देश प्राकृतिक विपत्तिमा रोइरहेको छ। हामीले प्रकृतिका नियमहरूलाई बेवास्ता गर्यौँ। हरेक समस्याको समाधान कृत्रिम बनावटबाटै प्राप्त हुन्छ भन्ने भौतिकवादी सोच अँगाल्यौँ। विज्ञानको चरम उपयोग गरेका विकसित देशहरूको सिको गर्दै भौतिक विकासको दौडमा अगाडि बढ्ने क्रममा आज हामीले यस्तो पीडा भोग्नुपरिरहेको छ।
यही परिवेशमा हामी नेपालीहरूको महान् चाड दशैँ नजिकिँदै छ। विजयादशमीमा रमाउँदै गर्दा पनि हामी सबै नेपालीको मनमा उल्लासको अनुभूति छैन। मन विचलित छ, चञ्चल छ र आक्रोशित पनि छ, किनकि प्रकृतिले हामीमाथि मानौँ गोला–बारुद बर्साएको छ। यसको उत्तर हामी सबै स्वतन्त्र देशका नागरिकले खोज्नुपर्छ। विकासका नाममा प्रकृतिको दोहन गर्ने र जलवायुको सन्तुलन बिगार्ने प्रवृत्तिबारे गम्भीरतापूर्वक सोच्नुपर्छ।
दशैँ, तिहारजस्ता चाडपर्व मनाउँदै गर्दा हाम्रो मनमा अनेक किसिमका उतारचढाव आउनु स्वाभाविक हो। आहार, विहार, विचार र व्यवहारमा परिवर्तन महसुस हुनु हाम्रा मौलिक पर्वहरूको विशेषता पनि हो र यी पर्वले दिने खुसीको प्रभाव पनि हो।
दशैँ, तिहारजस्ता रमाइला पर्वले विशेषगरी बालबालिकामा उमङ्ग र उत्साह थपिरहेका हुन्छन्। पाका उमेरका व्यक्तिदेखि सबै वर्गका मानिसका लागि यी पर्व रमाइलो भेटघाट, दुःख–सुखको आदानप्रदान, टीका लगाई आशीर्वाद ग्रहण गर्ने, उच्च मनोबलको कामना गर्ने र जमरा शिरमा धारण गर्दै सधैँ स्वस्थ रहने शुभेच्छा प्रकट गर्ने अवसर हुन्। यसरी दशैँ पर्व मनाउने हाम्रो आफ्नै मौलिक परम्परा स्थापित भएको छ।
तर, दशैँ, तिहारजस्ता पर्व मनाउँदा माछामासु अनिवार्य हुनैपर्ने, प्लास्टिकका बोतलमा प्याक गरिएका कोक, फेन्टा जस्ता चिसा पेय पदार्थ नभई नहुने, सकेसम्म रक्सी र बियर पनि चाहिने, पैसा नभए ऋणसापटी गरेर भए पनि बोका वा खसी ढाल्नैपर्ने, जङ्क फुड र तारेका परिकार अनिवार्य हुनैपर्ने भन्ने सोच किन बढ्दै छ? के यही हो त हाम्रा मौलिक चाडपर्वको विशेषता?
हामीमध्ये कतिपयले चाडपर्वका नाममा मद्यपानसँगै जुवातास खेल्नुलाई पनि रमाइलोको अभिन्न अङ्ग मान्ने गरेका छौँ। यस्ता सामान्य लाग्ने क्रियाकलापले हाम्रो आहार र विहारको सन्तुलन बिगार्न सक्छन्। आहारविहारमा आएको परिवर्तनले विचारमा प्रभाव पार्छ भने विचारमा आएको भिन्नताले व्यवहारमा समेत असर पुर्याउन सक्छ।
यसको परिणामस्वरूप शारीरिक रूपमा अस्वस्थ भएको अनुभव, मानसिक रूपमा मन बिग्रिएको अनुभूति, सामाजिक रूपमा एक्लोपनको सोचाइ र आध्यात्मिक चिन्तनमा कमी आएको आभास हामीभित्र पैदा हुन सक्छ। यस्ता दिनचर्याका कारण हाम्रो शरीरमा निष्क्रियता बढ्न सक्छ, जुन कुनै न कुनै रूपमा रोगको जोखिमसँग जोडिन सक्छ।
त्यसैले हाम्रा मौलिक पर्वहरूलाई संयमित र सरल तरिकाले मनाऔँ। पर्वले मनमा उत्साह, परिवारमा आत्मीयता, छरछिमेकमा भाइचारा र जीवनमा उच्च मनोबलको विकास गर्न सकोस्।
आहार
माछामासुको प्रयोग गर्दा हरिया सागपात, मुला, मेवा, गाजरजस्ता तरकारी तथा फलफूललाई पनि आहारमा समावेश गरौँ। शरीरलाई आवश्यक पर्ने पोषक तत्त्व प्राप्त हुने गरी खानपानमा सन्तुलन कायम गरौँ। पेय पदार्थको प्रयोग गर्दा दही, मही र लस्सीलाई पनि प्राथमिकता दिन नबिर्सौँ।
मद्यपान गर्दा परिवार र छरछिमेकसँगको सामाजिक सद्भावमा पर्न सक्ने असरबारे विचार–विमर्श गर्नु अत्यन्त महत्त्वपूर्ण विषय हो। चाडपर्वमा खेलिने जुवातासले शारीरिक निष्क्रियता, मानसिक तनाव र आर्थिक विचलन निम्त्याउन सक्छ। त्यसैले केही क्षणको रमाइलोले पार्न सक्ने दीर्घकालीन असरलाई गम्भीरतापूर्वक मनन गर्नुपर्छ।
बडादशैँको एक हप्ते बिदामा बिहानको आधा घण्टा समय व्यवस्थापन गरेर शिवभजन, कीर्तन, योग, प्राणायाम, ध्यान, हास्यासन, नृत्यासन तथा सङ्गीतमय मनोरञ्जनमा जोड दिऔँ। यस्ता गतिविधिले पारिवारिक माया र सद्भाव बढाउन तथा उच्च मनोबल कायम राख्न सहयोग पुर्याउन सक्छन्।
विचारमा सन्तुलन कायम राख्दै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन योगाभ्यास एउटा उपयोगी माध्यम हो। यसरी सरल र सहज तरिकाले हाम्रा महान् पर्व दशैँ र तिहार मनाऔँ।
चाडपर्वलाई तडकभडकका साथ मनाउँदा हाम्रो शरीरमा अस्वस्थता नबढोस्, मनमा नकारात्मक भावका तरङ्गहरू नबढून् र हाम्रो सामाजिक दायित्व कमजोर नहोस्। बरु सामाजिक सद्भाव बढ्दै जाओस्, आध्यात्मिक ऊर्जामा टेवा पुग्दै जाओस् र स्वस्थ, मस्त, व्यस्त तथा सक्रिय जीवनशैली स्थापित हुँदै जाओस्।
भर्खरै आएको प्राकृतिक विपत्तिले उत्पन्न गरेको पीडामा मलम लगाउन सक्ने उच्च मनोबल हामी सबैमा थपियोस्।
आउँदै गरेका सम्पूर्ण चाडपर्वको पावन अवसरमा सबैमा हार्दिक मङ्गलमय शुभकामना!
लेखक परिचय: लेखक लुम्बिनी आयुर्वेद चिकित्सालयमा कार्यरत आयुर्वेद स्वास्थ्य सहायक तथा योग अभियन्ता हुनुहुन्छ।