हामी स्वास्थ्य समस्याको चर्चा गर्दा प्रायः संक्रामक रोग, कुपोषण, उच्च रक्तचाप, मधुमेह वा क्यान्सरलाई सम्झन्छौँ। तर हाम्रो वरिपरि अर्को एउटा यस्तो विष पनि छ, जसले बालबालिकाको मस्तिष्क, गर्भस्थ शिशु, मिर्गौला, मुटु तथा रक्त निर्माण प्रणालीमा गम्भीर असर पुर्याइरहेको हुन सक्छ र धेरैपटक यसको कुनै स्पष्ट लक्षणसमेत देखिँदैन। त्यो विष हो- लेड।
लेड मानव सभ्यताका लागि नयाँ पदार्थ होइन। हजारौँ वर्षदेखि मानिसले यसको प्रयोग गर्दै आएको छ। नरम हुने, सजिलै आकार दिन सकिने र तुलनात्मक रूपमा कम तापक्रममै पग्लिने भएकाले लेड विभिन्न प्रयोजनमा उपयोगी मानियो। समयक्रममा यसको प्रयोग रंग, पाइप, ब्याट्री, धातु उद्योग, सौन्दर्य प्रसाधन, माटाका भाँडामा लगाइने लेप (ग्लेज), पेट्रोललगायत अनेकौँ क्षेत्रमा विस्तार भयो।
तर उपयोगी ठानिएको यही धातु मानव स्वास्थ्यका लागि अत्यन्त विषालु रहेछ भन्ने कुरा पनि मानिसले धेरै पहिलेदेखि अनुभव गर्दै आएका थिए। प्राचीन ग्रीक चिकित्सकीय परम्परामा लेडको विषाक्तताका लक्षणबारे चर्चा गरिएको पाइन्छ। रोमन साम्राज्यमा लेडको व्यापक प्रयोगसँगै यसको स्वास्थ्य प्रभाव पनि देखिएको थियो। विशेषगरी लेडयुक्त भाँडा, पाइप तथा रक्सी प्रशोधनमा प्रयोग हुने लेडका यौगिकले मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्थे।
लेड किन यति खतरनाक छ?
लेडको सबैभन्दा ठूलो समस्या हो- मानव शरीरलाई यसको कुनै जैविक आवश्यकता छैन। शरीरलाई लेड चाहिँदैन। तर शरीरभित्र प्रवेश गरेपछि यसले क्याल्सियम, आइरनलगायत आवश्यक खनिजको जैविक प्रक्रियामा हस्तक्षेप गर्छ र विभिन्न अंग तथा प्रणालीको सामान्य कार्यमा बाधा पुर्याउँछ।
लेडको विषाक्त प्रभावमध्ये सबैभन्दा चिन्ताजनक प्रभाव विकासको क्रममा रहेको मस्तिष्कमा पर्छ। विशेषगरी बालबालिकामा लामो समयसम्म कम मात्रामा भएको लेडको सम्पर्कले पनि बौद्धिक क्षमता, ध्यान, सिकाइ तथा व्यवहारमा प्रतिकूल असर पार्न सक्छ। धेरै मात्रामा लेडको सम्पर्क भएमा स्नायु प्रणालीमा गम्भीर क्षति, बेहोस हुने, चेतना गुम्ने अवस्था र मृत्युसमेत हुन सक्छ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार लेडले मिर्गौला, रक्त निर्माण प्रणाली, मुटु तथा रक्तनली र प्रजनन प्रणालीमा पनि प्रतिकूल असर पुर्याउन सक्छ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने रगतमा लेडको यस्तो निश्चित मात्रा छैन, जसलाई पूर्ण रूपमा सुरक्षित भन्न सकियोस्। पाँच माइक्रोग्राम प्रतिडेसिलिटर (µg/dL) वा त्यसभन्दा माथि पुगेमा लेडको स्रोत पहिचान गरी सम्पर्क रोक्न आवश्यक हुन्छ। तर पाँच µg/dL लाई ‘सुरक्षित सीमा’ भनेर बुझ्नु हुँदैन। उपलब्ध प्रमाणले यसभन्दा कम स्तरमा समेत बालबालिकाको बौद्धिक क्षमता, व्यवहार र सिकाइमा असर पर्न सक्ने देखाएका छन्।
त्यसैले पाँच माइक्रोग्राम प्रतिडेसिलिटरलाई ‘सुरक्षित सीमा’ भन्नु वैज्ञानिक रूपमा गलत हुन्छ। यो मुख्यतः थप अनुसन्धान, स्रोत पहिचान र लेडको सम्पर्क रोक्न आवश्यक हस्तक्षेप सुरु गर्नुपर्ने स्तर पहिचान गर्ने आधारका रूपमा बुझ्नुपर्छ।
शरीरमा लेड कसरी पुग्छ?
नेपालमा लेडको सम्पर्कको स्रोत एउटै छैन। दूषित धुलो, माटो, खाना र पानीमार्फत लेड शरीरमा प्रवेश गर्न सक्छ। पुरानो वा लेडयुक्त रंग, विशेषगरी रंगको धुलो र खस्रो भएर झरेका कण, बालबालिकाका लागि महत्वपूर्ण स्रोत हुन सक्छन्।
नेपालमा भएका अध्ययन तथा विश्व स्वास्थ्य संगठनको नेपालसम्बन्धी समीक्षाले लेडयुक्त रंग, पुराना तथा असुरक्षित ब्याट्री पुनःप्रशोधन, सौन्दर्य प्रसाधन, माटाका भाँडामा प्रयोग हुने लेडयुक्त लेप, आयुर्वेदिक तथा परम्परागत औषधि र दूषित मसलालाई सम्भावित स्रोतका रूपमा देखाएका छन्। विद्युतीय फोहोर, प्लास्टिक, धातु तथा रंगजन्य उद्योगमा काम गर्ने व्यक्तिहरूमा व्यावसायिक जोखिम अझ बढी हुन सक्छ।
खानाबाट लेड शरीरमा प्रवेश गर्नु विशेष चिन्ताको विषय हो। विभिन्न देशमा बेसारलगायत मसलामा रंगका रूपमा लेडयुक्त पदार्थ मिसाइएको पाइएको छ। त्यस्तै, केही परम्परागत औषधि तथा सौन्दर्य प्रसाधनमा पनि लेडको मात्रा भेटिएको अन्तर्राष्ट्रिय अध्ययनले देखाएका छन्।
छालाबाट लेड शरीरमा प्रवेश गर्न सक्ने भए पनि अकार्बनिक लेडको छालाबाट सोसिने मात्रा सामान्यतया खाने वा सास फेर्ने माध्यमबाट शरीरमा प्रवेश गर्ने मात्राभन्दा निकै कम हुन्छ। त्यसैले लेड विषाक्तताको प्रमुख माध्यमका रूपमा छालाबाट हुने अवशोषणलाई प्रस्तुत गर्नु वैज्ञानिक रूपमा उचित हुँदैन। लेडको सम्पर्कका प्रमुख माध्यममा दूषित धुलो वा कण सास फेर्नु तथा दूषित खाना, पानी वा वस्तु मुखबाट शरीरमा पुग्नु पर्छन्।
बालबालिका किन बढी जोखिममा छन्?
बालबालिकाको शरीर र मस्तिष्क निरन्तर विकासको क्रममा हुन्छ। उनीहरू खेल्दा भुइँ वा धुलो छुन्छन् र त्यसपछि हात मुखमा लैजान सक्छन्। यही कारण दूषित धुलो वा माटोबाट लेड शरीरमा प्रवेश गर्ने सम्भावना उनीहरूमा बढी हुन्छ।
तर जोखिम केवल व्यवहारसँग सम्बन्धित छैन। विकासशील मस्तिष्क लेडको स्नायुविषाक्त प्रभावप्रति विशेष संवेदनशील हुन्छ। त्यसैले बाहिरबाट बच्चा सामान्य देखिए पनि उसको सिकाइ, ध्यान, स्मरणशक्ति वा व्यवहारमा दीर्घकालीन असर परेको हुन सक्छ।
विश्व स्वास्थ्य संगठनले बाल्यकालमा हुने लेडको सम्पर्कलाई बौद्धिक क्षमतामा कमी, ध्यान केन्द्रित गर्न कठिनाइ, सिकाइमा समस्या तथा व्यवहारगत समस्यासँग जोडेको छ।
शरीरमा पुगेपछि लेड कहाँ जान्छ?
रगतमा प्रवेश गरेपछि लेड शरीरका विभिन्न अंगमा वितरण हुन्छ। यसको ठूलो हिस्सा हड्डी र दाँतमा जम्मा भएर लामो समयसम्म रहन सक्छ। वयस्कको शरीरमा रहेको लेडको ठूलो भाग हड्डीमा भण्डारण भएको हुन्छ।
हड्डीमा जम्मा भएको लेड वर्षौँसम्म शरीरमा रहन सक्छ। गर्भावस्था जस्ता अवस्थामा हड्डीबाट लेड फेरि रगतमा निस्कन सक्छ र गर्भस्थ शिशुसम्म पुग्न सक्छ। यसकारण लेडको सम्पर्कको असर तत्काल मात्र होइन, वर्षौँपछि पनि देखिन सक्छ।
यसले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाउँछ- लेड केवल आजको विष होइन; यो शरीरमा लामो समयसम्म रहने विषाक्त विरासत पनि हो।
नेपालमा समस्या कति ठूलो छ?
नेपालमा उपलब्ध अध्ययनहरूले लेडको जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने संकेत गरेका छन्। विश्व स्वास्थ्य संगठनले सन् २०२१ मा प्रकाशित गरेको नेपालसम्बन्धी समीक्षाअनुसार काठमाडौं, वीरगञ्ज तथा धरान–धनकुटालगायतका औद्योगिक क्षेत्रमा गरिएका विभिन्न अध्ययनमा बालबालिकाको रगतमा लेडको मात्रा उच्च देखिएको थियो।
युनिसेफ र प्योर अर्थले सन् २०२० मा प्रकाशित गरेको विश्वव्यापी विश्लेषणले नेपालमा पाँच वर्षमुनिका बालबालिकाको ठूलो हिस्सामा रगतमा लेडको मात्रा पाँच माइक्रोग्राम प्रतिडेसिलिटरभन्दा माथि हुन सक्ने अनुमान गरेको थियो।
तर यहाँ एउटा महत्वपूर्ण कुरा छुटाउनु हुँदैन- पाँच माइक्रोग्राम प्रतिडेसिलिटरलाई सुरक्षित सीमा मान्न मिल्दैन। यो स्तरभन्दा कममा समेत लेडले बालबालिकाको स्वास्थ्यमा असर पार्न सक्ने प्रमाणहरू छन्। त्यसैले नेपालमा वास्तविक जोखिम कति ठूलो छ भन्ने यकिन गर्न नियमित, प्रतिनिधिमूलक र देशव्यापी अध्ययन तथा निगरानी प्रणाली आवश्यक छ।
नेपालमा लेडको जोखिमबारे केही अध्ययन भएपनि समस्या कुन-कुन स्रोतबाट बढी भइरहेको छ, कुन उमेर समूह र भौगोलिक क्षेत्रमा जोखिम बढी छ तथा जोखिम घटाउने हस्तक्षेप कति प्रभावकारी छन् भन्ने विषयमा अझ पर्याप्त तथ्यांक आवश्यक छ। त्यसैले अब लेडको जोखिमबारे छिटफुट अध्ययन मात्र होइन, निरन्तर राष्ट्रिय निगरानी आवश्यक छ।
सम्यक डायग्नोस्टिकको खोज : नेपालभित्रै देखिएको गम्भीर संकेत
सम्यक डायग्नोस्टिक प्रालिले सन् २०१५ देखि रक्तमा लेडको स्तर परीक्षण गर्दै आएको छ र यस क्षेत्रमा निरन्तर काम गरिरहेको छ।
सम्यकद्वारा गरिएका विभिन्न अध्ययनले नेपालमा लेडको सम्पर्क केवल सैद्धान्तिक जोखिम नभई वास्तविक स्वास्थ्य समस्या हुन सक्ने देखाएका छन्।
सन् २०१७ मा वीरगञ्जमा गरिएको अध्ययनमा सहभागी ५० बालबालिकामध्ये सबैको रगतमा लेडको औसत मात्रा २० माइक्रोग्राम प्रतिडेसिलिटरभन्दा बढी देखिएको तथा ८४ प्रतिशतमा १० माइक्रोग्राम प्रतिडेसिलिटरभन्दा बढी रहेको सम्यकको तथ्यांकले देखाउँछ। यस्तो निष्कर्षले औद्योगिक तथा वातावरणीय लेडको सम्पर्कको सम्भावित जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराउँछ।
सन् २०२० रङ लगाउनेहरुमा गरिएको अध्ययनमा औसत रक्त लेड स्तर ११.६८ माइक्रोग्राम प्रतिडेसिलिटर रहेको जनाइएको छ।
सन् २०२१ को प्रजनन स्वास्थ्यसम्बन्धी अध्ययनमा पनि महिला तथा पुरुषमा उल्लेखनीय रक्त लेड स्तर देखिएको सम्यकको अध्ययनले जनाएको छ।
त्यसैगरी, सन् २०२६ मा सौन्दर्यकर्मीहरूमा गरिएको अध्ययनमा २० प्रतिशतमा रक्त लेड स्तर २० माइक्रोग्राम प्रतिडेसिलिटरभन्दा बढी रहेको पाइएको छ। अर्को बालबालिकासम्बन्धी अध्ययनमा ६९.२ प्रतिशतमा ३.५ माइक्रोग्राम प्रतिडेसिलिटरभन्दा बढी रक्त लेड स्तर देखिएको सम्यकले जनाएको छ।
यी अध्ययनहरू फरक–फरक समय, समूह र सन्दर्भमा गरिएका भए पनि तिनले नेपालमा लेडको सम्पर्कबारे थप व्यवस्थित अध्ययन र निगरानी आवश्यक रहेको संकेत गर्छन्। विशेषगरी बालबालिका, औद्योगिक क्षेत्र तथा जोखिमयुक्त पेसामा संलग्न व्यक्तिमा लेडको स्रोत पहिचान र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ।
नेपालको मुख्य चुनौती : एक्सपोजर रोक्ने कि लक्षण उपचार गर्ने?
लेड विषाक्तताको सबैभन्दा ठूलो समस्या यसको ‘सुषुप्त’ प्रकृति हो। सामान्य वा मध्यम स्तरको लेडको सम्पर्कमा बच्चालाई तुरुन्तै बान्ता, दौरा वा बेहोस हुनेजस्ता लक्षण नदेखिन सक्छन्। बरु उसले अपेक्षाअनुसार पढाइमा प्रगति नगर्न सक्छ, ध्यान केन्द्रित गर्न कठिनाइ हुन सक्छ वा व्यवहारमा परिवर्तन देखिन सक्छ।
वयस्कमा पेट दुख्ने, कब्जियत, कमजोरी, रक्तअल्पता, उच्च रक्तचाप वा मिर्गौलासम्बन्धी समस्या देखिन सक्छ। गम्भीर विषाक्ततामा स्नायु प्रणालीमा गम्भीर क्षति पुग्न सक्छ।
त्यसैले असामान्य वा लामो समयदेखि भइरहेको पेट दुखाइ, व्यावसायिक रूपमा लेडको सम्पर्कमा रहने अवस्था, लेडयुक्त रंग, ब्याट्री वा धातु उद्योगसँगको सम्पर्क, दूषित पदार्थको सम्भावित सेवन वा बालबालिकामा उच्च जोखिमको इतिहास भए चिकित्सकले रगतमा लेडको मात्रा (BLL) परीक्षण आवश्यक छ कि छैन भनेर विचार गर्नुपर्छ।
उपचारभन्दा रोकथाम प्रभावकारी
लेड शरीरमा प्रवेश गरिसकेपछि त्यसलाई निकालेर शरीरलाई तुरुन्तै पुरानै अवस्थामा फर्काउने कुनै सरल उपचार छैन। त्यसैले सबैभन्दा प्रभावकारी उपाय भनेको लेडको स्रोत पहिचान गरेर त्यसको सम्पर्क नै रोक्नु हो।
उच्च स्तरको विषाक्ततामा चिकित्सकीय निगरानीमा चेलासन थेरापी (लेडलाई शरीरमा बाँधेर बाहिर निकाल्न सहयोग गर्ने उपचार) आवश्यक पर्न सक्छ। तर यसका लागि पेनिसिलामिन मात्र प्रयोग हुन्छ भन्ने बुझाइ अपूर्ण हो। बिरामीको अवस्था र रक्त लेडको स्तरअनुसार सक्सिमर, पेनिसिलामिन, सोडियम क्याल्सियम एडेटेट तथा डाइमर्काप्रोलजस्ता औषधि प्रयोग गर्न सकिन्छ। औषधिको छनोट बिरामीको उमेर, विषाक्तताको गम्भीरता, गर्भावस्था तथा अन्य चिकित्सकीय अवस्थामा निर्भर हुन्छ।
नेपालमा चुनौती औषधि उपलब्धताको मात्रै होइन। रगतमा लेडको परीक्षण, आवश्यक परे पुन: परीक्षण, विशेषज्ञ सेवामा पठाउने व्यवस्था र उपचारपछि नियमित अनुगमनसमेत व्यवस्थित हुन आवश्यक छ।
समाधान कहाँबाट सुरु गर्ने?
पहिलो, जोखिममा रहेका बालबालिका, गर्भवती महिला तथा उच्च जोखिमका पेसामा संलग्न व्यक्तिको पहिचान गरी आवश्यकताअनुसार रक्त लेड परीक्षण विस्तार गर्नुपर्छ।
दोस्रो, रंगमा लेडको नियमन कागजमा मात्र सीमित हुनु हुँदैन। बजारमा बिक्री हुने रंगको नियमित परीक्षण, मापदण्ड उल्लंघन गर्नेलाई कारबाही र उपभोक्तालाई सही सूचना उपलब्ध गराउनुपर्छ।
तेस्रो, ब्याट्री पुनःप्रशोधन, धातु गलाउने उद्योग, विद्युतीय फोहोर, माटाका भाँडा, सौन्दर्य प्रसाधन तथा परम्परागत औषधिमा प्रभावकारी बजार अनुगमन आवश्यक छ।
चौथो, मसला तथा अन्य खाद्य पदार्थमा लेडको नियमित प्रयोगशाला परीक्षण हुनुपर्छ।
पाँचौँ, स्वास्थ्यकर्मीलाई लेड विषाक्तता पहिचान र व्यवस्थापनसम्बन्धी तालिम दिनुपर्छ। ‘पेट दुख्यो- औषधि खाऊ’ भन्ने सामान्य चिकित्सकीय दृष्टिकोणले कहिलेकाहीँ वास्तविक कारणलाई वर्षौँसम्म ओझेलमा पार्न सक्छ।
नेपालले लेडयुक्त पेट्रोलबाट बाहिर निस्केर एउटा महत्वपूर्ण सफलता हासिल गरिसकेको छ। अब चुनौती पेट्रोलभन्दा बाहिर छ, रंग, ब्याट्री, औद्योगिक फोहोर, सौन्दर्य प्रसाधन, परम्परागत औषधि, मसला तथा अन्य सम्भावित स्रोतमा।
मौनता भंग गर्ने समय
लेडको जोखिम घटाउने प्रभावकारी रणनीति केवल अस्पतालमा उपचार खोज्नु होइन, लेड मानिसको शरीरसम्म पुग्नै नदिने प्रणाली निर्माण गर्नु हो।
लेडको विषाक्तता कुनै एक अस्पताल, चिकित्सक वा संस्थाले मात्र समाधान गर्न सक्ने समस्या होइन। यो स्वास्थ्यसँगै वातावरण, उद्योग, खाद्य सुरक्षा, उपभोक्ता संरक्षण र शिक्षासँग जोडिएको सार्वजनिक स्वास्थ्य संकट हो। त्यसैले यसको समाधान पनि बहुआयामिक र समन्वित हुनुपर्छ।
सबैभन्दा चिन्ताको विषय के हो भने लेडले गरिसकेको क्षतिलाई उपचारपछि पूर्ण रूपमा उल्ट्याउन सधैँ सम्भव हुँदैन। विशेषगरी बालबालिकाको मस्तिष्क विकासमा परेको असर दीर्घकालीन हुन सक्छ। त्यसैले लेडको विषाक्ततामा उपचारभन्दा रोकथामको मूल्य धेरै ठूलो हुन्छ।
नेपालमा अब प्रश्न ‘लेडको विषाक्तता छ कि छैन?’ भन्ने मात्र होइन। उपलब्ध अध्ययनहरूले विभिन्न क्षेत्रमा लेडको जोखिम देखाइसकेका छन्। वास्तविक प्रश्न हो- लेड कहाँबाट आइरहेको छ, कसरी मानिससम्म पुगिरहेको छ र त्यसलाई नियन्त्रण गर्न हामी कति छिटो काम गर्छौँ?
यसका लागि सरकारले स्पष्ट राष्ट्रिय नीति र कार्ययोजना बनाउन आवश्यक छ। लेडको सम्भावित स्रोत पहिचान, नियमित अनुगमन, खाद्य तथा उपभोग्य वस्तुको परीक्षण, जोखिमयुक्त उद्योगको नियमन र मापदण्डको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राख्नुपर्छ। स्वास्थ्य प्रणालीमा जोखिममा रहेका बालबालिका तथा अन्य समूहको परीक्षण, पहिचान र उपचारका लागि आवश्यक क्षमता पनि विस्तार गर्नुपर्छ।
त्यत्तिकै महत्वपूर्ण विषय जनचेतना हो। लेड कहाँ पाइन्छ, यसको सम्पर्कबाट कसरी जोगिने र सम्भावित जोखिम देखिएमा कहाँ परीक्षण गर्ने भन्ने जानकारी आम नागरिकसम्म सहज भाषामा पुग्नुपर्छ। विद्यालयलाई यस अभियानको महत्वपूर्ण माध्यम बनाउन सकिन्छ। पाठ्यक्रम, स्वास्थ्य शिक्षा, शिक्षक अभिमुखीकरण तथा विद्यालयस्तरीय सचेतना कार्यक्रममार्फत बालबालिका र अभिभावकलाई लेडको जोखिमबारे जानकारी दिन सकिन्छ।
उद्योग र व्यवसायको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ। उत्पादन प्रक्रियामा लेडको प्रयोग वा उत्सर्जन हुने क्षेत्रले स्वास्थ्य तथा वातावरणीय मापदण्ड पालना गर्नुपर्छ। उपभोक्तालाई जोखिममा पार्ने वस्तुको उत्पादन र बिक्री रोक्न नियामक निकायले नियमित अनुगमन र कारबाही गर्नुपर्छ।
लेडमुक्त नेपाल कुनै आदर्शवादी नारा मात्र होइन। यो हाम्रा बालबालिकाको बौद्धिक विकास, भावी मानव पुँजी, परिवारको स्वास्थ्य र देशको आर्थिक उत्पादकत्वसँग जोडिएको लगानी हो।
आज एउटा बच्चालाई लेडको जोखिमबाट जोगाउनु भनेको भोलि एउटा स्वस्थ मस्तिष्क, सक्षम नागरिक र स्वस्थ पुस्ता जोगाउनु हो।
त्यसैले लेडको विषाक्ततालाई अब सुषुप्त संकटका रूपमा छोडिरहनु हुँदैन। सरकारले नीति र नियमनलाई प्रभावकारी बनाउनुपर्छ, उद्योगले जिम्मेवारी लिनुपर्छ, स्वास्थ्य प्रणालीले परीक्षण र उपचारको क्षमता बढाउनुपर्छ, विद्यालयले जनचेतनाको अभियान अघि बढाउनुपर्छ र नागरिक समाज तथा सञ्चारमाध्यमले निरन्तर खबरदारी गर्नुपर्छ।
(विश्व स्वास्थ्यसंगठनको लेड सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा डा गौतमले प्रस्तुत गरेका विचारलाई बनाएर स्वास्थ्य खबरले गरेको कुराकानीमा आधारित सामाग्री)