काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति तयार पारेको छ। मन्त्रालयले तयार पारेको उक्त रणनीति हालै सार्वजनिक गरिएको छ। सार्वजनिक रणनीति अनुसार आगामी १० वर्षका लागि जनशक्तिको उपलब्धता र समतामूलक वितरण सुनिश्चित गर्न रणनीति बनाइएको हो।
उक्त रणनीतिमा हाल नेपालमा रहेका जनशक्तिको अवस्था, स्वास्थ्य संस्थाको संख्या र अवस्था, अबको १० वर्षमा उत्पादन हुने जनशक्ति र तिनिहरुको व्यवस्थापन कसरी गर्ने लगायतका विषय छन्।
रणनीति अनुसार नेपालमा विभिन्न सेवाका स्वास्थ्यकर्मीहरु गरेर २ लाख ६७ हजार ८९१ जना दर्ता भएका छन्। जसमा सबैभन्दा धेरै नर्स रहेका छन्।
संघीय शासकीय संरचना अनुरुप सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको उत्पादन, विकास र परिचालन गर्ने लक्ष्य रणनीतिको रहेको छ ।
‘उपलब्ध साधन स्रोतको अधिकतम प्रयोग गरी सरकोकारवाला बीचको सहकार्यमा जनसङ्ख्या, भूगोल र संघीय संरचना अनुरूप सीप मिश्रित दक्ष स्वास्थ्य जनशक्तिको उत्पादन, विकास र परिचालन गर्ने रहेको छ,’ रणनीतिमा उल्लेख छ।
रणनीतिमा वि.सं. २०८१ (सन् २०२५) मा सरकारी तथा निजी क्षेत्रमा गरी कूल १ लाख ३६ हजार ८४० स्वास्थ्य जनशक्ति कार्यरत रहने अनुमान गरिएको छ।
यस्तै २०८६ साल (सन् २०३०) को लागि कूल जम्मा १ लाख ६५ हजार ७८० स्वास्थ्य जनशक्ति आवश्यक पर्ने आंकलन गरिएको छ।
रणनीतिमा नेपालमा सरकारी र निजी गरेर देशभर २०७७ सम्म ५८ हजार १२४ स्वास्थ्य जनशक्ति कार्यरत रहेको उल्लेख छ।
हेरौं रणनीतिको पूर्णपाठ