काठमाडौँ- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको न्युरोसर्जरी विभाग र अमेरिकाको भर्जिनियास्थित क्यारिलियन अस्पताल (Carilion Hospital) को सहकार्यमा मुभमेन्ट डिसअर्डर, पार्किन्सन रोग, डिस्टोनिया, नियन्त्रणमा नआएको छारे रोग तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीका लागि विशेष क्लिनिक तथा शल्यक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ।
वीर अस्पतालले सार्वजनिक गरेको सूचनाअनुसार उक्त कार्यक्रमअन्तर्गत आगामी २०८३ कात्तिक १० देखि १२ गतेसम्म (अक्टोबर २६–२८, २०२६) बिरामीको परीक्षण तथा मूल्याङ्कन गरिनेछ।
कार्यक्रममा डीप ब्रेन स्टिमुलेसन (डीबीएस), लेजनिङ, स्पाइनल कर्ड स्टिमुलेसन तथा भेगस नर्भ स्टिमुलेसन (VNS) लगायतका विशिष्ट उपचार विधिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्य राखिएको छ। विशेषज्ञ चिकित्सकबाट गरिने मूल्याङ्कनपछि शल्यक्रियाका लागि उपयुक्त बिरामी छनोट गरिने अस्पतालले जनाएको छ।
सम्बन्धित रोग तथा समस्याबाट पीडित बिरामीलाई समयमै सम्पर्क गरी अपोइन्टमेन्ट लिन अस्पतालले अनुरोध गरेको छ। विशेषगरी पार्किन्सन रोग, डिस्टोनिया, औषधिबाट नियन्त्रणमा नआएको छारे रोग, मुभमेन्ट डिसअर्डर तथा मेरुदण्डसम्बन्धी समस्या भएका बिरामीले विशेषज्ञबाट जाँच गराउन सक्नेछन्।
