशक्ति सम्बन्धी विश्वव्यापी रणनीति: कार्यबल २०३० (Global Strategy on Human Resources for Health: Workforce 2030)।
विश्व स्वास्थ्य सङ्गठन (WHO)। (२०२१)। ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य जनशक्ति विकास, आकर्षण, भर्ना तथा टिकाइराख्ने सम्बन्धी डब्लुएचओ मार्गनिर्देशन (WHO Guideline on Health Workforce Development, Attraction, Recruitment and Retention in Rural and Remote Areas)।
विश्व स्वास्थ्य सङ्गठन (WHO)। (२०२३)। राष्ट्रिय स्वास्थ्य जनशक्ति लेखा प्रणाली: एक मार्गदर्शिका (National Health Workforce Accounts: A Handbook)।
विश्व स्वास्थ्य सङ्गठन (WHO)। (२०२३)। स्वास्थ्य जनशक्ति समर्थन तथा सुरक्षात्मक सूची २०२३ (Health Workforce Support and Safeguards List 2023)।
संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य रोजगारी तथा आर्थिक वृद्धि सम्बन्धी उच्चस्तरीय आयोग। (२०१६)। स्वास्थ्य र आर्थिक वृद्धिका लागि काम गर्दै (Working for Health and Growth)।
सौसा, ए., शेफलर, आर.एम., न्योनी, जे., तथा बोएर्मा, टी.। (२०१३)। सार्वभौमिक स्वास्थ्य सेवाको पहुँचका लागि स्वास्थ्य श्रम बजारको समग्र रूपरेखा। विश्व स्वास्थ्य सङ्गठनको बुलेटिन (Bulletin of the World Health Organization), ९१(११), ८९२–८९४।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (MoHP)। (२०२१)। राष्ट्रिय स्वास्थ्य जनशक्ति रणनीति २०२०/२१–२०२९/३०। नेपाल सरकार।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय (MoHP)। (२०२३)। नेपाल स्वास्थ्य क्षेत्र रणनीतिक योजना २०२३–२०३०। नेपाल सरकार।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा विश्व स्वास्थ्य सङ्गठन। (हालको संस्करण)। नेपाल राष्ट्रिय स्वास्थ्य जनशक्ति लेखा (National Health Workforce Accounts - Nepal Country Profile)। नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठन।
स्वास्थ्यखबर। (२०२१)। यस्तो छ नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी १० वर्षे राष्ट्रिय रणनीति (२०७८)। https://swasthyakhabar.com/story/43235