काठमाडौं — बागमती प्रदेशकी पूर्व स्वास्थ्य राज्यमन्त्रीसँग जोडिएको घटनामा उठेका आरोपबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन अघि बढाएको छ। पार्टीले छानबिन निष्कर्षमा नपुग्दासम्म उनलाई सार्वजनिक हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ।
रास्वपाले सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री र सुनारका विषयमा उठेका गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका अनुसार महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोप गम्भीर र संवेदनशील छन्।
पार्टीले घटनाको सत्यतथ्य पत्ता लगाउन केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अघि बढाउन निर्देशन दिएको जनाएको छ। अनुसन्धान प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्ने उद्देश्यले छानबिन पूरा नहुँदासम्म सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन भनिएको पार्टीको भनाइ छ।
रास्वपाले घटनाबारे राज्यका सम्बन्धित निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गरेको छ। राज्यका निकायले अघि बढाउने अनुसन्धान प्रक्रियामा पार्टीले पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
‘कानुनभन्दा माथि कोही पनि हुँदैन’ भन्ने मान्यतामा पार्टी दृढ रहेको उल्लेख गर्दै रास्वपाले राज्यको अनुसन्धान र पार्टीको आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ।
पार्टीले कानुन उल्लङ्घन वा पदीय आचरणविपरीत कार्य गर्ने जोकोहीलाई राजनीतिक संरक्षण नदिने दाबीसमेत गरेको छ। यद्यपि, सुनारमाथि सार्वजनिक भएका आरोपको अन्तिम सत्यतथ्य भने सम्बन्धित निकायको अनुसन्धानबाट स्पष्ट हुन बाँकी छ।
