काठमाडौं- नेपालकी बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीले सामाजिक सञ्जाल फेसबुकको प्राविधिक कमजोरी पत्ता लगाएर रिपोर्ट गरेपछि मेटाबाट ३ हजार ७५० अमेरिकी डलर (झन्डै ६ लाख रुपैयाँ) पुरस्कार पाउने भएकी छन्।
अधिकारीले फेसबुकमा सार्वजनिक गरेको जानकारीअनुसार उनले मेटाको प्रणालीमा रहेको एउटा प्राविधिक कमजोरी पहिचान गरी कम्पनीलाई रिपोर्ट गरेकी थिइन्। मेटाले उनको रिपोर्ट स्वीकार गर्दै उक्त कमजोरी पहिचानमा पुर्याएको योगदानका लागि बग बाउन्टी पुरस्कार दिने निर्णय गरेको हो।
प्रविधिको क्षेत्रमा निरन्तर सिकाइ, मेहनत र रुचिको परिणामस्वरूप यो उपलब्धि हासिल गरेको अधिकारीले बताएकी छन्। उनले आफ्नो सफलतामा साथ, हौसला र प्रेरणा दिने सबैप्रति आभार व्यक्त गरेकी छन्।
फेसबुकको मूल कम्पनी मेटाले आफ्नो प्रणालीमा रहेका सुरक्षा कमजोरी जिम्मेवार ढङ्गले पहिचान गरी रिपोर्ट गर्ने अनुसन्धानकर्तालाई बग बाउन्टी कार्यक्रममार्फत पुरस्कार दिने गर्छ। यस्ता कार्यक्रमले डिजिटल प्लेटफर्मलाई थप सुरक्षित बनाउन सहयोग पुर्याउँछन्।

विजया दशमीको अवसरमा आफ्नो उपलब्धि सार्वजनिक गर्दै अधिकारीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता छाओस् भन्दै दसैँको शुभकामना पनि व्यक्त गरेकी छन्।