पछिल्ला केही दिनमा मैले यति धेरै माया, निको हुने कामना र आशाका सन्देशहरू प्राप्त गरेँ कि मन भावनाले भरिएको छ। ब्रेन ट्युमर र क्यान्सरलाई जित्नुभएका साथीहरूका साथै अहिले पनि आफ्नै जीवनको कठिन लडाइँ लडिरहनुभएका व्यक्तिहरूका कथा पढ्दा, मैले आफूभित्र एउटा यस्तो अपनत्व महसुस गरेँ, जसको आवश्यकता मलाई आफैँलाई पनि थाहा थिएन। एउटा पोस्टबाटै मैले आफ्नो समुदाय भेट्टाएँ। आफ्नो कथा सार्वजनिक रूपमा साझा गर्ने साहस जुटाएकोमा म आज अत्यन्तै आभारी छु।
सन् २०२२ को अक्टोबरमा, मलाई बी एन्ड सी अस्पतालमा दोस्रो चरणको अप्टिक नर्भ ग्लायोमा अर्थात् आँखाको दृष्टि स्नायुलाई असर गर्ने एक प्रकारको ब्रेन ट्युमर भएको निदान गरिएको थियो। काठमाडौँका ठूला अस्पतालहरूमा परामर्श लिँदा, अधिकांशले यसलाई ‘घातक क्यान्सर’ भन्दै उपचार नगर्न सल्लाह दिए। बाँच्ने आशासमेत लगभग समाप्त पारिदिए। तर, मेरो परिवार र मैले हार मान्न अस्वीकार गर्यौँ। त्यतिबेला मेरो दृष्टि स्नायुमा रहेको ट्युमरको आकार १९ मिलिमिटर थियो।
हामी भारतको गुरुग्रामस्थित मेदान्ता अस्पताल पुग्यौँ। त्यहाँ पुगेपछि थाहा भयो कि ट्युमर सौम्य (Benign) थियो, तर अत्यन्तै जोखिमपूर्ण जटिलताहरू र स्थायी रूपमा दृष्टि गुम्न सक्ने सम्भावनाका कारण शल्यक्रिया गरेर निकाल्न सम्भव थिएन। त्यसैले चिकित्सकहरूले रेडिएसन थेरापी (विकिरण उपचार) को सल्लाह दिए। मैले ४० पटक रेडिएसन थेरापी गराएँ, जसले मेरो शरीर र मन दुवैलाई अत्यन्तै थकित बनायो। कतिपय दिन त हार मानौँ जस्तो लाग्थ्यो। मनमा बारम्बार एउटै प्रश्न आइरहन्थ्यो- “मलाई नै किन?” मेरो जीवन पूर्ण रूपमा बदलिएको थियो।
शारीरिक पीडाभन्दा बाहिर पनि आर्थिक बोझ कम थिएन। मेरा आमाबुबाले जीवनभरको कमाइ र बचत मेरो उपचारमा लगाउनुभयो। केही हप्ताभित्रै लाखौँ रुपैयाँ जुटाउनुपर्ने अवस्था आयो। मेरा लागि उहाँहरूले भोग्नुभएको मानसिक पीडा, तनाव र भावनात्मक संघर्ष देख्दा मेरो मन टुट्थ्यो। तर, त्यही अन्धकारको बीचमा मैले एउटा कुरा बुझेँ- अब मसँग हार नमान्ने, जस्तोसुकै परिस्थितिमा पनि साहसी बनेर उभिनेबाहेक अर्को विकल्प थिएन।
आज म बिस्तारै निको हुँदै छु। भगवानकाे कृपाले मेरो ट्युमरको आकार १९ मिलिमिटरबाट घटेर १३ मिलिमिटरमा झरेको छ। बाँच्ने, अघि बढ्ने र जीवनलाई भरपूर रूपमा जिउने मेरो चाहना कुनै पनि ट्युमरभन्दा धेरै ठूलो छ।
पछाडि फर्केर हेर्दा, अनौठो लागे पनि म यो यात्राप्रति केही हदसम्म कृतज्ञ छु। यसले मलाई वास्तवमा जीवित हुनुको अर्थ सिकायो। यसले मलाई सहनशीलता र लडिरहने शक्ति दियो। सबैलाई निःस्वार्थ माया र दयाका साथ व्यवहार गर्न सिकायो, किनकि हामीलाई थाहा हुँदैन—कसले मनभित्र कस्तो अदृश्य लडाइँ लडिरहेको छ, वा कोसँग बिताउन पाएको समय हाम्रो अन्तिम समय बन्न सक्छ।
तर, यो यात्राले हाम्रो समाजको एउटा कठोर यथार्थ पनि मेरो अगाडि उजागर गरिदियो। हाम्रो स्वास्थ्य सेवा प्रणाली निकै कमजोर, असमान र सर्वसाधारणको पहुँचभन्दा बाहिर छ।
म आफूले पाएको तुलनात्मक सुविधालाई स्वीकार गर्छु। मेरा आमाबुबा दुवै जागिरे हुनुहुन्थ्यो र हामीसँग आवश्यक पर्दा उपयोग गर्न सकिने केही सम्पत्ति पनि थियो। तर, त्यस्तो आर्थिक आधार नभएका परिवारको अवस्था के होला? यदि न्यून आय भएको परिवारको कुनै सदस्यलाई यस्तै रोग लाग्यो भने, उपचारका लागि आर्थिक स्रोत जुटाउन नसक्दा उनीहरूसँग विकल्प नै नहुने अवस्था आउन सक्छ। उपचारको अभावमा कसैले ज्यान गुमाउनुपर्ने अवस्था आउनु कति दुःखद कुरा हो! त्यसमाथि रेडिएसन थेरापीपछि जीवनभर आवश्यक पर्न सक्ने नियमित स्वास्थ्य परीक्षण, हेरचाह र उपचारको खर्च पनि उत्तिकै महँगो छ। यी सबै खर्च एक्लै धान्नु धेरै परिवारका लागि असम्भवजस्तै हुन्छ।
यस यात्राले हाम्रो समाजमा बिरामीपनलाई हेर्ने दृष्टिकोण कति संकुचित छ भन्ने कुरा पनि देखायो। धेरैले रोगलाई व्यक्तिको स्थायी असक्षमताका रूपमा हेर्ने गर्छन्। मलाई सम्झना छ, आफन्त, छिमेकी र साथीभाइमध्ये कतिपयले मेरो स्वास्थ्य र निको हुने सम्भावनाभन्दा पनि म भविष्यमा विवाह गर्न सकुँला कि नसकुँला, मेरो जीवन अब के होला भन्ने कुरामा बढी चिन्ता व्यक्त गर्थे। कहिलेकाहीँ समाजको निर्णय र आलोचनाको बोझ रोगको पीडाभन्दा पनि भारी हुन्छ।
अब भविष्यतर्फ हेर्दा, हाम्रो नेतृत्वले प्रत्येक नागरिकका लागि सहज, सुलभ र पहुँचयोग्य शारीरिक तथा मानसिक स्वास्थ्य सेवाको सुनिश्चितता गरोस् भन्ने मेरो हार्दिक चाहना छ। कुनै पनि परिवारले आफ्नो प्रियजनको जीवन बचाउने कि आर्थिक रूपमा पूर्ण रूपमा समाप्त हुने भन्ने कठोर छनोट गर्नुपर्ने अवस्था आउनु हुँदैन।
आफ्ना नागरिकलाई रोग र उपचार खर्चको बोझले थिचिएर ज्यान गुमाउनुपर्ने अवस्थामा छोड्ने राज्य कहिल्यै समृद्ध बन्न सक्दैन।
हामीले यस्तो नेपाल निर्माणका लागि आवाज उठाउनैपर्छ, जहाँ स्वास्थ्य सेवा प्रत्येक नागरिकको मौलिक अधिकार होस्, कसैका लागि मृत्युदण्डसरहको बाध्यता होइन।
मलाई सन्देश पठाएर माया, साथ र हौसला दिनुहुने सबैप्रति हृदयदेखि नै धन्यवाद। तपाईंहरूका शब्दहरूले हामीमध्ये कोही पनि यो कठिन यात्रामा एक्लो छैनौँ भन्ने अनुभूति गराएका छन्।
सबै क्यान्सर तथा ब्रेन ट्युमरसँग लडिरहनुभएका योद्धाहरूप्रति मेरो माया, सम्मान र ऐक्यबद्धता छ। हामी सबै यो लडाइँमा एकअर्काको साथमा छौँ। (पाण्डेको फेसबुकमा लिखित अँग्रेजी भाषाको स्टाटसबाट अनुदित)