काठमाडौंकी ५१ वर्षीया राधिका (नाम परिवर्तन) विगत केही महिनादेखि एउटा अनौठो छटपटीबाट गुज्रिरहेकी थिइन्। अचानक जीउ अत्यधिक तातेर आउने, राति सुत्दासुत्दै पसिनाले निथ्रुक्क भई ब्युँझिने र बिनाकारण मनमा गहिरो चिन्ता सल्किने। कहिलेकाहीँ त भान्सामा काम गर्दागर्दै आफू के लिन आएको भन्ने नै भुसुक्कै बिर्सिन्थिन्।
'मलाई कुनै मानसिक रोग लाग्यो कि वा पागल हुन लागेँ जस्तो हुन्थ्यो,' राधिका आफ्नो अनुभव सुनाउँछिन्, 'घरका मान्छेहरू ’यो उमेरमा यस्तै हो, धेरै सोचेर हो’ भन्थे। तर मेरो शरीर र दिमागमा के भइरहेको थियो, मैले कसैलाई बुझाउन सकिनँ।'
नेपाली समाजमा राधिकाको यो कथा प्रतिनिधि कथा मात्र हो। महिनावारी पूर्ण रूपमा रोकिने वा सुक्ने प्रक्रिया, जसलाई चिकित्सा विज्ञानमा 'मेनोपोज’ (रजोनिवृत्ति) भनिन्छ, त्यसलाई केवल 'उमेर ढल्केको सामान्य लक्षण' मानेर गुपचुप राखिन्छ।
तर, हालै प्रतिष्ठित मेडिकल जर्नलमा प्रकाशित 'विमेन्स हेल्थ रिभ्यु’ को एउटा विशेष अनुसन्धान पत्रले यो सोचलाई पूर्ण रूपमा बदल्नुपर्ने निष्कर्ष निकालेको छ। वैज्ञानिकहरू लाउरा एल. ग्रेभल्सिन्स, मातेजा पेरोभिच र लिसा ए. एम. गालिया सहितको टिमले तयार पारेको उक्त अनुसन्धान 'मेनोपोज र हर्मोन थेरापीलाई स्वस्थ बुढ्यौलीको अवसरका रूपमा पुनःपरिभाषित गर्ने'ले के प्रमाणित गरेको छ भने, मेनोपोज महिलाको शरीर र मस्तिष्कमा आउने एउटा ठूलो जैविक परिवर्तन हो। यसलाई सही समयमा व्यवस्थापन गरेर महिलाको उत्तरार्धको जीवनलाई अझ बढी स्वस्थ र ऊर्जावान् बनाउन सकिन्छ।
मस्तिष्क र शरीरमा हर्मोनको विथड्रअल इफेक्ट
प्रकृतिले महिलाको शरीरलाई संरक्षण गर्न इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक दुईवटा अद्भुत हर्मोन दिएको हुन्छ। यी हर्मोनका रिसेप्टरहरू महिलाको मुटु, हड्डी, छाला, पाचन प्रणाली र विशेष गरी मस्तिष्कमा फैलिएका हुन्छन्।
जब लगातार १२ महिनासम्म महिनावारी हुँदैन, तब प्राकृतिक रूपमा मेनोपोज भएको मानिन्छ। यो अवस्थामा डिम्बाशयबाट हर्मोन उत्पादनमा तीव्र गिरावट आउँछ। वैज्ञानिकहरूका अनुसार यो गिरावट हुँदा महिलाको शरीरले एउटा असहज हर्मोनल परिवर्तन भोग्छ। उक्त 'विमेन्स हेल्थ रिभ्यु’ अनुसन्धानका अनुसार मेनोपोजका क्रममा महिलाहरूमा ७२ भन्दा बढी फरक-फरक लक्षणहरू देखा पर्न सक्छन्। एउटा सामान्य महिलाले मेनोपोजको समयमा औसतमा एकैपटक ७ वटासम्म लक्षणहरू झेलिरहेकी हुन्छिन्।
हट फ्ल्यास र राति पसिना: लगभग ८० प्रतिशत महिलामा अचानक अत्यधिक गर्मी हुने र मुटुको धड्कन बढ्ने समस्या हुन्छ।
ब्रेन फग: करिब ८० प्रतिशत महिलाले ध्यान केन्द्रित गर्न गाह्रो हुने, निर्णय लिन नसक्ने र सम्झना शक्ति कमजोर भएको महसुस गर्छन्।
मूड स्विङ र डिप्रेसन: हर्मोनको कमीले मस्तिष्कको रासायनिक सन्तुलन बिग्रँदा अत्यधिक चिन्ता र दिक्दारीपन बढ्छ।
विडम्बना के छ भने, यी लक्षणहरूको सही पहिचान र उपचार नहुँदा संसारभरि १० प्रतिशत महिलाहरूले आफ्नो रोजगारी वा करिअर नै छाड्न बाध्य हुनुपर्छ। अझ दुःखको कुरा, लक्षण देखिएका १५ प्रतिशतभन्दा कम महिलाले मात्र यसको सही चिकित्सा उपचार पाउँछन्।
उमेरका आधारमा मेनोपोजको वर्गीकरण
हाम्रो समाजमा ५० वर्ष कटेपछि मात्र मेनोपोज हुन्छ भन्ने भ्रम छ, तर चिकित्सा विज्ञानले यसलाई चार भागमा वर्गीकरण गरेको छ:
प्राकृतिक मेनोपोज: यो लगभग ७४ प्रतिशत महिलामा ५१ वर्षको औसत उमेरमा प्राकृतिक रूपमै हुन्छ।
समयअगावै हुने मेनोपोज: लगभग १० प्रतिशत महिलामा वंशाणुगत वा अन्य कारणले ४० देखि ४५ वर्षभन्दा पहिले नै महिनावारी सुक्छ।
शल्यक्रियात्मक मेनोपोज: पाठेघरसँगै दुवै डिम्बाशय निकाल्ने शल्यक्रिया गर्दा लगभग १० प्रतिशत महिलामा यो अवस्था तुरुन्तै आउँछ।
रासायनिक मेनोपोज: क्यान्सरको केमोथेरापी वा अन्य कडा औषधीका कारण लगभग २ प्रतिशत महिलामा यो समस्या देखिन्छ।
समयअगावै वा शल्यक्रियाका कारण हर्मोन गुमाउने महिलाहरूमा ओस्टियोपोरोसिस (हड्डी खिइने रोग), मुटुरोग, अल्जाइमर्स (विस्मृति) र अल्पायुमै मृत्यु हुने जोखिम अत्यधिक रहन्छ।
नयाँ वैज्ञानिक तथ्य: डिम्बाशय पूर्ण रूपमा मर्दैन
लामो समयसम्म चिकित्सा क्षेत्रमा मेनोपोजपछि डिम्बाशय पूर्ण रूपमा ’मृत’ वा ’निष्क्रिय’ हुन्छ भन्ने मान्यता थियो। तर डा. लिसा गालिया र उनको टिमको अनुसन्धानले यो भ्रमलाई चिरेको छ। मेनोपोजपछि पनि डिम्बाशयले सानो मात्रामा एन्ड्रोजन हर्मोन र महत्त्वपूर्ण इम्युन (प्रतिरक्षा) संकेतहरू उत्पादन गरिरहन्छ। वैज्ञानिकहरूले डिम्बाशयमा ’ओभेरियन स्टेम सेल्स’ (Ovarian Stem Cells) को उपस्थिति समेत फेला पारेका छन्, जसले भविष्यमा महिला स्वास्थ्यको उपचारमा नयाँ क्रान्ति ल्याउन सक्छ।
हर्मोन थेरापी: भ्रम र वैज्ञानिक यथार्थ
मेनोपोजका कष्टकर लक्षणहरूबाट मुक्ति पाउन चिकित्सा विज्ञानले मेनोपोज हर्मोन थेरापीको विकास गरेको थियो। तर सन् २००२ मा अमेरिकाको ‘वुमेन्स हेल्थ इनिसिएटिभ’ ले एउटा प्रतिवेदन सार्वजनिक गर्दै मुखबाट खाइने सिन्थेटिक हर्मोनले स्तन क्यान्सर र मुटुरोगको जोखिम बढाउने दाबी गर्यो। यसपछि विश्वभर हर्मोन थेरापीको प्रयोगमा ६० प्रतिशतभन्दा बढी गिरावट आयो र महिलाहरू बिनाउपचार तड्पिन बाध्य भए।
तर डा. ग्रेभल्सिन्स र सहकर्मीहरूको नयाँ अनुसन्धानले यो पुरानो डरलाई पूर्ण रूपमा खारेज गरिदिएको छ। उनीहरूका अनुसार 'उक्त पुरानो डर आंशिक तथ्यमा मात्र आधारित थियो र त्यसलाई अहिलेका आधुनिक तथा परिमार्जित हर्मोन थेरापीमा लागू गर्नु सरासर गलत हो।' हाल हर्मोन थेरापीका २०० भन्दा बढी सुरक्षित प्रकार र विधिहरू उपलब्ध छन्:
छाला र योनिमार्गको प्रयोग (सुरक्षित विकल्प): मुखबाट चक्की खानुको सट्टा छालाबाट सोसिने वा योनिमार्गमा राखिने हर्मोनहरू कलेजोको प्रणालीमा नगई सिधै रगतमा पुग्छन्। यसले मुखबाट खाने चक्कीको तुलनामा रगत जम्ने जोखिम २ देखि ४ गुणा घटाउँछ र यो अत्यन्तै सुरक्षित मानिन्छ।
बायोआइडेन्टिकल हर्मोन: प्रयोगशालामा प्राकृतिक रूपमा बनाइने माइक्रोनाइज्ड प्रोजेस्टेरोनले महिलाको मस्तिष्क र निद्रामा उत्कृष्ट सुधार ल्याउँछ, जसले सिन्थेटिक हर्मोनको जस्तो नकारात्मक असर गर्दैन।
प्रेसिजन मेडिसिन: हरेक महिलाको उपचार फरक
मेनोपोजको उपचार अब ’सबैलाई एउटै औषधी’ को ढाँचामा हुँदैन। यसलाई 'प्रेसिजन केयर’ वा व्यक्तिगत चिकित्सा भनिन्छ।
उदाहरणका लागि, अल्जाइमर्स रोगको मुख्य वंशाणुगत कारक मानिने APOE4 जीन बोकेका महिलाहरूमा मेनोपोज हर्मोन थेरापीको प्रयोगले मस्तिष्कको आकार घट्नबाट जोगाउने र भविष्यमा बिर्सिने रोग लाग्न नदिने प्रमाणित भइसकेको छ। त्यस्तै, महिलाको पुराना इतिहास- जस्तै महिनावारी हुनुअघि अत्यधिक पेट दुख्ने वा झर्को लाग्ने समस्या, गर्भावस्थामा भएको उच्च रक्तचाप वा पहिले प्रयोग गरिएको हर्मोनल पिल्सको प्रतिक्रिया हेरेर मात्र अहिले विशेषज्ञ डाक्टरहरूले मेनोपोजको सही औषधी निर्धारण गर्छन्।
अनुसन्धानमा विभेद: बजेटको केवल ०.२% मात्र
महिलाहरूले आफ्नो औसत जीवनकालको लगभग ४० प्रतिशत हिस्सा मेनोपोजपछिको अवस्थामा बिताउँछन्। तर चिकित्सा विज्ञानमा महिला स्वास्थ्यलाई लिएर कतिसम्म उदासीनता छ भन्ने कुरा यस अनुसन्धानले उजागर गरेको छ। पछिल्लो १५ वर्षको अवधिमा उत्तर अमेरिका जस्तो विकसित क्षेत्रमा समेत कुल स्वास्थ्य अनुसन्धान बजेटको केवल ०.२ प्रतिशत भाग मात्र मेनोपोजसम्बन्धी अध्ययनमा खर्च भएको छ। यो तथ्याङ्कले महिला स्वास्थ्यमा अझै कति धेरै लगानी र चेतनाको आवश्यकता छ भन्ने देखाउँछ।
निष्कर्ष: जीवनको दोस्रो इनिङको स्वागत गरौँ
’विमेन्स हेल्थ रिभ्यु’ को यस महत्वपूर्ण अनुसन्धानले निष्कर्ष निकाले जस्तै मेनोपोज कुनै रोग वा बुढ्यौलीको दुखद अन्त्य होइन। यो त महिला स्वास्थ्यलाई थप मजबुत बनाउँदै ’स्वस्थ दीर्घजीवन’ तर्फ अघि बढ्ने एउटा सुनौलो अवसर हो।
सही समयमा सही विशेषज्ञको सल्लाह, जीवनशैलीमा सुधार, सन्तुलित आहार, व्यायाम र आवश्यक परेमा आधुनिक हर्मोन थेरापीको मद्दतले मेनोपोजपछिको जीवनलाई अझ बढी ऊर्जावान्, रचनात्मक र स्वस्थ बनाउन सकिन्छ। राधिकाले जस्तै समयमै आधुनिक चिकित्साको उपचार पाएर आफ्नो जीवनको ’दोस्रो इनिङ’ लाई सुखद बनाउने अधिकार हरेक नेपाली महिलालाई छ।
-(अनु रेग्मी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपप्राध्यापक हुन्।)